सन्तोष दहित, दाङ- नेपालका तराई जिल्लामा बस्दै आएका आदिवासी जनजाति थारु जातिले नयाँ वर्षको रुपमा मनाउँदै आएको पर्व हो माघी। थारु जातिले यो पर्वलाई महान पर्वको रुपमा मनाउँदै आएका छन्। उक्त पर्वलाई थारु भाषामा ‘बर्का माघ’समेत भनिन्छ। थारु जातिले माघीमा पर्वमा वर्षभरिको लेखा जोखा गरिनुको साथै अगामी वर्षभरिको लागि कार्ययोजना समेत बनाउँदै आएका छन्। यतिमात्र नभएर थारु जातिले आ–आफ्नो गाँउको लागि नया नेतृत्व चयन गर्दै आएका छन्। जस्तैः महटवा, अघवा, चौकिदार थारु जातिले माघीमा चयन गर्ने गर्छन्।
थारु कल्याणकारिणी सभाका केन्द्रीय सदस्य मेटमणी चौधरी भन्नुहुन्छ– थारु जातिको माघी भनेको नया वर्ष, महान पर्व तथा खुशियाली पर्व पनि हो। यो महान पर्वमा वर्षभरिको कामको लेखा जोखा गरिनुको साथै गाँउको सत्ता चलाउनको लागि नयाँ नेतृत्व समेत चयन गर्नुपर्छ चौधरीले भने। विगतको दिनमा के कति काम भयो त्यसको समिक्षा गर्नुको साथै नया वर्ष अर्थात आउने एक वर्षको लागि के के गर्ने भन्ने विषयमा व्यापक छलफल गरी विकास सम्वन्धी देखि लिएर हरेक क्षेत्रको लागि कार्ययोजना समेत तयार परिने माघी हो चौधरीले भने। त्यसैगरि आगामी वर्षको लागि गाँउका महटवा, अघवा तथा चौकिदार पनि चयन पनि माघीमा गर्ने गरिन्छ। यति महत्व रहेको पर्वमा नेपाल सरकारले बिशेष रुपमा हेर्नुुपर्दछ। माघी पर्बलाई महत्व दिन् सकेमा मात्रै समग्र थारु जातिको सम्मान हुने चौधरीको भनाइ रहेकोथियो । माघी पर्ब थारु जातिको महत्वपूर्ण पर्व भएकोले राज्यवाट कम्तिमा पाँच दिन सार्वजनिके बिदा दिने ब्यवस्था गर्नुपर्दछ चौधरीले भने। पाँच दिनको बिदाको ब्यवस्था गरेमा आगामी १ बर्षको लागि थारु जातिलाई मात्र नभएर सम्रग देश र जनको लागी राम्रो र नयाँ योजना बन्ने कुरामा सहयोगि हुन सक्छ।
यसैगरी घोराही नगरपालिका २ गुलरियाका महटवा रामप्रसाद चौधरी भन्छन्- थारु जातिमको माघी भनेको वर्षभरिको झैझगडा मिलाउने, वार्षिक कार्ययोजना वनाउने, गएको वर्षको लेखा जोखा गर्ने, महटवा, अघवा, चौकिदार छान्ने नै माघी हो। यतिमात्र नभएर वर्षभरि भेटघाट नभएको इष्टमित्रहरुसंग भेटघाटको अवसर मिलाउदिने, शुभकामना आदानप्रदान गर्ने नै माघी हो चौधरीले भने। ठुलावडासंग आशिर्वाद लिने, सानालाई माया गर्ने, सुख दुखको कुरा गाँउघरमा साटासाट गर्ने, गाँउको छिमेकीसंग सदभावको कायम गर्ने नै माघी हो उनले भने। उनिभन्छ थारु जातिको सस्कृति जर्गेन गर्ने नै माघी हो। यति यावत कुरालाई समेतर मनाई भएकोले यो पर्वलाई थारु जातिले माघीलाई महान पर्वको रुपमा घोषणा गरेका हुन चौधरीले भने।
वर्षकोको एकचोटी मात्र आउने थारु जातिको महान पर्व तथा नया वर्षलाई पछिल्लो चरणमा राज्यले सम्वोधन नगर्दा थारु जातिको माघी नै संकटमा परिरहेको चौधरीले भने। थारु जातिको माघीलाई राज्यले विशेष सम्वोधन गर्नुपर्ने चौधरीको भनाई थियो। माघीलाई राज्यवाट सवैधानिक मान्यता दिनुपर्छ चौधरीले भने। यदि राज्यले माघीलार्य संवैधानिक मान्याता दियो भने महटवाहरुको फेरी पुन जागरण हुन्छ, गाँउमा नेतृत्व पाउछ र गाँउ देशको विकास पनि हुन्छ चौधरीले भने। थारु गाँउमा हरेक क्षेत्रको विकासको लागि महटवाको नेतृत्वमा हुने गरेकोले पनि महटवा प्रथालाई जोगाइ राख्नको लागि माघी लाई नै राज्यले संवैधानीक मान्यता दिनुपर्छ चौधरीले भने। माघीमा हरेक वर्ष थारु जातिले महटवाको घरमा वसेर वर्षभरिको नया कार्ययोजना वनाउने साथै गएको वर्षको लेखा जोखा गर्दछन चौधरीले भने। यो गर्नलाई पनि करिब ६/७ दिन सम्म लाग्छ त्यसैले, सरकारले थारु जातिको महान पर्व तथा नया वर्ष माघीमा कम्तीमा ५ दिन सार्वजनिक विदा दिएको भए गाँउ विकासको लागि प्रभावकारी कार्ययोजना वनाउने सजिलो हुनेथियो चौधरीले भने।
कसरी मनाइन्छ माघी
माघी आउने करिब १०/१५ अगाडी देखि नै थारु समुदायेल माघीको तयारीमा जुटुने गर्दछन। १०/१५ दिनको अवधिमा जंगलमा गई दाउरा ल्याउने, पात टिप्ने, घर आँगन पोटने, दुना टपरी लगाउने, सुंगुर वंगुर खोज्ने, माछा मार्ने, जाँर, रक्सी वनाउने जस्ता तयारी गरिन्छ। त्यसैगरि ढिक्री वनाउको लागि पिठो पिसाउने, रोटी पकाउनेको लागि तेल विशेष गरि पेलाउने आदिको तयारी गरिन्छ। यसरी तयारी गरि सकेपछि माघीको अगाडीको दिन अर्थात पुस महिनाको अन्तिम दिन कसैले घरका अन्य सदस्यहरुले माछा मार्न जान्छन भने घरका मुख्य व्यक्ती “गरढुर्या”हरु विहान उठि गाँउमा एक ठाउ जम्मा भई अघवाले भनेवमोजिम गाँउमा सुंगुरमार्ने गरिन्छ। यसरी त्यहिदिन घरका महिलाहरुले ढिक्रि वनाउने, रक्सी पार्ने जस्ता काम गर्ने गर्दछन। त्यसैगरि त्यदिन गरधुर्याहरुले सुंगुर काटी सकेपछि नजिकै खोला या ववईमा भोली पल्ट स्नान गर्ने ठाँउमा सरसफाई गर्ने गर्दछन। त्यहि दिन थारु समुदायले रातभरि नाच्ने गर्दछन।
पहिलो दिन
माघीको पहिलो दिन अर्थात माघ महिनाको १ गतेका दिन विहानको ४ वजे उठेर गाँउका सवै पुरुष सदस्यहरु महटावाको घरमा जम्मा हुनेगर्दछन। त्यँहा जम्मा भइसकेपछि सवैले माघी मघौटा नाच नाच्दै नजिकै ववई या खोलामा नुहान जाने गर्दछन। नुहाउनु अगाडी आफुले नुहान ठाँउमा पहिलो पैसाको ध्याव राखेर अर्थात पैसालाई खुट्टाले डावेर नुहाने चलन छ। यसरी नुहाइ धुवाई गरिसकेपछि घरमा आएर निसराउ ‘कहर्ना’ निकाल्ने चलन हुन्छ। निसराउ तिन थरिको हुन्छ। १) चामल, २) नुन, र ३) मास हुन्छ यी सवैबाट ३/३ पटक निकालेर अर्काे टपरीमा राख्ने चलन छ जसलाई थारु भाषामा निसराउ ‘कहर्ना’ भनिन्छ। निसारउ निकाल्ने वेला पनि घरको ठुलो व्यक्तीवाट क्रमस निसराउ निकाल्ने चलन छ। यसरी निसराउ निकालि सकेपछि घरको वाजे, वजै, वुवा आमा, काका, काकी, दाई भाउजुहरुबाट आशिर्वाद लीने चलन छ। त्यसैगरि घरमा आशिर्वाद लिइसकेपछि गाँउका सवै इस्टमित्रहरुलाई भेटी ठुला हरुसंग आशिर्वाद, आदार सानालाई माया सम्मान गर्ने पनि चलन रहेको छ। यसरी सवैसंग भेटघाट तथा ढोग सेवा , आशिर्वाद लिइसकेपछि घर परिवारका सवै सदस्यहरु एउटै कोठामा वसेर ढिक्रि, मासु, तरुल संगै मिठो मिठो परिकार खादै दुःख सुखको कुरा साटासाट गरिन्छ। यसैगरि घरपरिवारमा वर्षभरिको लागि के के काम गर्ने कुन कामको जिम्मा कस्लाई दिनेलगायत घर परिवार भित्र गरिन्छ भने त्यसैगरि सवैले खान पिन गरिसके पछि गाँउका गरधुर्याहरु महटवाको घरमा जुटने चलन हुन्छ। त्यहि दिन सवै गरधुर्याहरुले महटावा, अघवा तथा चौकिदार चयन गर्छन। त्यसैगरि यो वर्षमा के के भयो के के काम गर्न वाँकी छ त्यसको समिक्षा गर्नुको साथै आगामी दिनको लागि वर्षभरिको कार्ययोजना समेत थारु समुदायले माघीको दिन वनाउने गर्छन। यदपी यति धेरै कामको समिक्षा कुनै गाँउमा त्यहि दिन सक्छन भने कोहि गाँउमा त्यो नसके भोलिपल्ट वस्ने गर्छन। त्यस्तै कुनै गाँउमा भने माघीको पहिलो दिन महटवा, अघावा र चौकिदार छानिसकेपछि माघी मनाएर केहि दिन पछि वर्षभरिको कार्ययोजना वनाउने चलन छ। यता भने थारु युवायुवती तथा केटा केटी भने माघी मनाउदै मघौटा नाच्ने गर्दछन्। यसरी थारु समुदायले माघीको पहिलो दिन माघी मनाउने चलन छ। अझै माघीको पहिलो दिन महिला भन्दा पनि पुरुषले मात्र मनाउने गरेकाछन। त्यसैले माघीको पहिलो दिनलाई थारु भाषामा ‘थारुन्हक माघ’ अर्थात पुरुषको माघी भनिन्छ। यो दिन पुरुषले मात्र माघी मनाउने र नाच्ने गर्दछन।
माघीको दोस्रो दिन माघ २ गते अर्थात माघीको दास्रो दिन भनेको थारु समुदायका महिलाहरुको माघी हुन्छ। जुन दिनलाई थारु भाषामा ‘जन्नीन्हक माघ’ माघ भन्ने गरिन्छ। यो दिन पुरुषको भन्दा पनि महिलाहरुले विशेषगरि माघी मनाउने भएकोले पनि थारु महिलाहरुको माघी भनिन्छ। यहि दिन युवतीहरुको गु्रप, साना साना केटीहरुको गु्रप, भरखर विहेभएका महिलाहरुको गु्रप, आमाहरुको ग्रुप, वृद्ध महिलाहरुको गु्रपवनाई थारु समुदायका महिलाहरु अर्थात दिदिवहिनीहरुले भब्यताका साथ प्रत्यक घर घरमा गइ माघी मनाउनउ चलन रहेको छ। पुरुष भन्दा पनि वढिरुपमा महिलाहरुले यो दिन माघी मनाउने गर्दछन। यदपी यो दिन पुरुषले पनि मनाउने गर्छन। माघीको दोस्रो दिनमा पनि पहिलाको दिन नसेको काम थारु पुरुष अर्थात गरधुर्याहरु महटावाको घरमा जुटेर वर्षभरिको कार्ययोजना वनाउने गर्दछन। यसैदिन देखि थारु महिला तथा पुरुषहरुले संगै मिलेर धुमधाम संगै मघौटा नाच नाच्ने गर्दछन।
माघीको तेस्रो दिन
माघ ३ गते अर्थात माघीको तेस्रो दिन पनि थारु समुदायका महिला तथा पुरुषहरुले भव्यताका साथ माघी मनाउने गर्छन। यो दिन माघको १ र २ गतेका दिन नपुगेको घर घरमा गएर पहिला जस्तै भेटघाट तथा माघीको शुभकाना आदान प्रदान गरिन्छ। अर्थात थारु भाषामा ओरौउनी माघ भनेर यो दिन पनि माघी मनाउने नाच गान गर्ने गर्र्दछन। तथापी मघौटा नाच भने माघ महिनाको करिब ७ गतेसम्म नाचिन्छ। धेरै महत्वका साथ नाचिने यो मघौटा नाचमा आफ्नो गाँउ देखि छिमेकी गाँउ सम्म गएर नाच्ने गरेको पाइन्छ। मघौटा नाच साझको ३ वजेदेखि रातिको ११/१२ वजेसम्म घर घरमा गई नाच्ने गरेको पाइन्छ। केटा केटी, युवा युवती तथा महिला पुरुष, वृद्धवृद्धाहरुको छुट्टाछुट्टै टिम वनाएर थारु समुदायका मानिसले मघौटा नाच नाच्ने गर्दछन्। माघ १ गते देखि करिब ७ गतेसम्म त थारु गाँउ मान्दलको आवाज र मघौटा सख्या गीतले जताततै सुन्न पाइन्छ।