मर्स्याङ्दीको भेलले बर्दियाका बलिराम र लक्ष्मण थारुलाई बगायो

लमजुङमा अविरल वर्षाका कारण आएको बाढी पहिरोमा परी मृत्यु हुनेको संख्या चार पुगेको छ । ३ जना हराइरहेका छन् भने १२ जना घाइते भएको प्रहरीले पुष्टि गरेको छ ।

लमजुङको हिमाली जिल्ला मनाङसँग सीमा जोडिएको मस्र्याङ्दी गाउँपालिकामा बाढी पहिरोले बढी नोक्सान गरेको छ । मृतक सबै मर्स्याङ्दी गाउँपालिकाका बासिन्दा भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मर्स्याङ्दी गाउँपालिका–३ अर्खलेमा बुधबार दिउँसो आएको पहिरोमा हराएकी एक वृद्धा बिहीबार बिहान मृत अवस्थामा फेला परेपछि मृत्यु हुनेको सङ्ख्या चार पुगेको हो ।

पहिरोमा परी बेपत्ता भएकी अर्खलेबसीकी ७० वर्षीया ललितमाया गुुरुङको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रनाउ यादव ढकालले बताए । उनका अनुसार मस्र्याङ्दी गाउँपालिका– ४ श्रीचौरकी ४७ वर्षीय विष्णुकुमारी गुरुङको पनि मृत्यु भएको छ । उनी घरसँगै रहेको गोठमा रहेका बाख्रालाई पहिरोबाट बचाउन लाग्दा पहिरोमा पुरिएको प्रत्यक्षदर्शीले बताएका छन् । उनको गोठमा रहेका ७ वटा बाख्रालाई पनि पहिरोले पुरेको छ ।

अन्य मृतकमा मृत्यु हुनेमा मर्स्याङ्दी गाउँपालिक– ३ खुदी स्थित पल्लोटारीकी ६५ वर्षीया अतिरुपा थापा, उनकी १० वर्षीया नातिनी शिरिषाको पनि निधन भएको बुधबार नै पुष्टि भएको हो । अतिरुपा र शिरिषा पहिरो छल्न भाग्दै गर्दा पहिरोले पुरिएका थिए ।

बाढी पहिरोका कारणले घाइते भएका १२ जनालाई विहीबार विहान नेपाली सेनाको हेलिकप्टरले उद्दार गरी जिल्ला सदरमुकाम बेसीशहर ल्याएको थियो । तीमध्ये एकजनाको अवस्था जटिल भएका कारण चितवनस्थित पुरानो किएफमा रिफर गरिएको प्रनाउँ ढकालले बताए। उनका अनुसार ३ जनाको स्थानीय जिल्ला अस्पतालमा उपचार भइरहेको छ र बाँकी प्रार्थमिक उपचार पछि घरमा फर्किएका छन् ।

ललितकलालाई तोप्रोखोलामा आएको बाढीले बगाएको हो । उनी विष्णुकुमारीको बाख्रा चराउन जाँदा पहिरोमा परेकी हुन् । उनका ४० बाख्रामध्ये १३ वटा मरेको अवस्थामा फेला परेको छ भने २७ वटा फेला पर्न नसकेको बताइएको छ ।

मर्स्याङ्दी नदीमा परी बुधवार बगेका दुईजना अझै बेपत्ता छन् । बेसीशहर नगरपालिका– १० चितिको रामचोक बेसीमा निर्माणाधीन तल्लो दोर्दी जलविद्युत् आयोजनाका श्रमिक बलिराम चौधरी र लक्ष्मण थारूलाई मर्स्याङ्दीको भेलले बगाएको हो । चौधरी र थारु दुवै बर्दिया जिल्लाको ठाकुरद्वार नगरपालिकाका स्थायी बासिन्दा हुन् ।

मर्स्याङ्दी गाउँपालिका– ४ नासकुचेका ५५ वर्षीया राजु लामा स्थानीय तोप्रो खोलामा आएको बाढीमा बेपत्ता भएका छन् । बाढीले १ ट्याक्टर, ३ वटा मोटरसाइकल, एउटा मिनीट्रक र एउटा जीप बगाएको छ । बाढी पहिरोले मस्र्याङ्दी गाउँपालिका ३, ४, ५ र ६ का क्षेत्रमा बढी क्षति पुराएको छ ।

उनीहरुलाई उद्धार गर्न गएका प्रतिनिधिसभा सदस्य देवप्रसाद गुरुङ, पूर्व सांसद जमीन्द्रमान घले, गृहमन्त्रालयको विपद् महाशाखाकी सहसचिव इन्दु घिमिरेसहितको टोली हेलिकप्टरमार्फत घटनास्थल पुगेका थिए । पहिरोमा फसेका सर्वसाधारण र पर्यटकको उद्धारका लागि गएका उनीहरु हेलिकप्टर अवतरण गर्ने स्थान अभाव भएपछि फर्किएका हुन् ।

 

Leave a Reply

Your email address will not be published.