विहे गर्न नमानेर आगो लगाइएका किशोरीको मृत्यु

काठमाडौं- बर्दिया सदरमुकाम गुलरियामा आफ्नो प्रेमीद्वारा आगो लगाइएको भनिएकी सिवा हासमीको मृत्यु भएको छ। वीरअस्पतालमा उपचारको क्रममा उनको आज बिहान ७ बजे मृत्यु भएको उनका भाइ तनवीर हासमीले बताउनुभयो। गत सोमबार हासमीलाई वीरअस्पतालमा भर्ना गरिएको थियो। बाबु भनिने रहम खानले आफूसँग विवाह गर्न अस्वीकार गरेको भन्दै शनिबार राति सिवालाई पेट्रोल छर्केर आगो लगाएका थिए।

हास्मीमाथिको घटना क्रूर : महिला आयोग
राष्ट्रिय महिला आयोगले विवाह गर्न नमानेको भन्दै आगो लगाएर जलाइएकी शिवा हास्मीको निधनप्रति दुःख व्यक्त गरेको छ। आयोगले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी सो घटनामा संलग्न दोषीलाई कानुनी कठघरामा ल्याएर कडाभन्दा कडा कारबाही गर्न माग गरेको छ। आयोगले यो घटनालाई क्रूर, अमानवीय र जघन्य अपराधको सङ्ज्ञा दिँदै त्यसको भर्त्सना पनि गरेको छ।
मानव सभ्यताकै कलङ्कका रूपमा रहेको यो घटनाको यथाशीघ्र, प्रभावकारी र पारदर्शी ढङ्गले छानबिन गरी दोषीमाथि कारबाही र पीडित पक्षलाई आवश्यक क्षतिपूर्ति दिन पनि आयोगले सरकारको ध्यानाकर्षण गरेको छ।
लैङ्गिक हिंसाविरुद्धको १६ दिवसीय अन्तर्राष्ट्रिय अभियान चलिरहेकै बेला बर्दियाको गुलरिया नगरपालिका वडा नं ८ की हास्मीलाई भारतीय नागरिक बाबु खानले आफूसँग विवाह गर्न नमानेको भन्दै गत शुक्रबार पेट्रोल छर्केर आगो लगाइदिएका थिए। आगोले जलेर गम्भीर घाइते भएकी हास्मीको आज बिहान उपचारका क्रममा निधन भएको थियो।
“हास्मीमाथि भएको आक्रमण जघन्य अपराध हो, यस्तो निन्दनीय कार्यमा संलग्न अपराधीलाई कानुनी दायरामा ल्याएर कडा कारबाही गर्न सरकारसँग माग गर्दछु”, आयोगका अध्यक्ष शेष चाँदताराले भने।
आयोगका प्रवक्ता मोहना अन्सारीले घटनाको स्वतन्त्र छानबिन गरी सत्यतथ्य बाहिर ल्याउन र दोषीलाई कडा कारबाही गर्न माग गरे। उनले महिला हिंसाविरुद्धको १६ दिने अभियानका बेलामात्र आयोगमा ६२ वटा महिलामाथि भएका हिंसाका घटनाको उजुरी परेको जानकारी दिनुभयो। आयोगमा वार्षिकरूपमा ४०० को हाराहारीमा महिलामाथि हुने हिंसाका उजुरी पर्ने गर्छ। रासस

Leave a Reply

Your email address will not be published.