संजय थारु
केही दिनअघि थारु कल्याणकारणी सभाका महामन्त्री आमिरी चौधरीले फेसबुकको भित्तामा कांग्रेसको जिल्ला र क्षेत्रीय अधिवेशनका तस्बिर पोस्ट गर्दै खुसीयाली मनाएको देखेँ। नेपाली कांग्रेसको १३औं महाधिवेशन संघारमा रहँदा थरुहट आनदोलनका धेरै अगुवाहरु यतिबेला जिल्ला र क्षेत्रीय अधिवेशनमा होम्मिएका छन्। कतिपयले प्रतिनिधि चुनिएको खुसीयाली फेसबुकमार्फत् साटिरहेका छन्। उनीहरु खुसी देखेर म भने दुःखित भएको छु। मेरो दुःखित मनले थरुहट आनदोलन र नेपाली कांग्रेसबीच अन्तरसम्बन्ध खोज्न थालेको छ।
उदीयमान थारु लेखिका एवं युवा नेता इन्दु चौधरीको शब्द सापटी लिँदै थरुहट आन्दोलनले समपूर्ण थारुलाई आफ्नो हक, पहिचान र अधिकार स्थापित गर्न एकता गर्ने आन्दोलनको रुपमा परिभाषित गर्नुभएको छ। यथार्त पनि यही हो, थरुहट आन्दोलनले जुनसुकै पार्टीमा रहेपनि, जुनसुकै विचारधारा बोकेपनि, थारु थारुबीच एकता ल्याउने काम गरेको छ।
हाम्रो आन्दोलन नै सरकार केन्द्रीत हुने गर्छ। सरकारमा हुने भनेको प्रमुख दल नेपाली कांग्रेस, नेकपा एमाले र एमाओवादी नै हुन्। पटक पटक यही तीन दलले सरकारको नेतृत्व गरिरहेका छन्। हाम्रो आन्दोलन पनि यही नेतृत्वकर्ताहरुविरुद्ध गर्छौं भन्दा फरक नपर्ला। हाम्रो आन्दोलन कुनै जाति समुदाय, वर्ग, धर्म विशेषविरुद्ध नभइ हाम्रो हक, अधिकार र पहचिना स्थापित गर्नका लागि हो।
थारु र कांग्रेसबीचको सम्बन्ध
थारु समुदाय नेपालकै सबभन्दा पुरानो आदिवासी हो। नेपाली कांग्रेस पनि नेपालको पुरानो पार्टी हो। तसर्थ यस पार्टीमा पहिल्यैदेखि थारु नेताहरु आबद्ध भएको देखिन्छ। परशुनारायण चौधरी एकमात्र व्यक्ति थिए, जो यस पार्टीको महामन्त्री पदसम्म पुग्न सफल भएका थिए। उहाँबाहेक कुनै थारु पार्टीको उच्च तहमा पुग्न सकेको छैन।
पार्टीमा एकै जात ब्राहमण खसको एकाधिकार कायम रहँदै आएको छ, जसको सिकार स्वयं परशुनारायण चौधरीसमेत भएका थिए। परशुनारायण चौधरीलाई प्रधानमन्त्रीको रुपमा प्रस्ताव गरिँदा स्वर्गीय गिरिजाप्रसाद कोइराला र हालः भ्रस्टचार प्रमाणित भइ जेल जीवन भोगिसकेका दाङकै खुमबहादुर खडकाले विरोध गरेका थिए। विभिन्न षड्यन्त्रका कारण थारु समुदायबाट देशको पहिलो प्रधानमन्त्री बन्नबाट परशुनारायण चौधरी चुकेका थिए।
त्यसबेला खुमबहादुर खडकाले सार्वजनिकरुपमै भनेका थिए- ‘के हामी बाहुन खस जात मरेका छौं र थारुको छोरालाई प्रधानमन्त्रीको रुपमा प्रस्ताव पार्टीले गरेको छ?’ गिरिजाप्रसाद कोइरालाले पनि थारुको नाममा चिल्ला कुरा नगरेका हैनन्। कुनैबेला उनी प्रधानमन्त्री हुँदा थारू कल्याणकारिणी सभाको महाधिवेशनमा प्रमुख अतिथि भएर थारूको पगरी लगाएर- ‘यो महाधिवेसनमा म आधा थारू भइसके, अर्को महाधिवेशनमा पूर्ण थारू भएर आउनेछु’ भनेका थिए। तर यस्ता गिरिजाहरु हजारौं आए पनि थारुको स्थान भोटिङ ब्याङ्कको रुपमा मात्र रह्यो। नयाँ संविधान जारी गर्दाका दिनसम्म थारुको मत नेपाली कांग्रेसको सरकार चढ्ने भर्याङमात्र रहनगयो।
देशको चौथो ठूलो जाति थारु हुन्। संविधान सभामा एकचालिस जना थारु सभसद् हुँदा पनि एक जना पनि मन्त्रिमण्डलमा योगय ठहिरिएनन्। १२ जना थारु सभासद त नेपाली कांग्रेसकै थिए। तर नेपाली कांग्रेसको नजरमा नालायक अयोग्य भए। ती सभासदहरु थारुको भोटको एजेन्टको रुपमा देखिए। बरु समानुपातिक छनौट परेका सभासदहरु मन्त्री भए। तर प्रत्यक्ष जितेका थारु सभासदहरुमध्ये एक जना पनि कांग्रेसले मन्त्रिमण्डलमा राखेन।
तसर्थ नेपाली कांग्रेस र थारु समुदायको सम्बन्ध भोटिङ बयाङ्कको रुपमा मात्र रहेको सत्य सबैले स्वीकार्नुपर्छ। थारुलाई भोटिङ ब्याङ्कको रुपमा लिएर सत्तामा चढ्नु परमपराको रुपमा देखिएको छ। सायद त्यसैले होला विजयकुमार गच्छदार, रामजनम चौधरीलगायत थारु नेताहरु नेपाली कांग्रेसबाट बाहिरिए। नेपाली कांग्रेसमा रहेको भए गच्छदार कहिले पनि गृहमन्त्री, उपप्रधानमनत्री बन्ने थिएनन्। यस्तो नीति अवलम्बन गर्नेमा एमाले र एमाओवादी पनि कम छैन। हालको ओली सरकारमा बल्ल तल्ल एमालेले थारुलाई एउटा मन्त्री दिएको छ, त्यो पनि राज्यमन्त्री। एमाओवादीले पनि आशा देखायो तर हालसम्म स्थान दिन सकेक छैन।
थारु कल्याणकारिणी सभाको झापा महाधिवेशनमा तत्कालीन प्रधानमन्त्री तथा कांग्रेस सभापति सुशील कोइरालाका साथमा कांग्रेसका दुई केन्द्रीय सदस्य पद्मनारायण चौधरी र उमाकान्त चौधरी।
थारु आन्दोलनमा कांग्रेसको भूमिका
थरुहट आन्दोलनमा नेपाली कांग्रेसले सकारात्मकभन्दा नकारात्मक भूमिका बढी खेलेको छ। पार्टीमा खस ब्राहमणको एकाधिकार भएकाले केन्द्रीय स्तरमा पनि थारु नेताको बोली चलेको छैन। जिल्ला स्तरका थारु नेताहरु आन्दोलनमा क्षणिक सहयोग गरेपनि केन्द्रीय नेताहरुमाथि ह्वीप जारी गरिएको अवस्था थियो। थारुको पहिचान मेटिनेगरी, थारुको हक अधिकार कुण्ठित गर्नेगरी संविधान जारी हुँदासम्म पनि कांग्रेसका नेताहरु मुख दर्शक बने। अग्रपंक्तिका थारु नेताहरु सुरेन्द्र चौधरीलगायत केही उफ्रे पनि पार्टी अगाडि घुँडा टेके र संविधान जारी भयो। अन्य कार्यकर्ता र नेताहरु भने आन्दोलनलाई कुनै निष्कर्षमा नपुर्याई मैदान छाडेर पार्टीतर्फ फर्किए। उनीहरु थारुको मत संकलन गर्ने दलाल र एजेन्टको रुपमा मात्र रहेको पुष्टि गर्यो।
आन्दोलनविरोधी उनकै पार्टीमा ब्राहमानवादी सोँचका नेताहरु छन्। थरुहट आन्दोलनलाई टीकापुरमा उत्तेजक बनाउने नेपाली कांग्रेसकै शेरबहादुर देउवालगायतका केन्द्रीय स्तरका नेताहरु छन्। सबैभन्दा बढी थारु भएको जिल्ला केलालीको रौँ पनि थारुलाई दिँन्न भन्ने यिनै नेपाली कांग्रेसका शेरबहादुर देउवा हुन्।
थारुलाई अल्पमतमा पारेर थारुमाथि शोषन गर्न र थारुलाई कमैया कमलरी बनाउन कैलालीमा नेपाली कांग्रेसले नै एमाओवादीका लेखराज भट्ट र एमालेका भीम रावलसँग मिलेर अखणड सुदूर जन्माएको हो। यही अखण्ड पक्षधरलाई राजनीतिक र प्रशासनिक सुरक्षा उपलब्ध गराएर थारुमाथि पटक पटक आक्रमण गराउने यही पार्टीको अधिवेसनमा रमाइरहेका छन् थारु नेताहरु।
के उनीहरुले थारुको अधिकार र पहिचानबारे प्रश्न उठाउन सक्लान् महाधिवेशनमा? थारुको अधिकारका लागि गुटबन्दी गर्न सक्ने हिम्मत छ कोही थारु नेतामा? थारुको प्रतिनिधिको मत कसलाई, कैलाली कन्चनपुरको थारुलाई दास बनाउन खोज्ने देउवा पक्षलाई कि सेना प्रहरी परिचालन गरेर थारुको घर जलाउने, थारुमाथि दमन गर्न लगाउने संस्थागत पक्षलाई?
कहिले उसकै पुतला जलाउने र कहिले उसैलाई फूलमाला लगाएर पार्टीको सभापतिमा जिताउन मतदान गर्नु छ भने थरुहट आन्दोलनको नाममा नौटंकी किन? रौतहटको चपुरमा प्रहरी हस्तक्षेप, सप्तरीको कदमाहामा थारु आन्दोलनकारीमाथि मध्यरातमा आक्रमण र बर्दियामा थारु महिला आन्दोलनकारीमाथि दमन गर्न लगाउने तत्कालीन कांग्रेस सरकारको कर्तुत काफी भएन र?
लेखक थारु विद्यार्थी समाजमा आबद्ध छन्।