नेतृत्व छनौटका लागि १५ सदस्यीय अध्यक्ष मण्डल गठन

हेटौंडा- एनेकपा (माओवादी)ले महाधिवेशनमार्फत् नेतृत्व छनौटका लागि १५ सदस्यीय अध्यक्ष मण्डल गठन गरेको छ। महाधिवेशनस्थल हेटौंडा औद्योगिक क्षेत्रमा रहेको सूचना केन्द्रमा पत्रकार सम्मलेन गर्दै पार्टी प्रवक्ता अग्नि सापकोटाले तीन हजार प्रतिनिधि पर्यवेक्षक छनौट गरेको जानकारी दिए। आइतबार अपराह्न २ बजेदेखि सुरु हुने बन्दसत्रलाई दुई चरणमा विभाजन गरिएको छ। पहिलो चरण बिहान ७ देखि १२ बजेसम्म र दोस्रो चरण दिनको २ देखि बेलुकी ७ बजेसम्म चल्ने जानकारी प्रवक्ता सापकोटाले दिए। 

महाधिवेशनमा प्रस्तुत गरिने विधान, प्रतिवेदन, दस्तावेजमा छलफल गर्नका लागि ५०/५० जनाको समूह बनाइएको प्रवक्ता सापकोटाले बताए। माघ २२ गते समूहमा छलफल चलाइने र छलफलमार्फत् निस्किएका निष्कर्षलाई २३ गते समूहका प्रतिनिधिहरुले प्रस्तुत गर्ने कार्यक्रम तय भएको छ।
त्यसैगरी, माघ २४ गतेको बन्दसत्र विधान, दस्तावेजमाथि छलफल गरी त्यसलाई अन्तिम रुप दिनमा केन्द्रित रहने प्रवक्ता सापकोटाले बताए। एक प्रश्नको जवाफमा उहाँले महाधिवेशनको बन्दसत्रमा उपाध्यक्ष नारायणकाजी श्रेष्ठको भिन्न मत रहेको भन्ने कुरा हल्ला मात्र रहेको र आधारभूतरुपमा दस्तावेजमा पार्टीभित्र कुनै विरोध नभएको भन्दै एउटै दस्तावेजमाथि छलफल हुने समेत प्रस्ट पारे।
त्यसैगरी, प्रवक्ता सापकोटाले पार्टीले अब सीमा समस्या समाधानमा समेत जनपरिचालनको सोच राखेको बताउनुभयो। उहाँले युद्धकालमा जनतासँग ऋण होइन सहयोग लिइएको र पार्टी रहेसम्म जनताको चित्त जनताको सहयोग लिइने पनि बताए। साथै प्रवक्ता सापकोटाले युद्धकालमा जनताले पार्टीलाई सहयोग गर्ने लहर नै चलेको भन्दै अब पार्टीले पनि जनताको निम्ति ‘कार्यनीतिको अर्को आयाम उत्पादनको निम्ति सङ्घर्ष’ भन्ने मूल नाराका साथ राजनीतिकस्तरबाट माथि उठेर आर्थिक क्रान्तिको नयाँ कार्यदिशा तय गर्ने समेत बताए।
त्यसैगरी, महाधिवेशन अवधिभर प्रत्येक दिन बिहान ११ र बेलुका ५ बजे पत्रकारसम्मेलनमार्फत महाधिवेशनको गतिविधि सार्वजनिक गरिने समेत जानकारी दिइएको छ।
नेपालको कम्युनिस्ट आन्दोलन अनुकरणीय : विदेशी प्रतिनिधि
एकीकृत नेकपा (माओवादी)को सातौं राष्ट्रिय महाधिवेशनमा सहभागी हुन आएका विदेशी भाइचारा पार्टीका प्रतिनिधिले नेपालको कम्युनिस्ट आन्दोलन मौलिक ढङ्गले अगाडि बढेको प्रतिक्रिया दिएका छन्।
रिपोर्टर्स क्लबले आयोजना गरेको पत्रकार भेटघाटमा उनीहरुले कम्युनिस्ट आन्दोलन परम्परागतरुपले अगाडि बढ्न नसक्ने भन्दै एमाओवादीले सुरु गरेको मौलिक बाटो महत्वपूर्ण र उल्लेखनीय रहेको बताएका हुन्। उनीहरुले एमाओवादीले मौलिक बाटोबाट कम्युनिस्ट क्रन्तिलाई अगाडि बढाएको र सोबाट नै नेपालको सन्दर्भमा जायज भएको बताए।
रसियन कम्युनिस्ट पार्टीका पोलिटब्यूरो सदस्य सिन्द्रो यारोस सोल्पाले विश्वका महान् कम्युनिस्ट नेताहरुजस्तै एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मौलिक ढङ्गले क्रान्तिलाई अगाडि बढाएको भन्दै खुसी व्यक्त गरे।
उनले भने– “नेपालको कम्युनिस्ट आन्दोलन नितान्त मौलिक ढङ्गले अगाडि बढेको छ। यसलाई सफल पार्नु विश्वभरिको क्रान्तिहरुको दायित्व हो।” उनले राजनीतिक क्रान्तिसँगसँगै आर्थिक क्रान्तिलाई अगाडि बढाउने ढङ्गले राजनीतिक अभियानलाई अगाडि बढाए माओवादी सफल हुने विश्वास व्यक्त गरे।
यस्तै, रेड पार्टी नर्वेका नेता अर्नेस्टोले नेपालको राजनीतिक परिर्वतनसँगै आर्थिक परिर्वतनको एजेन्डालाई अगाडि बढाएको भन्दै एमाओवादीको उच्च प्रशंसा गर्नुभयो। उनले राजनीतिक परिर्वतनसँगै आर्थिक परिर्वतनको एजेन्डालाई अगाडि बढाउन सके नेपालको तीव्रतर रुपमा आर्थिक विकास पनि हुने र नेपालको समृद्धि पनि हुने भएकाले सो कार्यदिशा अपनाउँछौँ भन्ने एमाओवादीको कार्य दिशा वर्तमान सन्दर्भमा जायज र समयसापेक्ष भएको बताए।
त्यस्तै, भारतीय कम्युनिस्ट पार्टीका नेता शतिश भट्टचार्यले नेपालको कम्युनिस्ट आन्दोलन अनुकरणका लागि लायक भएको बताउँदै आवश्यक सहयोगका लागि आफूहरु तयार रहेको बताए।
सो अवसरमा युरोपेली मुलुकका प्रतिनिधिहरुले नेपालको शिक्षा, स्वास्थ्य, जलविद्युत्लगायतका क्षेत्रमा सहयोग गर्न विशेष पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। उनीहरुले अध्यक्ष प्रचण्डले महाधिवेशनका लागि प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन समय सान्दर्भिक र यथार्थमा आधारित भएको बताएका थिए। रासस

Leave a Reply

Your email address will not be published.