पुस्तक बेचेर उपचार गराउँदै रेशम चौधरी, भेट्न जाँदैनन् राजपा नेता

ढाडको समस्याले वीर अस्पतालमा उपचाररत रेशम चौधरीले आफूद्वारा लिखित पुस्तक (चिरफार) बेचेर उपचार खर्च जुटाइरहेका छन्। कैलाली क्षेत्र नं १ बाट निर्वाचित रेशमको उपचारमा उनको पार्टी  राजपा र सरकारले चासो नेदेखाएपछि भूमिगत रहेको अवस्थामा प्रकाशन गरेको किताब चिरफार बेचेर औषधि उपचार गराइरहेका छन्।

‘औषधि उपचारमा सहयोग पुगोस् भनेर उहाँलाई भेट्न आउने शुभेच्छुकहरुले किताब किनेर लानुहुन्छ। अस्ती अभिनेत्री रेखा थापाले पनि किताब किनेर लग्नुभयो,’ वीर अस्पतालको क्याबिन ५ मा रेशमका भतिजा आलोकले भने ‘जुन पार्टीलाई राष्ट्रिय पार्टी बनाउन थारुहरुले आफ्नो अमूल्य मत दिए। पाँच जना सांसद दिलाए। त्यही पार्टीले थारुको प्रतिनिधिलाई हेँला गर्दैछन्।’

रेशमका भतिजा आलोक चौधरीका अनुसार राजेन्द्र महतो र अनिल झाबाहेक अध्यक्ष मण्डलका कुनै सदस्य पनि अस्पतालमा भेट्न नआएको गुनासो पोखे। ‘यस्तोबेला आफ्नो भनेकै पार्टी र पार्टीका मान्छेहरु हुन्। यस्तोबेला पनि पार्टीका नेताहरु आउँदैनन् भने त्यो पार्टीको नेता वा सांसद हुनुको के ‍औचित्य?,’ भतिजा आलोकले प्रश्न गरे।

डिल्लीबजार जेलमा रहँदासमेत उनलाई राजपाका नेताहरु भट्न नआएको दुखेसो आलोकले पोखे। बरु अन्य राजनीतिक दलका नेताहरु आएर सन्चोविसन्चो सोध्ने गरेको उनले बताए।

विगत १० दिनअघि वीर अस्पतालमा भर्ना भएका उनको स्वास्थ्यमा क्रमिक सुधार भएको सम्बन्धित डाक्टरले बताएका छन्।

Leave a Reply

Your email address will not be published.