माघी मूल आयोजक समितिले डा. बाबुराम भट्टराईलाई प्रमुख अतिथि बनाउने भएको छ। शनिबार मूल आयोजक समितिले सानेपास्थित निवास पुगेर भट्टराईलाई प्रमुख अतिथिको निमन्त्रणा दिएको थियो। निमन्त्रणा स्वीकार गर्दै डा. भट्टराईले थारुको मुद्दा सबैभन्दा बढी उठाइरहेकाले महोत्सवमा आउने प्रतिबद्धता जनाए। ‘थारुको मुद्दा सबैभन्दा बढी मैले नै उठान गरिरहेको छु। थारु माघी महोत्सवमा आएर महोत्सव अवलोकन गर्न पाउँदा अत्यन्तै खुसी हुनेछु,’ उनले भने।
मूल आयोजक समितिका संयोजक चन्द्रप्रसाद चौधरीका अनुसार नेपाली फिल्म जगतकी प्रख्यात अभिनेत्री रेखा थापालाई पनि विशिष्ट अतिथिको निमन्त्रणा दिइएको छ। अभिनेत्री थापाले पनि महोत्सवमा आउन अत्यन्त इच्छुक रहेको मूल आयोजक समितिले जनाएको छ।
महोत्सव भब्यरुपमा सफल पार्न मूल आयोजक समितिले विभिन्न समितिहरु बनाएर तयारी गरिरहेको छ। महोत्सवमा थारु परिकारका साथै थारु गीतसंगीत पनि प्रस्तुत गरिने आयोजकले जनाएको छ।