कांग्रेस निर्वाचन गर्न तम्तयार छ : पौडेल

बागलुङ- नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले संविधानसभाको नयाँ निर्वाचन गर्न काँग्रेस तयार रहेको बताएका छन्। एमाओवादीले निर्वाचनको सुनिश्चितता भए सत्ता त्याग गर्ने बताइरहेका बेला पौडेलको यस्तो भनाइ बाहिर आएको हो। प्रेस युनियन बागलुङले आज बिहान आयोजना गरेको पत्रकार भेटघाटमा श्री पौडेलले जेठभित्रै संविधानसभा निर्वाचन गर्ने सुनिश्चिततासहित सरकारको नेतृत्व गर्न आफूहरु तयार रहेको बताए।
संविधान सभा निर्वाचन नै कांग्रेसको पहिलो प्राथमिकता रहेको उनको भनाइ थियो। ‘सत्ताभन्दा निर्वाचन नै अहिलेको प्राथमिकता हो,’ पौडेलले भने– ‘त्यसका लागि काँग्रेसको नेतृत्व आवश्यक छ।’ दलहरुबीच तत्काल सहमति गरेर धाँधलीरहित र स्वच्छ निर्वाचन सम्पन्न गर्ने जिम्मा काँगे्रसले लिने पौडेलले बताए।

कांग्रेसको नेतृत्वमा मात्र स्वच्छ र धाँधलीरहित निर्वाचन हुन सक्ने भन्दै उपसभापति पौडेलले इतिहासले नै कांग्रेसको नेतृत्वमा हुने निर्वाचनलाई पुष्टि गरेको तर्क गरे। पौडेलले निर्वाचनका लागि कांग्रेसलाई सरकारको नेतृत्व दिने विषयमा कुनै आशङ्का नगर्न एमाओवादीलाई आग्रह पनि गरे। ‘हामी संविधान सभाको नयाँ निर्वाचनको लागि कुनै हलो अड्काउने पक्षमा छैनौं,’ उनले भने।
विपक्षीको आन्दोलन शान्तिपूर्ण हुने भन्दै कसैले पनि आन्दोलनमा बल प्रयोग गर्नु नहुने उनले बताए। आइतबार धनगढीमा प्रधानमन्त्री चढेको गाडीमा ढुङ्गामुढा प्रहार भएको घटनाले आफू दुःखित भएको पौडेलको भनाइ थियो।

शान्तिपूर्ण आन्दोलनबाटै सरकारलाई हटाउने बताउँदै उनले सत्तापक्षीय दलहरु पनि सडकमा आउँछौं भन्नु पञ्चायती शैली हो भने। उनले सरकार नै प्रतिकारमा आउनु जायज नहुने बताए। रासस

Leave a Reply

Your email address will not be published.