सीप सिक्दा बदलियो बिपनाको जीवन

निर्मल घिमिरे, बर्दिया- ९ सन्तानमध्ये साहिली छोरी हुन बिपना चौधरी, २०। उनले बाल्यकालमा कहिलै खुशी मनाउन पाइनन्। कहिले अभाव त कहिले गालीमा बित्ने तीनै बिपना चौधरीको यतिखेरको दिनचर्या भने सँधै खुशीयालीमा बित्ने गर्छ। नौ सन्तानकी साहिली छोरी बिपनालाई सानै उमेरमा मालिकको घरमा कमलरी बसेर जुठा भाडा माझ्नु बाध्यता थियो।

अर्काको स्याहारसुसार गर्न जीन्दगी अर्पेकी बिपना कम्लरी मुक्त भएपछि सिकेको सीपले उनलाई यतिखेर सफलतातिर डोर्‍याइरहेको हो। अहिले उनी सिलाइकटाइको प्रशिक्षक बनेकी छन्। जुठो भाडा माझनु पर्ने बिपना सिलाइकटाइको प्रशिक्षक भएपछि आय आर्जनमा पनि बढेको छ। यतिखेर उनी समाजमा उदाहरणीय बनेकी छन्।

धधवार– ९ मा बस्ने बिपनाको घर मुक्त कमैया बस्तीमा छ। सिलाइकटाइको प्रशिक्षक भएपछि बिपनाको सपना साकार हुँदै गइरहेको छ। परिवारको कमजोर आर्थिक समस्याले बिपनाले कतिपय दिनमा पेटभर खाना पनि पाउँदैन थिइन्। पोखरा र नेपालगन्जका धेरै मालिकका घरमा कमलरी बस्दा उनले धेरै पीडा सहनु परेको थियो। अहिले उनको पहिचान कमलरीबाट प्रशिक्षक हुँदा आफैलाई उकालो चढेको जस्तो लाग्छ।

८ वर्षको उमेरपछि मालिकको घर पोखरामा ४ वर्ष बिताइन। त्यसपछि घरमा आएर बस्न खोज्दा बिहान साझ हात मुख जोर्न समस्या भयो। परिवारको सल्लाहमै उनले नेपालगन्जमा धेरै मालिकको घरमा भाडा माझिन्। मालिकका घर चाहार्दैमा उनले पढ्न पाइनन्। नेपालगन्जबाट घर फर्केपछि घरको पुनः बासगढीमा बस्ने अर्को मालिकको घरमा काम गर्न पुगिन्। बासगढीका मालिकको घरमा उनी दुई वर्ष बसिन्।

घरमा दिदीको बिहे भएपछि उनलाई केहि सिक्न मन लाग्यो। ‘मैले धेरै दुःख पाए कमलरी बस्दा,’ बिपनाले भनिन्, ‘मेहनतले काम गर्दा दक्षता हासिल गरेँ’, हर्षित हुँदै उनले भनिन्। कमलरी बस्दा दुःख पाए पनि आफ्नो दक्षताले प्रशिक्षकको काम पाउँदा धेरै खुसी भएको उनले सुनाइन्। ‘सीपले गर्दा नै आज आफ्नो पहिचान बनाउन सकेँ’, उनले भनिन्।
‘दिदीको घरमा बस्दा समेत सबै काम गर्न पर्ने बाध्यता थियो उनलाई। तर मालिकको घरमा भन्दा अलिकति सहज थियो। दिदीको घरमा बस्दा अपाङ्गलाई सहयोग गर्ने एक संस्थामा महिनाको चार सय तिरेर केही काम सिकिन्। त्यसपछि टेलरमा काम गर्न जान थालिन्। काम सिक्दै दक्षता हासिल गर्दे गएपछि बिपना कमलरी प्रशिक्षक भनेर चिनिन थालिन्। धेरै दुःख पाएर दक्षता हासिल गरेकी बिपनाले मेहनतले मानिसलाई सफल बनाउँछ भन्ने कुरा राम्रोसँग बुझेकी छन्। टेलरमा पारिश्रमिक लिएर काम गर्ने बिपनालाई यतिखेर विभिन्न संस्थाले सिलाइकटाइको प्रशिक्षक बनाइरहेका छन्।

‘भर्खरै ४० जना मुक्त कमलरीको प्रशिक्षक बनेर काम गरेँ,’उनले भनिन्, ‘जिल्ला शिक्षा कार्यालय, भेरी टे्रनिङ सेन्टर र कमलरी विकास मन्चको सहयोगमा भइरहेको तालिममा मैले जानेको सिकाए।’ आफूले सिक्दा धेरै समस्या भए पनि संस्थाको सहयोगमा सिक्न पाउँनेलाई उनले भाग्यमानी ठान्छिन्। उनलाई आफू सिलाइकटाइको प्रशिक्षक बनेकोमा खुशी लागे पनि पढ्न नपाएकोमा पछुतो छ। ‘काम गरेर बाच्न थालिसके,’उनले भनिन्, ‘चाहना हुँदाहुँदै पढन पाएन त्यहीँ दुःख लाग्छ।’

कमलरी विकास मन्जका जगत थारू भन्छन्, ‘सिर्जनशिलता, दक्षता र काममा लगनशिल हुनु ठूलो संयोग हो। सायद यस्तै संयोग धधवार—९ की बिपनाको हकमा लागू हुन्छ।’ उनको भौतिक सुन्दरता पनि कमी छैन।

साभार : नागरिक पश्चिमेली

One thought on “सीप सिक्दा बदलियो बिपनाको जीवन

  1. बिपना लाइ सफलता मिल्दै जाओस ..शुभकामना
    som135@hotmail .com

Leave a Reply

Your email address will not be published.