चिसोले महोत्तरीको जनजीवन प्रभावित

बर्दिवास- छिल्लो साता निक्कै बढेको चिसोले महोत्तरी जिल्लाको जनजीवन प्रभावित भएको छ। मङ्सिरको अन्तिम साताबाट सुरु भएको चिसो क्रमशः छिप्पिँदै जाँदा जिल्लाका गाउँनगरका बस्तीहरू अत्यधिक प्रभावित भएका छन्। घाम नदेखिने गरी लाग्ने बाक्लो हुस्सु र चिसो हावाले बस्तीहरूमा रुघा, खोकी, ज्वरो, श्वासप्रश्वास र हाडजोर्नीका बिरामी निकै बढेका छन्। खासगरी जिल्लाको मध्य र दक्षिणवर्ती क्षेत्रमा चिसोको असर निकै बढेको स्वास्थ्यकर्मीको भनाइ छ।
मध्यवर्ती क्षेत्रको लोहारपट्टी, रामगोपालपुर र बलवा एवम् दक्षिणी क्षेत्रको सिमरदही, सम्सी र एकडारामा रहेका सरकारी स्वास्थ्य संस्थाहरूमा अहिले बिरामीको चाप निक्कै बढेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ।
जिल्ला सदरमुकामस्थित जलेश्वर अस्पतालमा पनि चिसोकै कारण बिरामी भएर आउनेको सङ्ख्या बढेको कार्यालयका वरिष्ठ स्वास्थ्य प्रशासक विजयकुमार झाले जानकारी दिए। जिल्लामा पुस लागेपछि चिसोले कठ्याङ्ग्रिएर दुईजनाको मृत्यु भइसकेको छ। पछिल्ला चार दिनयता चिसो झनै बढेपछि सदरमुकाम र जिल्लाका अन्य बजार क्षेत्रमा चहलपहल र आवागमन निक्कै पातलिएको छ।
यसैबीच जिल्ला प्रशासन कार्यालयले सदरमुकाम जलेश्वरमा बटुवा र कार्यालयको कामले पुगेकाहरूलाई राहत दिन आजदेखि २० ठाउँमा दाउरा उपलब्ध गराएर आगो ताप्ने प्रवन्ध मिलाएको छ। सदरमुकामका चोकचोकमा आगो ताप्ने व्यवस्था भएपछि जाडो छल्न केही राहत भएको बटुवाहरूले बताएका छन्।
जिल्लाका ग्रामीणभेगमा बिरामीको हेरचाहका लागि सो क्षेत्रका स्वास्थ्य संस्थामा थप जनशक्तिको व्यवस्था गरिएको प्रमुख जिल्ला अधिकारी मधुसूदन बुर्लाकोटीले जानकारी दिए। चिसोका कारणले बिरामी भएर अस्पतालमा उपचार गराइरहेका बिरामीलाई विभिन्न सामाजिक सङ्घसंस्थाले पोषणयुक्त खानेकुराको व्यवस्थाका लागि चासो देखाएका स्थानीय प्रशासनले जनाएको छ।
जिल्लाका विभिन्न स्वास्थ्यसंस्थामा गरी चिसोले बिरामी परेका करिब १५० जनाले उपचार गराइरहेका बताइएको छ। जसमा ६० वर्ष नाघेका वृद्धवृद्धा, ससाना नानी र महिलाको सङ्ख्या ७० प्रतिशतभन्दा बढिरहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ। रासस

Leave a Reply

Your email address will not be published.