नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)ले हरेक वर्ष प्रदान गर्दै आएको ‘आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार’ मार्फत यस वर्ष चार पत्रकार पुरस्कृत हुने भएका छन् ।
अनलाइनतर्फ उजिर मगर, टेलिभिजनतर्फ भैरव आङ्ला, छापातर्फ छेटु शेर्पा र रेडियोतर्फ बिमला चौधरी पुरस्कृत हुने भएका हुन् । पुरस्कार छनौट समितिको सोमबार बसेको बैठकले गरेको पुरस्कार छनौट सम्बन्धी मंगलबार बसेको फोनिज सचिवालय बैठकले अनुमोदन गरेको हो ।
२०५२ सालमा हाँक साप्ताहिकबाट पत्रकारिता सुरुवात गरेका मगरले महिमा साप्ताहिक, कान्तिपुर दैनिक र नागरिक दैनिकमा लामो समय काम गरेका छन् । हाल एभरेष्टदैनिक डटकममा कार्यरत मगर नेपाल पत्रकार महासंघका निवर्तमान महासचिव हुन भने फोनिजका सल्लाहकार समेत हुन् ।
यसैगरी, २०५६ सालमा मिराक साप्ताहिकबाट पत्रकारिता गरेका आङ्लाले न्यूज टाइम्स साप्ताहिक, मर्निङ पोष्ट दैनिक, खबर पत्रिका साप्ताहिक, भूगोल साप्ताहिक, धरान टाइम्स दैनिक, सयपत्री दैनिक र सप्ताकोसी एफएममा काम गरिसकेका छन् । सुनसरीबाट एबीसी टेलिभिजनमा काम गरिरहेका आङला धरानको विजयपुर एफएमका कार्यक्रम संयोजक पनि हुन । उनले लिम्बू भाषामा रेडियो कार्यक्रम उत्पादन तथा प्रशाणरण गरेर मातृभाषा विकासमा समेत योगदान पुर्याएका छन् ।
यस्तै, २०६३ सालदेखि ब्लाष्ट टाइम्स दैनिकबाट पत्रकारिता सुरु गरेका शेर्पाले गोरखापत्र दैनिक, सगरमाथा टेलिभिजन र न्यूज २४ टेलिभिजनमा काम गरिसकेका छन् । हाल अन्नपूर्ण दैनिकमा कार्यरत शेर्पा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य समेत हुन् ।
पुरस्कृत हुने विमला चौधरीले २०६२ सालदेखि पत्रकारिता सुरु गरेकी हुन् । उनले रेडियो तुलसीपुर, रेडियो बागेश्वरी लगायतमा काम गरिसकेकी छन् । हाल बाँकेको नेपालञ्ज स्थित रेडियो सदभावमा कार्यरत चौधरीले पत्रकारिता जीवनको सुरुवातदेखि नै थारु भाषा विकासमा योगदान पुर्याउँदै आएकी छन् ।
आउँदो २७ गते फोनिजको स्थापना दिवसको अवसरमा हुने कार्यक्रममा उनीहरुलाई पुरस्कार प्रदान गरिनेछ । पुरस्कारको राशी जनही ४० हजार रुपैयाँ रहेको छ । स्थापना दिवस तथा पुरस्कार वितरण २७ गते दिउँसो १ बजे अनामनगरमा आयोजना गरिनेछ ।