मदन चौधरी, काठमाडौं- थारु हिरोको बंगाली फिल्म आउन लागेको छ। सम्पादन भइरहेको फिल्म ‘जीवनेर संघर्ष’ (जीवनको संघर्ष) मा थारु अभिनेता परशुराम चौधरी देखिने भएका हुन्। उनले मुख्य भूमिकाका साथै निर्देशनको जिम्मेवारी सम्हालेका छन्। बंगाली, सुरजापुरी र राजवंशी गरी तीन भाषामा डबिङ भइ रिलिज हुने फिल्ममा बंगालका चर्चित रेडियो जक्की गार्गी सिंगुप्ता र नितु सिंहको मुख्य अभिनय रहेको छ। पूर्वी नेपाल–भारतको सीमामा छाँयाकन गरिएको फिल्ममा चौधरी र गार्गीको रोमान्स हेर्न पाइनेछ।
मोहम्मद आलमले निर्माण गरेको यस फिल्मबाट निर्देशनका लागिमात्र चौधरीले एकलाख पारिश्रमिक लिएका छन्। यसअघि चन्द्रकान्त माझीले निर्माण गरेको सुरजापुरी फिल्म ‘साप कन्या’को निर्देशन चौधरीले गरेका थिए। सो फिल्म बंगालमा चर्चा पाएपछि उनले अर्को फिल्म निर्देशन गर्ने अवसर पाएका हुन्। चौधरीले ‘सुरजापुरी फिल्म ‘साप कन्या’को निर्देशन गरेको’ बताए। नेपाली, थारु, मैथली, भोजपुरी भाषाको फिल्म निर्देशन गरिसकेका चौधरीले भने, ‘बंगालमा त्यो फिल्म हिट भएपछि मोहम्मद आलमजीले निर्देशन गर्न भन्नुभयो।’
अर्को सुरजापुरी ‘कहार कसुर’को निर्देशनसमेत गरिसकेका उनले भाषाका कारण सुरुमा अप्ठेरो परेको बताए। ‘बंगाली भाषा हिन्दीभन्दा बिल्कुलै फरक भएकाले डायलग नबुझ्दा सुरुमा समस्या भयो’ चौधरीले भने, ‘विस्तारै काम गर्न सजिलो भयो।’
निर्देशनबाट एक्कासी अभिनय गर्ने अवसर कसरी पाउनुभयो भन्ने प्रश्नमा चौधरीले आफू निर्देशनको जिम्मेवारीमात्र सम्हाल्न गएको बताए। ‘मलाई निर्देशनको जिम्मेवारी सम्हाल्न मात्र बोलाउनुभएको थियो। निर्माताले हिरो बन्नुपर्छ भनेपछि मैले खेलेँ’ उनले भने।
विवाहित पुरुषले परस्त्रीमा आँखा लगाउँदा परिवारमा आउने समस्यालाई फिल्मले उजागर गरेको निर्देशक चौधरीले बताए। उनले भने ‘मान्छे जतिसुकै सम्पन्न किन नहोस्, परस्त्रीलाई आँखा गाड्नु भनेको पारिवारिक विचलन हो। फिल्म यही विषयमा आधारित छ।’








