सहमतिमा आउन विपक्षीलाई सत्ता गठबन्धनको आग्रह

काठमाडौं- सरकार समर्थक २१ दलको ‘सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धन’ले सहमति आएर निर्वाचनमा जान विपक्षीलाई आग्रह गरेको छ। सहिदमञ्चमा बृहत् जनजागरणसभा गरी गठबन्धनले यही सरकारमा सहभागी भएर चुनावमा जान पनि विपक्षीलाई अनुरोध गरेको छ। सभालाई सम्बोधन गर्दै गठबन्धनका अध्यक्ष एवम् एकीकृत नेकपा(माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले सहमतिमा आउन ढिला गरे जनताले काङ्ग्रेस र एमालेलाई कुँडाकर्कटमा मिल्काउने चेतावनी दिए। उनले भने–“ढिला नगरी सहमतिमा आएर चुनावमा जाऔँ, घमण्ड र अभिमान गर्नुभयो भने तपाईंहरूलाई ठूलो क्षति पुग्नेवाला छ, ढिलो गर्नुभयो भने गठबन्धन तपाईंहरूलाई पर्खेर बस्नेवाला छैन, अन्तिम लडाइँ अर्को तरिकाले लडेर प्रतिगामी र यथास्थितिवादी शक्तिलाई कुँडाकर्कटमा मिल्काउने छौँ। ”

उनले बाह्रबुँदे समझदारीको सहयात्री भए पनि गिरिजाप्रसाद कोइरालाको निधनपछि काँग्रेसमा बाह्रबुँदे विरोधी र राज्य पुनःसंरचनाविरोधी नेतृत्व हाबी भएको जिकिर गरे।

अध्यक्ष दाहालले गठबन्धनको आवश्यकता दीर्घकालीन रहेको बताउँदै भविष्यसम्म पनि गठबन्धनलाई निरन्तरता दिनुपर्ने बताए। उनले भने–“यो गठबन्धन केवल सरकार टिकाउन र अहिलेको समस्या समाधानका लागि मात्रै गठन गरिएको होइन, यो दसदेखि बीस वर्षसम्ममा देशलाई समृद्ध बनाउन र जनतालाई एकताबद्ध बनाउने उद्देश्यसहित निर्माण गरिएको गठबन्धन हो। ”

प्रधानमन्त्री एवम् एमाओवादी उपाध्यक्ष डा बाबुराम भट्टराईले संविधान सभा विघटनमा मुख्य भूमिका खेल्ने कांग्रेस र एमालेको नेतृत्वमा भएको आन्दोलन हास्यास्पद भएको बताउनुभयो। उहाँले पहिचानसहितको सङ्घीयता र सङ्घीयतासहितको संविधानलाई टुङ्गोमा पुर्‍याएर मात्रै आफूहरूको गठबन्धनले विश्राम लिने उद्‍घोष गरे।

आगामी जेठ १४ गतेभित्र संविधान सभाको चुनाव गर्न सरकार प्रतिबद्ध रहेको बताउँदै उनले विपक्षी दललाई चुनावमा सहभागी गराएरै छाड्ने अठोट व्यक्त गरे। उपप्रधानमन्त्री एवम् मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारले सडकबाट सरकार ढाल्ने दिवास्पप्न नदेखी यही सरकारमा सहभागी भएर चुनावमा जान विपक्षी दललाई आग्रह गरे।

बहुदल स्थापनापछिको २२ वर्षमा १० वटा सरकारको नेतृत्व गरेको कांग्रेसका कारण देश बिग्रिएको तथा एमालेले अरूण तेस्रो जलविद्युत् आयोजना बनाउन नदिएकाले अहिले देशले लोडसेडिङ भोग्नुपरेको उनको भनाइ थियो। सूचना तथा सञ्चारमन्त्री एवम् फोरम (गणतान्त्रिक)का अध्यक्ष राजकिशोर यादवले परिवर्तनको पक्षमा नउभिए प्रजा परिषद्को अस्तित्व प्रायःसमाप्त भएजस्तै प्रतिपक्षी दलको अस्तित्व समाप्त हुन्छ भने। 

तमलोपाका अध्यक्ष महन्थ ठाकुरले मधेस आन्दोलनले सङ्घीयतलाई स्थापित गरे पनि यथास्थितिवादीले त्यसलाई स्वीकार गर्न नसकेको टिप्पणी गरे। सद्‍भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले सङ्घीयताप्रति विपक्षीले बेइमानी गरिएको देखिएकाले आफूहरूले खबरदारीका लागि जनजागरणसभा गरेको बताए। 

सभालाई तमलोपा नेपालका अध्यक्ष महेन्द्रप्रसाद यादव, नेपाः राष्ट्रिय पार्टीका अध्यक्ष केशवमान शाक्य ,जनमुक्ति पार्टीका अध्यक्ष मालवरसिंह थापा, दलित जनजाति पार्टीका अध्यक्ष विश्वेन्द्र पासवान, गठबन्धनका प्रवक्ता प्रेमबहादुर सिंह, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका रुक्मिणी चौधरी, पूर्वसभासद् सदरुल मियाँ हकलगायतले पनि सम्बोधन गरेका थिए। रासस

Leave a Reply

Your email address will not be published.