कांग्रेसका वरिष्ठ नेता तामाङ रहेनन्

काठमाडौं- नेपाली राजनीतिका आर्दश नेता भीमबहादुर तामाङको आज बिहान निधन भएको छ। सदाझैँ बिहान घुमेर फर्कनुभएका तामाङको कोठामा आउनासाथ अचानक स्वास्थ्यमा समस्या देखिएको थियो। एक्कासी स्वासप्रश्वास बढेपछि तामाङलाई उपचारका लागि थापाथलीस्थित नर्भिक अस्पताल पुर्‍याइएको थियो। अस्पतालमा उपचारको क्रममा उहाको निधन भएको हो।

तस्बिर : प्रदीपराज वन्त/रासस

विसं १९९० मा दोलखाको जफेमा जन्मनु भएका तामाङ २००६ सालमा नेपाली कांग्रेसबाट नेपाली राजनीतिमा प्रवेश गरेका थिए। लामो समयसम्म प्रवास, जेल जीवन र पार्टीका विभिन्न तहमा रहेर काम गर्नुभएको थियो। उनी नेपाली राजनीतिमा आर्दश र निष्ठाको राजनीति गर्ने नेताको रुपमा परिचित थिए।
नेपाली कांग्रेसको बाह्रौं महाधिवेसनमा सभापतिका उमेद्वार रहनुभएका तामाङले त्यसअघि कानुन तथा संसदीय व्यवस्था मन्त्रीको समेत जिम्मेवारी सम्हाल्नुभएको थियो। आजीवन पार्टीका लागि त्याग गरेका तामाङ जति समय नेपाली राजनीतिमा सक्रिय थिए, त्यो अवधिभर भौतिक सुख सुविधासमेत लिएनन्।

तामाङको निधनसँगै मुलुकले सिद्धान्तको राजनीतिक गर्ने असल नेता गुमाएको छ। तामाङलाई अस्पताल पुर्‍याएलगत्तै नेपाली कांग्रेसका सभापति, उपसभापति, वरिष्ठ नेतालगायतका नेता, कार्यकर्ता अस्पताल पुगेका थिए।

तामाङको शव आज अपराह्न १२ बजेदेखि ३ बजेसम्म पार्टी कार्यालय सानेपामा राखिने उपसभापति रामचन्द्र पौडेलले जानकारी दिनुभयो। अहिलेको राजनीतिक सत्ताको वरिपरि घुमिरहेको बेला आदर्शवान तामाङबाट नेपालका राजनीतिक दलका शीर्ष नेताहरुले पाठ सिक्नुपर्ने हुन्छ।

उनले जीवनभर एउटा सामान्य झोला बोकेर सादा जीवन उच्च विचार बोक्ने नेताका रुपमा आफूलाई प्रस्तुत गर्न सफल भएका थिए। रासस

Leave a Reply

Your email address will not be published.