सहमतिको सम्भावना सकियो : खनाल

बागलुङ- नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले राजनीतिक दलबीच तत्काल सहमति बन्ने कुनै सम्भावना नरहेको बताएका छन्। लामो समय वार्ताद्वारा सहमति खोज्ने प्रयास भएपनि कुनै निकास निस्कन नसकेपछि आन्दोलननै प्रमुख एजेण्डाको रूपमा अघि आएको अध्यक्ष खनालको भनाइ थियो।

प्रेस चौतारी बागलुङ शाखाले आज बिहान बागलुङमा आयोजना गरेको पत्रकार सम्मेलनमा खनालले एकीकृत नेकपा (माओवादी)को सर्वसत्तावादी सोचका कारण सहमति बन्न नसकेको आरोप लगाए। “मुलुक अब आन्दोलनतर्फ गयो.” उनले भने, “विपक्षी दलहरूको सयुंक्त आन्दोलनबाटै यही हिउँदमा राजनीतिको छिनोफानो हुन्छ।”

उनले देशव्यापी रूपमा आन्दोलनको आँधीबेहरी सिर्जना गरेर वर्तमान सरकार समाप्त पार्ने उद्‍घोष गरे। विपक्षी दलहरू जहिले पनि सहमतिको पक्षमा रहेको उल्लेख गर्दै अध्यक्ष खनालले एमाओवादी र मधेसवादी दलहरूकै कारण मुलुक सङ्कटमा फसेको बताए।
“मुलुकका सबै संवैधानिक निकायहरू विघटन गरेर वर्तमान सरकारले तानाशाही शासन लाद्न खोजेको छ” खनालले भन्नुभयो, “यसका विरुद्ध सिँगो मुलुक नै धुव्रीकरणतर्फ गइसक्यो।”

निर्वाचन आयोग विघटन गरेर निर्वाचन हुन नदिने वातावरण बनाउन एमाओवादी लागिपरेको उहाँको तर्क थियो। मुलुकका सबै संवैधानिक निकाय विघटन गरेर मुलुकलाई सर्वसत्तावादतिर धकेल्न माओवादी उद्धत रहेको भन्दै अध्यक्ष खनालले छिटो सर्वसत्तावाद छोड्न एमाओवादीलाई आग्रह गरे। रासस

Leave a Reply

Your email address will not be published.