वर्तमान सरकारको बहिर्गमन नै राजनीतिक समस्याको निकास

वीरगन्ज- नेकपा एमालेका उपाध्यक्ष विद्यादेवी भण्डारीले अहिलेको राजनीतिक समस्या निकासको प्रारम्भबिन्दु नै वर्तमान सरकारको बहिर्गमन भएको बताएकी छन्। वर्तमान सरकारले सबै दलहरुको विश्वास गुमाएको तथा राजनीतिक संस्कार र चरित्रसमेत अङ्गाल्न नसकेका कारण मुलुकमा राजनीतिक सहमति हुन सकेको छैन्, प्रेस चौतारी नेपाल पर्साद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उनले भनिन्– ‘राजनीतिक, संवैधानिक र नैतिक हिसाबले पनि वर्तमान सरकारको बहिर्गमन हुनुपर्छ।’

उपाध्यक्ष भण्डारीले यतिखेर मुलुकमा माओवादीको निरङ्कुशता र सर्वसत्तावाद हावी हुँदैछ भन्दै सिङ्गो मुलुकलाई अराजक, अस्थिरता, भ्रष्टाचार र दण्डहीनताको दलदलमा फसाएर सत्ता कब्जा गर्ने दुस्हास माओवादी गर्दैछ भने त्यो उसको दिवा स्वप्नबाहेक अरु केही हुने छैन बताए।
माओवादीको निरङ्कुशता र सर्वसत्तावादबिरुद्ध आम नेपाली नागरिक सडक सङ्घर्षको बाटोमा आउनुपर्नेमा जोडदिँदै उनले भनिन्– ‘पार्टीको महाधिवेशनमा माओवादी नेतृत्वले सरकारी स्रोत र साधन चरम दुरुपयोग गरेर लोकतन्त्रलाई नै उपहास बनाउने कार्य गरेको छ।’

उपाध्यक्ष भण्डारीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संवैधानिकरुपमा संस्थागत विकास गरी आम नेपाली जनताको शान्ति र समृद्धि चाहनालाई पूरा गर्नुपर्नेमा माओवादी नेतृत्वको वर्तमान सरकारको गलत क्रियाकलापका कारण मुलुक नोकरशाहीतन्त्र हाबी हुने अवस्थाको चरणमा पुगेको उल्लेख गरे। रासस

Leave a Reply

Your email address will not be published.