लखन चौधरी/कैलाली
कैलालीको थारु समुदायले नाच्ने मुङ्ग्रहुवा नाच लोकप्रिय बनेको छ। सिंगो थारु समुदायमा एउटा मात्रै रहेकोले गदरिया–१ खरुवा खेराका युवा पुस्ताले नाच्ने यो नाचको आकर्षण अति नै बढेको हो।
दाङ जिल्लाको देउखरबाट उत्पत्ति भएको मुङ्ग्रह्वा नाच अहिले कैलालीमा मात्रै सीमित रहेको बताइन्छ। साहित्यकार कृष्णराज सर्वहारीलेे कैलालीको खरुवाखेरामा मात्रै मुङ्ग्रहुवा थारू नाच नाचिने गरेको दाबी गरे।
पश्चिमका थारु समुदायमा एउटामात्रै रहेकाले यो नाच व्यावसायिक समेत बनेको छ। विभिन्न औपचारिक कार्यक्रममा यो नाचलाई प्रायः मानिसले बोलाउन थालिएको उक्त नाचका मन्डरिया (मादल बजाउने व्यक्ति) भागीराम चौधरीले बताए। उनले थारू वा गैर थारू समुदायले आयोजना गर्ने विभिन्न कार्यक्रममा आफूहरुको मुङ्ग्रहुवा नाचलाई प्रस्तुतीका लागि बोलाईने गरेको जानकारी दिए।
कैलाली, कञ्चनपुर, डोटी, दाङ र काठमाण्डौं लगायत विभिन्न जिल्ला पुगेर खरुवाखेराका युवाहरुले यो नाच देखाइसकेका छन्। केही स्थानमा प्रथम भएर पुरस्कार समेत हात पारेको सुनाउँदै मन्डरिया चौधरीले अगाडि थपे–”अचेल कार्यक्रममा नाच प्रस्तुत गरेवाफत निश्चित रुपियाँ समेत लिइरहेका छौं।”
महाभारतको कथासंग सम्बन्धित मुङ्ग्रहुवा थारू नाच वीरताको प्रतिक रहेको स्थानीयहरु बताउँछन्। सामूहिक रुपमा नाचिने यो नाचलाई आफ्नो पौरख देखाउनका लागि नाचिने गरेको चौधरीको बुझाई छ।
स्थानीय कथन अनुसार वनवास गएका बेला पाँच पाण्डवहरुका पत्नी द्रौपदीलाई राजा विराटका मन्त्री किचकले आँखा लगाएका थिए। श्रीमतीलाई आँखा लगाएको भन्दै भीमले आफ्नो गदा (मुङग्रो) ले किचकलाई मारेे। गदाले नै कौरवपक्षका शक्तिशाली दुर्योधनलाई समेत भीमले मारेको सम्झनामा मुङ्ग्रह्वा नाच नाच्ने चलन भएको किंदन्ती थारू समुदायमा रहेको छ।
वीरताको प्रतिक भन्दै यो नाच नाच्ने गरिएको भागीराम चौधरीले बताए। उनले २०४२ सालदेखि नै आफ्नो गाउँमा मुङ्ग्रह्वा नाच नाचिर्दैं आएको जानकारी दिए।
गदरियाबासीले आफ्नो लोकसंस्कृति जोगाउने उद्देश्यले केहीवर्षयता गाउँमा होम–स्टे सञ्चालन गर्दै आएका छन्। होम–स्टे घुम्न आएका पाहुनाहरुले प्रायः मुङ्ग्रहुवा नाच हेर्न रुचाउने गरेको स्थानीय रघुनाथ चौधरीले बताए। उनले नयाँ पुस्ताले पुरानो संस्कृतिलाई सजिलै अँगालेकोमा गर्व लागेको धारणा पनि राखे।
पुरुषले पिठ्यूमा मयूरको प्वाँख बाँधी मुङ्ग्रो (गदा) लिएर नाच्ने भएकाले यसलाई मुङ्ग्रह्वा नाच भनिएको हो। यसमा १४ जना पुरुष र चार जना महिला नाच्ने गर्दछन्। महिलाहरुलाई दुरपट्टी (द्रौपदी) भन्ने गरिन्छ। पहिले–पहिले पुरुष नै महिला बनेर नाँचेकोमा आजभोली महिलाहरु नै दुरट्टी भएर नाच्न थालेका छन्।
मादलको ताल (खोट) मा नाचिने मुङ्ग्रह्वा नाच ५२ स्टेपमा नाच्न सकिन्छ। तर, आफूहरुले २२ स्टेपहरुमा नाचिरहेको रघुनाथ चौधरीको भनाई छ। मुङ्ग्रो नचाउँदै मादलको तालमा नाचिने मुङ्ग्रह्वा नाच तेज गतिमा नाचिन्छ। विशेष गरेर दशैं, दीवापली र माघमा यो नाच नाच्ने चलन रहेपनि गदरियाबासीले जुनसुकै समयमा देखाउँदै आएका छन्।
यो नाचले चितवन, रुकुम, रोल्पा र सल्याणतिर नाचिने लट्ठी नाचसंग धेरैहदसम्म मेल खाने गरेको थारु लोकवार्ता तथा लोकजीवन भन्ने पुस्तकमा उल्लेख छ।
विगत केही बर्षयता युवापुस्ता नै मुङ्ग्रह्वा नाचमा सक्रिय भएकोप्रति खुशी हुदैं दुरपट्टीको रुपमा नृत्य गर्ने हसिना चौधरीले गाउँका युवाहरु पूराना संस्कृतितिर आकर्षित भएको बताइन्।
अधिकांश युवायुवतीहरु पश्चिमा संकृतितिर आकर्षित भइरहेको बेला युवाहरु आफ्नो संस्कृति अंगाल्नु गर्व गर्ने विषय रहेको अर्की नृत्यांगना पावर्ती चौधरीको भनाई छ।