यसकारण भत्कियो ‘रामजनम किल्ला’

दिलबहादुर छत्याल/नागरिकन्युज।
सालपछि अनवरतरूपमा संसद भवनभित्र छिर्ने भाग्यमानी नेतामध्येका एक हुन रामजनम चौधरी । चुनावी जोडघटाउ र रणनीतिमा अत्यन्त कुशल मानिने चौधरीले २०४८, २०५१ र ०५६ सालमा कैलाली क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसबाट प्रतिनिधिसभा सदस्य निर्वाचन जीते । ०५१ सालमा एमालेको लहर चलेको बेला पनि उनले शानदार जित हात पारे । ०६४ सालमा चुनाव लड्दा जीत सुनिश्चित नहुने बुझेपछि विजय गच्छदारको पार्टीमा प्रवेश गरेर समानुपातिक कोटाबाट उनी सभासद चुनिए ।
२०७० सालमा दोस्रो संविधानसभाको चुनावमा फोरमबाट कैलाली क्षेत्र नम्बर ३ बाट चुनाव जीते । अनवरतरूपमा सासंद हुँदै आएका रामजनमले पहिलोपटक पराजयको स्वाद चाख्नु परेको छ । कैलाली क्षेत्र नम्बर ३ बाट माओवादीका गौरिशंकर थारूसँग उनी पराजित भएका छन् । उनी भूमिसुधार र स्वास्थ्य गरी दुई पटक मन्त्री बनेका छन् ।

रामजनम चौधरीको बलियो प्रभाव रहेको जोशीपुर र भजनीका दुई वटा वडा अहिले क्षेत्र नम्बर १ मा गाभिएका छन् । आन्दोलन गराउन लगाउने रामजनम चौधरीले टीकापुर हत्याकाण्डमा पक्राउ परेकालाई सरकारमा मन्त्री बनेर पनि पहल नगरेको भनेर असन्तुष्टि रहेको छ । ‘सोझा साझा थारू समुदायलाई उचालेर आन्दोलन गर्न लगाउने, आन्दोलनका क्रममा भएको टीकापुर घटनाको आरोपमा निर्दोष जेल पर्दा पनि रामजनमले कुनै पहल नगरेर मन्त्री खान गएकाले उनलाई थारू समुदायले मन पराउन छाडेका हुन्,’ एक स्थानीय थारूले बताए ।

थरुहटलगायत थारुका पहिचान र अधिकारका मुद्दा छाडेर नेपाली कांग्रेसमा गएकोमा पनि थारू समुदायको असन्तुष्टि रहेको स्थानीय बताउँछन् । उता गौरीशंकर थारूले कृषिमन्त्री हुदाँ प्रधानमन्त्री कृषि आधुनीकरण परियोजनाअन्तर्गत किसानका लागि धेरै कार्यक्रम त्यस क्षेत्रमा लगेका थिए । ‘गहुँ, जोनलगायत किसानलाई फाइदा हुने काम गरेकाले स्थानीय उनीप्रति खुसी छन्,’ स्थानीय लटुवा चौधरीले भने ।
क्षेत्र नम्बर ३ मा गौरीशंकर थारू २४ हजार ८७३ मत ल्याएर प्रतिनिधिसभा सदस्यमा विजयी भए । उनले रामजनम चौधरीलाई ४ हजार ४ सय मतान्तरले पराजित गरे । रमजनम चौधरीले २० हजार ४७३ मत प्राप्त गरे ।

गौरीशंकर थारू यसअघि, पुष्पकमल दाहाल नेतृत्वको सरकारमा कृषिमन्त्री भएका थिए । कैलालीको बसौटी निवासी उनी माओवादीले थालेको तत्कालीन शसस्त्र युद्धमा छापामार लडाकु थिए ।

प्रदेशसभा १ मा माओवादी केन्द्रकै उम्मेदवार वीरमान चौधरी ११ हजार ८५९ मत पाएर विजयी भए । उनका निकट्तम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका पुरन चौधरीले ९ हजार ३४३ मत प्राप्त गरे । प्रदेशसभा २ मा एमालेका अमरबहादुर साउँद ११ हजार ८७७ मत प्राप्त गरेर विजयी भए । उनका निकट्तम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका लक्ष्मण शाहीले ७ हजार ४९३ मत प्राप्त गरे । कैलाली क्षेत्र ३ थारू समुदायको सबैभन्दा बढी बाहुल्यता रहेको क्षेत्र हो ।

Leave a Reply

Your email address will not be published.