कांग्रेसले बुधबार आफ्नो उम्मेदवारको नाम तीन दलको बैठकमा दिने

काठमाडौं- प्रमुख तीन दलको बैठकमा एकीकृत नेकपा (माओवादी)ले कांग्रेसबाट प्रधानमन्त्रीको उम्मेदवारको नाम मागेपछि कांग्रेसले आफ्नो तर्फबाट प्रधानमन्त्रीको नाम भोलि दिने भएको छ। सेना समायोजन विशेष समितिको सचिवालय नयाँ बानेश्वरमा बसेको बैठकमा एमाओवादीले प्रधानमन्त्रीको नाम मागेपछि कांग्रेसले भोलि केन्द्रीय समितिको बैठक बसी नाम दिने बताएको कांग्रेस महामन्त्री कृष्ण सिटौलाले जानकारी दिए।
उनले भने, “आजको बैठकमा माओवादीका नेताहरूले कांग्रेस र एमालेको तर्फबाट प्रधानमन्त्रीको उम्मेदवारको नाम दिनुहोस्, हामी छलफल गर्न तयार छौं भनेपछि हामीले भोलि कांग्रेस केन्द्रीय समितिको बैठक बसेर प्रधानमन्त्रीको उम्मेदवार नाम दिन्छौँ भन्यौं।”
महामन्त्री सिटौलाले कांग्रेसबाट सभापति सुशील कोइराला नै प्रधानमन्त्रीको उम्मेदवार हुने सङ्केत गर्दै भने, “काँग्रेसको उम्मेदवार को हो भन्ने तपाइँहरूलाई थाहा नै छ। माओवादीलाई पनि थाहा छ। तैपनि हामी भोलि बैठक बसेर औपचारिकरुपमा नाम घोषणा गर्छौ।”
उपप्रधानमन्त्री एवं पराराष्ट्रमन्त्री तथा एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले आजको बैठकमा कांग्रेस र एमालेबाट प्रधानमन्त्रीको उम्मेदवारको नाम आफूहरूले मागेको स्वीकार गरे।
उनले भने, “हामीले कांग्रेस र एमालेको तर्फबाट प्रधानमन्त्रीको उम्मेदवारको नाम दिन आग्रह गर्‍यौं। सङ्घीयता स्वीकार गर्ने, संविधानसभाको चुनाव गर्न सक्ने व्यक्ति भए हामी छलफल गर्न तयार छौं।”
उनले आफ्नो पार्टीको पहिलो प्राथमिकता वर्तमान प्रधानमन्त्री डा बाबुराम भट्टराईलाई नै सहमतीय सरकारको प्रधानमन्त्री बनाउने, दोस्रो प्राथमिकतामा सत्तागठबन्धनबाट प्रधानमन्त्रीको चयन गर्ने र तेस्रो विकल्पमा मात्रै काँगे्रसबाट प्रधानमन्त्रीको उम्मेदवारलाई स्वीकार गर्ने रहेको पनि स्पष्ट पारे।
नेकपा (एमाले)का नेता केपी शर्मा ओलीले आफ्नो दलले कांग्रेस सभापति सुशील कोइरालालाई प्रधानमन्त्री बनाउनुपर्छ भन्ने प्रस्ताव बैठकमा राखेको जानकारी दिए। उनले भने, “हामीले सुशील कोइरालालाई प्रधानमन्त्री बनाउनु पर्छभन्दा एमाओवादीको नेताहरूले हुन्छ पनि भन्नुभएन, हुन्नपनि भन्नुभएन।”
सहमतीय सरकार गठनका लागि राष्ट्रपतिले दिनुभएको बिहीबारको समय सीमाभित्रै सहमतिमा पुग्ने विश्वास बैठकपछि नेताहरूले व्यक्त गरेका छन्। तीन दलको बैठक भोलि पुनःबस्ने नेताहरूले बताएका छन्। रासस

Leave a Reply

Your email address will not be published.