संविधानमाथिको विधेयकका ‘भाग १’ का सबै धारा पारित, धारामा के छ?

CA Nepal

‘नेपालको संविधानको परिमार्जित विधेयक, २०७२’ माथि सदस्यहरुबाट प्राप्त संशोधनलाई संविधानसभाको आजको बैठकमा निर्णयार्थ प्रस्तुत गर्ने क्रम चलिरहेको छ । अहिलेसम्म यस विधेयकको ‘भाग १’ मा रहेका विभिन्न नौ धारा पारित भएका छन् ।

यसअघि १ देखि ४ सम्मका धाराका व्यवस्था पारित भएका थिए भने अहिलेसम्म धारा ९ सम्मका प्रावधान पारित भएका छन् ।

पारित भएको धारा ५ मा ‘सार्वभौमसत्ता, राष्ट्रिय अखण्डता, स्वाधीनता, स्वतन्त्रता, एकता, नेपालीको हक एवम् स्वाभिमानको रक्षा, सिमानाको सुरक्षा, आर्थिक समुन्नति र समृद्धि नेपालको राष्ट्रिय हितका आधारभूत विषयहरू हुने’ उल्लेख छ । सो व्यवस्थामाथि दर्ता गरिएका विभिन्न संशोधन अस्वीकृत भएका छन् ।

सो धारामा श्याम श्रेष्ठ, विश्वेन्द्र पासवान र चीनकाजी श्रेष्ठले संशोधन पेस गर्नुभएको थियो । चीनकाजी श्रेष्ठले दर्ता गरेको ‘स्वाभिमानको रक्षा, नेपालीको हक तथा’ भन्ने शब्दको सट्टा ‘स्वाभिमान, नेपालीको हकहितको रक्षा’ भन्ने शब्दसहितको संयुक्त संशोधन पारित भएको थियो ।

सबै मातृभाषा राष्ट्रभाषा

पारित धारा ६ मा ‘नेपालमा बोलिने सबै मातृभाषाहरु राष्ट्रभाषा हुन्’ भन्ने व्यवस्था छ । यस धारामा लक्ष्मण राजवंशी, कुमार खड्का, जयदेव जोशी, अइन्द्रसुन्दर नेम्वाङले संशोधन पेस गर्नुभएको थियो ।

धारा ७ मा ‘देवनागरी लिपिमा लेखिने नेपाली भाषा नेपालको सरकारी कामकाजको भाषा हुने, नेपाली भाषाको अतिरिक्त प्रदेशले आफ्नो प्रदेशभित्र बहुसङ्ख्यक जनताले बोल्ने एक वा एकभन्दा बढी अन्य राष्ट्रभाषालाई कानुन बमोजिम प्रदेशको सरकारी कामकाजको भाषा निर्धारण गर्ने’ व्यवस्था बैठकबाट पारित भएको छ । सो धारामा १६ संशोधन परेकामा ९ फिर्ता र आठ संशोधन अस्वीकृत भए ।

राष्ट्रिय झन्डा पारित

राष्ट्रिय झन्डासम्बन्धी धारा ८ मा ‘सिम्रिक रङ्गको भुइँ र गाढा नीलो रङ्गको किनारा भएको दुई त्रिकोण अलिकति जोडिएको, माथिल्लो भागमा खुर्पे चन्द्रको बीचमा सोह्रमा आठ कोण देखिने सेतो आकार र तल्लो भागमा बाह्र कोणयुक्त सूर्यको सेतो आकार अङ्कित भएको झन्डा नेपालको राष्ट्रिय झन्डा हो” भन्ने व्यवस्था पारित भएको छ । सो धारामा चार संशोधन परेकामा एक फिर्ता भए भने रामकुमार राई, शिवलाल थापा, यशोदाकुमारी लामाले पेस गर्नुभएका संशोधन अस्वीकृत भए ।

राष्ट्रिय फूल लालीगुराँस, राष्ट्रिय जनावर गाई नै

विधेयकको धारा ९ मा रहेको ‘राष्ट्रिय गानको अनुसूची, नेपालको राष्ट्रिय फूल लालीगुराँस, राष्ट्रिय रङ सिम्रिक, राष्ट्रिय जनावर गाई र राष्ट्रिय पक्षी डाँफे हुने’ व्यवस्था पनि बैठकबाट पारित भयो । सो धारामा १९ संशोधन परेकामा एक फिर्ता भयो भने अन्य प्रस्ताव निर्णयार्थ प्रस्तुत हुँदा बहुमतबाट अस्वीकृत भयो ।

Leave a Reply

Your email address will not be published.