कञ्चनपुरका प्राकृतिक तालहरू पुरिँदै

कञ्चनपुर- संरक्षण र संवर्द्धनको पर्खाइमा रहेका कञ्चनपुरका दर्जनौँ प्राकृतिक तालहरू पुरिँदै जान थालेका छन्। जलकुम्भी, वेसरम, नरकटलगायतका वनस्पति र माटोका कारण तालहरूको प्राकृतिक सौन्दर्य गुम्दै जान थालेको हो। शुक्लाफाँटा वन्यजन्तु आरक्षभित्रका ताराताल, बाउन्नेताल, सलगौडी ताल, सिकारी ताल, रानीताललगायतको जलस्तर प्रतिवर्ष घट्दै जान थालेकाले आरक्षका संरक्षित जनावरलाई पानी पिउन समस्या परेको छ।
सिमसार क्षेत्र सुक्दै जान थालेपछि त्यस क्षेत्रमा बस्दै आएका चराचुरुङ्गी र अन्य जीवजन्तुको वासस्थान पनि सङ्कटमा पर्दै जान थालेको छ। प्राकृतिक तालहरूको जलस्तर घट्दै जान थालेपछि आरक्ष प्रशासनले ट्युवबेल जडान गरी कृत्रिम तालको निमार्ण गरी संरक्षित जनावरलाई पानी पिउने व्यवस्था गरेको छ।
तालको व्यवस्थापन र संरक्षणतर्फ सम्बन्धित निकायको चासो नजाँदा तालको अस्तित्व सङ्कटमा पर्दै जान थालेको आरक्षका कर्मचारीहरू बताउँछन्।
“आरक्षभित्रको तारातालमा स्थानीय बासिन्दाले माछा मार्ने र माटो निकाल्ने कार्यले लोपोन्मुख गोही र विभिन्न प्रकारका माछाको प्रजाति लोप हुने सङ्घारमा पुगेको”— स्थानीय समाजसेवी दानसिं दहित बताए। आरक्ष बाहिरका धार्मिक र पर्यटकीय महत्व राख्ने झिमिला, वेदकोट वन्दा, प्यारातालहरूमा टेवा पर्खाल निमार्ण नगरिँदा तालहरू पुरिने क्रमसँगै ताल नै लोपहुने सङ्घारमा पुगेका छन्, उनले भने।
कृषि विकास कार्यालय कञ्चनपुरको तथ्याङ्कअनुसार यहाँ ४७ वटा प्राकृतिक ताल रहेका छन्। रासस

Leave a Reply

Your email address will not be published.