दाजु बहिनीको प्रेम प्रतीकका रुपमा रहेको समाचकेवा पर्व रौतहटका थारु समुदायका महिलाहरुले मनाइरहेका छन् । रौतहटको ग्रामिणभेगका किशोर-किशोरीलगायत वृद्ध महिलाहरुले समेत दाजुभाइको दीर्घायुको लागि समाचकेवा पर्ब मनाउदै आएका छन् । गाउघरमा एकत्रित भएका दिदीबहिनीहरुले माटोका विभिन्न मुर्तीहरु समाचकेवा, सतभैया, चुगला, चराचुरुङ्गी, वृन्दावन लगायतका आकृती बनाएर खेल्दै आएका छन ।
पर्ब मनाउने क्रममा महिलाहरु एकत्रित हुदै बाँसको टोकरीमा माटाका निर्मित मूर्तिलगायत पुजा सामाग्री बोकेर गीत गाउँदै चौंवाटो, खुल्ला चौंर वा फुलबारीमा पुगेर पर्वको अन्तिमरुप दिने गर्छन् ।
कात्तिक पूर्णिमासम्म मनाइने यो पर्बअबधिभर दैनिक साझको समयमा दिदीबहिनीले दाजुभाइको प्रशंसाका साथै आशिष दिने खालका सामा गीत गाउने गर्दछन । यो पर्बप्रतिको आकर्षण कायम राख्न सबैटोलका महिलाहरु सक्रिय हुन थालेका छन । स्थानीय बिनोद चौधरीका अनुसार काँचो माटोले बनाइएका मानव, चरा र जनावर लगायतका मूर्तिलाई ‘सामा’ र सोही सामालाई आगोमा पकाएपछि त्यसलाई ‘चकेबा’ मानेर यो पर्ब खेलिदै छ ।
ऐतिहासिक र किम्बदन्ति जोडिएको पर्बले दिदीबहिनी र दाजु भाइको प्रेमभावलाई झल्काएको पाइन्छ । द्वापरयुगका भगवान कृष्णले आफ्नो छोरी सामा लाई श्राप दिएर ‘चरा’ बनाएको र पछि सामालाई भाइ साम्बले चराबाटमुक्त गराएकाले भाइ साम्बलाई ‘चकेवा’को नामाकरण गरिएको ग्रन्थहरुमा उल्लेख छ । त्यसपछि सामाचकेवा पर्वको रुपमा तराईमा थारु समुदायलगायतका मैथिलानी महिलाले मनाउन थालेको भनाई रहेको छ ।
चन्द्रपुर–८ सन्तपुर, अल्टोकीलगायतका स्थानमा सामाचकेवा पर्ब मनाउदै आएका महिलाहरुले परम्परागतरुपमा मनाउदै यो पर्ब मनाउने दाजु भाईको दिर्घायु हुने बिश्वास रहेको बताएका छन ।
– सञ्जय कार्की/रौतहट