एमाओवादी विश्वास गर्न नसकिने पार्टी : महत

काठमाडौं- नेपाली कांग्रेसका नेता रामशरण महतले एमाओवादी पार्टी विरोधाभासको पोको मात्र भएको बताएका छन्। रिपोर्टर्स क्लबमा आज भएको साक्षात्कार कार्यक्रममा महतले राष्ट्रिय सहमतिका लागि पटकपटक म्याद थप्ने काम रोकेर राष्ट्रपतिले संविधानको धारा ३८ उपधारा २ को भावनालाई समातेर विघटित संविधानसभामा सहभागी दलहरूको बहुमतका आधारमा राष्ट्रिय सहमतिको प्रधानमन्त्री नियुक्त गर्नुपर्ने विचार राखे।

उनले एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाललाई नेपाली कांग्रेसका सभापति सुशील कोइराला प्रधानमन्त्रीका रुपमा स्वीकार्य भए उसैको नेतृत्वमा राष्ट्रिय सरकारको गठन गर्न दिइनुपर्ने तर पटकपटक अध्यक्ष दाहालले बोली फेर्न नहुने बताए।
शान्ति तथा पुनःनिर्माण मन्त्री टोपबहादुर रायमाझीले संवैधानिक, कानुनी तथा लोकतान्त्रिक विधिअनुसार वर्तमान प्रधानमन्त्री डा बाबुराम भट्टराईको विकल्प नभएको प्रष्ट पारे। उनले सत्तारुढ दलहरूको गठबन्धनको बैठकमा वर्तमान प्रधानमन्त्रीकै नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार निर्माण हुनुपर्ने नभए यसै गठबन्धनभित्रबाटै नयाँ नेतृत्वको सरकार निर्माण गर्ने सहमति भएको बताए।
मन्त्री रायमाझीले यदि दलहरूबीच प्याकेजमै सहमति बन्ने परिस्थिति आए प्रधानमन्त्री भट्टराई हट्न सक्छ भने। रासस

Leave a Reply

Your email address will not be published.