अबिरल वर्षाले कैलालीको भजनी नगरपालिकाका सयौं घर डुबानमा

लखन चौधरी/कैलाली।
अबिरल वर्षाले कैलालीको भजनी नगरपालिका क्षेत्रका करीब सयौं घर डुबानमा परेका छन् । जिल्लाको बाढी प्रभावित क्षेत्रको रुपमा चिनिने भजनी क्षेत्र आइतवार रातिदेखि परेको अविरल वर्षाले डुबानमा परेको भजनी नगरपालिकाका प्रमुख शेरबहादुर चौधरीले जानकारी दिए ।

उनका अनुसार भजनी नगरपालिकाको वडा नम्बर ३ को पकरियापुर, वडा नम्बर ५ को लौबास्ता, कुटीपुर, लालबोझी, वडा नम्बर ७ को सिराधानी बस्ती, गणेशमान मुक्तकमैया वस्ती, वडा नम्बर ८ को काँडाढिक र वडा नम्बर ९ को खुरखुरिया र ओखरपुर वस्ती डुबानमा परेको हो ।

स्थानीय कान्द्रा, मोहना, पथरैया र काँडा नदीमा आएको बाढीले वस्ती डुबानमा परेको नगर प्रमुख चौधरीले जानकारी दिए । नदीको पानीको बहाब बढ्ने क्रम जारी रहेको बताउँदै उनले सुरक्षित स्थानमा उद्दार कार्य जारी रहेको जनाए । हाल उक्त क्षेत्रमा भजनी नगरपालिका, नेपाल रेडक्रस, नेपाल प्रहरी, सशस्त्र प्रहरीको टोली उद्दारमा खटिएको छ ।

जिल्लामा उच्च सतर्कता

वर्षात्को समयमा हुन सक्ने सम्भावित बाढी, पहिरो, चट्याङ् लगायत प्राकृतिक प्रकोपको जोखिमबाट जोगिन तथा जोखिम न्यूनीकरणको लागि कैलालीमा उच्च सतर्कता अपनाइएको छ । बाढी र पहिरो प्रभावित क्षेत्रमा आवश्यक जनशक्तिसहित सुरक्षा निकाय तथा उद्दार टोली, राहात वितरण टोली, सम्बन्धित सरोकारवाला निकाय लगायतलाई तयारी अवस्थामा रहन जिल्ला प्रकोप उद्दार समिति कैलालीले निर्देशन दिएको छ ।

समितिको कार्यवाहक संयोजक समेत रहेका सहायक प्रमुख जिल्ला अधिकारी जनकराज भट्टले जिल्लास्थित पानीको बहाव उच्च रहने तथा मुख्य–मुख्य नदीमा पानीको बहाव मापनको लागि उपकरणसहित जनशक्ति तयारी अवस्थामा राखेको जानकारी गराए ।

उनको अनुसार जिल्लाको मोहना, कर्णाली, घुराहा, कन्द्रा, कटैनी, पथरिया, शिवगंगा, मनहरालगायत १६ वटा नदीमा बाढीको पूर्व सूचना प्रणाली तथा वर्षा मापण केन्द्र एंव नदीको चेतावनी एंव खतरा तह मापणको लागि जनशक्ति तयारी अवस्थामा राखिएको छ ।

हाल कर्णाली, कन्द्रा, मोहना, खुटिया नदीको पानीको सतह मापणको लागि ‘पानी सतह मापण बोर्ड’ जिल्ला प्रशासन कार्यालयमै चालू अवस्था राखिएको सहायक प्रजिअ भट्टले जानकारी दिए । ‘यदि पानीको सतह खतराको अवस्थामा पुग्यो भने पानी सतह मापण केन्द्रमार्फत तत्काल सबै सुरक्षा निकायलाई जानकारी हुन्छ, सँगै बाढी प्रभावित क्षेत्रका स्थानीयलाई खतराको संकेत सन्देश स्वरुप साइरन बजाउने काम हुनेछ,’ उनले भने, ‘साथै सञ्चारमाध्यममार्फत् पनि बाढी तथा प्रकोप सम्बन्धी जनचेतनामूलक सूचना प्रवाह भइरहेको छ ।’ समितिले जिल्ला आपतकालीन कोषमा १ करोड बढी रकम जगेडा रहेको जनाएको छ ।

यसैबीच, समितिले दैवी प्रकोप जतिबेला पनि जान सक्ने भएकाले सर्वसाधारणलाई सतर्क रहन अनुरोध समेत गरेको छ । वर्र्षा वा पानीको सतह खतरा अवस्थामा पुगेको खबर सम्प्रेषण भएसँगै संकटासन्न क्षेत्रका वासीलाई सुरक्षित र उचो ठाउँमा सर्न अनुरोध गर्दै आवश्यक नागरिकता, लालपूर्जा, शैक्षिक प्रमाणपत्र, पेन्सनपट्टा लगायत कागजात, तयारी खाना सुरक्षित र तयारी अवस्था राख्न सूचना जारी गरेको छ भने पशुचौपायाको दाम्लो फुकाउन या सुरक्षित स्थानमा सार्न पनि अनुरोध गरेको छ ।

Leave a Reply

Your email address will not be published.