सिरहामा विद्यालयका प्रअद्वारा २० लाखभन्दा बढीको भ्रष्टाचार

सन्तोष यादव, सिरहा- सिरहाको लक्ष्मीपुरपतारी गाविस–१ स्थित प्राथमिक विद्यालय धनछवारका प्रधानाध्यापक शिवनारायण मण्डलले रु २० लाखभन्दा बढी भ्रष्टाचार गरेको अभिभावकहरुले आरोप लगाएका छन्। जिल्ला शिक्षा कार्यालयले शौचालय, भवन, छात्रवृत्ति र दिवा खाजा शीर्षकमा दिएको बजेटबाट रु २० लाखभन्दा बढी प्रअ मण्डलले भ्रष्टाचार गरेको स्थानीयवासीको आरोप छ। भ्रष्टाचारको आरोप लागेका प्रअ मण्डल विद्यालय आउन पनि छाडेको उनीहरुको भनाइ छ।
“प्रअ मण्डल यो विद्यालयमा आएको ६ वर्ष भयो,” अभिभावक भागवत यादवले भन्नुभयो, “तर यसबीचमा एउटै दलित विद्यार्थीलाई पनि छात्रवृत्ति दिइएको छैन।” शिक्षा कार्यालयबाट आएको दिवा खाजा कार्यक्रमअन्तर्गत एक दिन पनि दिवा खाजा विद्यार्थीलाई नदिएको उनले बताए।
शिक्षा कार्यालयले दुईवटा शौचालय र एउटा भवन बनाउन पनि विद्यालयलाई बजेट उपलब्ध गराएको छ। बजेट उपलब्ध भए पनि भवन र शौचालय बनाउने कार्य अलपत्र परेका छन्। अभिभावक यादवले भन्न्ुभयो– “प्रअ मण्डल विद्यालय नै आउँदैनन्। अनि कसले बनाउला भवन र शौचालय?”

विद्यालयमा व्यापक भ्रष्टाचार गरेका प्रअ मण्डललाई पटकपटक आय–व्यय सार्वजनिक गर्न आग्रह गरिए पनि वास्ता नगरेको अभिभावकहरु बताउँछन्। अभिभावक विश्वनाथ यादवले प्रअ मण्डलले आय–व्यय सार्वजनिक गर्न नमानेपछि कारबाहीका लागि विभिन्न निकाय धाउन थालेको बताए।
भ्रष्टाचार गरेका प्रअ मण्डलमाथि कारबाही गर्न माग गर्दै अभिभावकहरुले जिल्ला प्रशासन कार्यालय, जिल्ला शिक्षा कार्यालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा एक महिनाअघि उजुरी दर्ता गराएका छन्।
यता प्रअ मण्डलले शिक्षा कार्यालयबाट आएको बजेटका शीर्षकहरुमा केही रकम तलमाथि भएको भनेर स्वीकार गरेका छन्। अभिभावकहरुलाई विद्यालयमै भेला भएर समस्या समाधान गर्न आग्रह गरेको तर अख्तियार समेतका विभिन्न निकायबाट पत्र आएकाले जिल्ला प्रशासन कार्यालयमा तारिख धाउन थालेको बताए।
आफूले विद्यालयको आय–व्यय लगायतका कागजात जिल्ला प्रशासन कार्यालयमा बुझाएको जानकारी गराए। रासस

Leave a Reply

Your email address will not be published.