तीन ठूला दलका अध्यक्षले भने- मुलुकलाई निकास दिन आतुर छौं

काठमाडौं- नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताहरूले राष्ट्रपतिले दोस्रोपटक सहमतिका लागि दिएको समय सीमाभित्रै निकास खोज्ने प्रतिबद्धता जनाएका छन्। उनीहरूले आफूहरू पनि राजनीतिक सहमतिबाटै निकास खोज्न सक्रिय रहेको बताउँदै तोकिएकै समयमा सहमति हुनेमा आशावादी रहेको उल्लेख गरे। 
राष्ट्रपतिले सहमतिका लागि दिएको समय सीमाभित्रै निकास खोज्न दबाब दिने उद्देश्यले आज ज्ञापनपत्र बुझाउन पुगेको एमाले निकट युवा सङ्घ नेपालको टोलीसँग उनीहरूले मुलुकलाई निकास दिन आतुर रहेको बताए।
एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले आफू सहमतिकै लागि निरन्तर लागिरहेको र दलहरुबीच छलफल भइरहेकाले चाँडै सहमति हुने विश्वास व्यक्त गरे।
उनले मुलुकको निकासका लागि राष्ट्रपतिबाट भएको दोस्रोपटकको आह्वानको समय सीमाभित्रै दलहरुबीचमा राष्ट्रिय सरकार गठनलगायतका विषयमा सहमति भइसक्ने उल्लेख गर्दै त्यसका लागि सबै दल इमान्दार भई लाग्नुपर्नेमा जोड दिए।
कांग्रेसका सभापति सुशील कोइरालाले राष्ट्रपतिले तोकिदिएको समयभित्रै सहमति खोज्न आफू सक्रिय रहेको बताए। उनले भने, “तोकिएकै समयभित्र सहमति बन्छ भन्नेमा म आशावादी छु।”

एमाओवादीले विगतका सहमति कार्यान्वयन गरे निकासका लागि खासै अप्ठ्यारो नहुनेमा पनि उनले जोड दिए। एमालेका अध्यक्ष झलनाथ खनालले सहमतिका लागि युवा सङ्घले गरेको दबाब कार्यक्रम सकारात्मक रहेको भन्दै सहमतिका विकल्प नरहेको बताए। उनले भने, “युवा सङ्घको दबाब जायज छ, सहमति तोकिएकै समयमा हुनुपर्छ।”

राष्ट्रपतिले सहमतीय सरकार बनाउन दिएको समय सीमाभित्रै निकास खोज्न दबाब दिने उद्देश्यले प्रमुख दलका शीर्ष नेतालाई भेटेर ज्ञापनपत्र बुझाएको सङ्घका महासचिव निरज आर्चायले जानकारी दिए। उनले लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न, आन्दोलनका उपलब्धिको रक्षालगायतका काम गर्न प्रधानमन्त्री डा बाबुराम भट्टराई बाधक हुन नहुने बताए।
ज्ञापनपत्र बुझाउन सङ्घका अध्यक्ष महेश बस्नेत, महासचिव आचार्यलगायतका पदाधिकारीको सहभागिता थियो। रासस

Leave a Reply

Your email address will not be published.