चितवनका ३२ विद्यालय कारबाहीमा

चितवन- अनुमति प्राप्त गरेभन्दा बढी कक्षा सञ्चालन गरेका, अनुमति लिए पनि सञ्चालनमा नआएका र अनुमतिनै नलिई सञ्चालनमा आएका चितवनका ३२ वटा विद्यालयमाथि जिल्ला शिक्षा कार्यालयले कारबाही सुरु गरेको छ। कारबाही हुनेहरुमा यहाँका सुगमदेखि दुर्गमसम्मका निजी विद्यालय रहेका छन्। केही विद्यालयलाई जरिवाना र केहीलाई खारेजी गर्ने गरी कारबाही थालिएको शिक्षा कार्यालयले जनाएको छ। सो अनुसार १७ विद्यालयलाई जरिवाना र १५ विद्यालय खारेज गर्ने कार्य सुरु भएको हो।
पटकपटकको आग्रह र पत्राचारलाई अटेर गरेपछि कारबाही गर्नुपरेको चितवनका जिल्ला शिक्षा अधिकारी रमाकान्त शर्माले जानकारी दिए। उनका अनुसार २०७० सालमा अनुमति बेगरका कक्षा सञ्चालनलाई निरन्तरता दिए अनुमति खारेजीको प्रक्रिया अगाडि बढाइने छ।
अहिले पहिलोपटक १७ विद्यालयलाई कारबाहीस्वरुप जरिवाना मात्रै गरिएको उहाँले बताउनुभयो। कम्तिमा रु ५ हजारदेखि बढीमा रु ३० हजारसम्म विद्यालयले जरिवाना तिर्न जिल्ला शिक्षा समितिले निर्देशन गरेको छ। हाल शिक्षा ऐनको दफा १७ को उपदफा २ अनुसार कारबाही गरिएको हो।

कारबाहीमा परेका विद्यालयमा १ देखि ५ कक्षासम्मको अनुमति लिएका विद्यालयले १ देखि ८ सम्म कक्षा सञ्चालन गर्दै आएका तथा ६ देखि ८ सम्म कक्षा सञ्चालन गर्दै आएका विद्यालयले १ देखि १० सम्मकै कक्षा सञ्चालन गरेका छन्।
चितवनको चैनपुर, दाहखानी, पिप्लेलगायत क्षेत्रका सातवटा विद्यालयले भने कुनै पनि कक्षाको अनुमति नलिई सञ्चालन भएको पाइएकाले ती विद्यालयलाई खारेज गरी सम्बन्धित अधिकारीलाई कारबाही गर्न चितवन प्रशासनलाई आग्रह गर्ने निर्णय पनि शिक्षा समितिले गरेको छ।
यस्तै अनुमति लिएर पनि पठनपाठन नगराएका चितवनका ८ वटा विद्यालयलाई खारेज गर्ने निर्णय पनि भएको शिक्षा अधिकारी शर्माले जानकारी दिए। रासस

Leave a Reply

Your email address will not be published.