मधु साही/कोहलपुर।
बर्दियाकी ३० वर्षीया तारा चौधरी २ वर्षअघिसम्म गृहिणी मात्र थिइन् । बसचालक पतिले कमाएको आम्दानीले घर खर्च चलाउन मुस्किल थियो । गुजारा चलाउन समस्या भएपछि तारालाई पनि आयआर्जनको बाटो रोज्न मन लाग्यो । पतिले सुरुमा त काम गर्न दिएनन् । ‘श्रीमतीले काम गरे आफूलाई लाज हुन्छ भन्नुहुन्थ्यो,’ उनले भनिन्, ‘धेरै सम्झाएपछि रिक्सा चलाउने अनुमति दिनुभयो ।’
२ वर्षदेखि अटोरिक्सा चलाइरहेकी तारा अहिले घर खर्च धान्ने भएकी छन् । २/४ हजारका लागि श्रीमानको मुख ताक्नु नपर्ने भएको उनले सुनाइन् । छोराछोरीको स्कुल शुल्क, लत्ताकपडा र खाजा खर्चसमेत आफैंले बेहोर्छिन् । छोराछोरीलाई स्कुल पुर्याएर बिहान ११ बजे रिक्सा चलाउन कोहलपुर आउँछिन् । साँझ ५ बजे घर पुगिसक्छिन् । घर चाँडै गएर खाना पकाउने जिम्मा पनि उनकै हो । ‘घरको काम सकेर रिक्सा चलाउँछु,’ उनी भन्छिन्, ‘दिनभरि बस्नुभन्दा २/४ पैसा आम्दानी हुन्छ ।’
२५ वर्षीया आरती चौधरी काम खोजिरहेकी थिइन् । ज्यालामजदुरी गरी गुजारा चले पनि उनको मन शान्त थिएन । दमका रोगी बाबुको उपचार खर्च जुटाउन निकै मजदुरी गर्नुपथ्र्यो । रिक्सा चलाउन थालेपछि यी समस्या समाधान भएका छन् । ‘अहिले रिक्सा चलाएर महिनाको २० हजार कमाउँछु,’ उनले भनिन्, ‘ज्याला मजदुरीभन्दा यो सजिलो पनि छ ।’ २ लाख रुपैयाँ बुझाएर किस्तामा अटोरिक्सा किनेकी उनले १ वर्षमा ऋण चुक्ता गरिन् । कर्ममा विश्वास राख्ने जयरूपा, आरती र ताराजस्ता अटोरिक्सा चालक देखेर अरू महिला पनि प्रेरित भएका छन् । यहाँका सहरमा यस्ता चालकको संख्या दिन प्रतिदिन बढिरहेको छ ।
कान्तिपुर दैनिकबाट