सुकुम्बासीलाई लालपूर्जाको ग्यारेन्टी गर्ने प्रदेश उम्मेदवार चौधरीको प्रतिबद्धता

शिव चौधरी/भैरहवा।
संयुक्त बाम गठबन्धन रुपन्देही क्षेत्र नं. ३ प्रदेश सभा २ का एमाले उम्मेदवार तुलसीप्रसाद चौधरीले सुकुम्बासीलाई लालपुर्जाको ग्यारेन्टी बाम गठबन्धनले मात्रै गर्ने बताएका छन्। बुधबार क्षेत्रअन्तर्गत पर्ने बुटवल उपमहानगरपालिका वडा नं. १९ मा आयोजित भेलालाई सम्बोधन गर्दै चौधरीले २०५१ सालमा एमाले नेतृत्वको सरकार हुँदा रुपन्देहीका ६ हजार बढी सुकुम्बासीलाई लालपुर्जा वितरण गरेको स्मरण गर्दै चौधरीले त्यसपछिको समयमा काँग्रेस र राप्रपाको कारण लालपुर्जा वितरण गर्न नसकिएको बताए।

‘हामीले सुकुम्बासीलाई लालपुर्जा, भूमिहीनलाई भूमि र घरबारविहीनलाई जनता आवासअन्तर्गत घर प्रदान गर्न प्रयास गरिरहेको थियौं,’ उनले भने– ‘हामीले जनहीतमा जे–जे काम गर्छौं कांग्रेस र राप्रपाको सरकार बन्यो कि निर्णय उल्टाइदिन्छ।’

उनले क्षेत्रलाई सम्बृद्ध बनाउन आफूहरु लागि पर्ने बताउँदै जनमतको अपमान गर्ने कांग्रेस राप्रपालाई सबैले दण्डित गर्नु पर्ने बताए । मोतिपुर औद्योगिक क्षेत्र निर्माण गर्दा अधिग्रहण पर्ने र घरबारविहीन हुनेलाई उचित क्षतिपूर्ति र आवासको व्यवस्था गठबन्धनले गर्ने जनाउँदै चौधरीले आफूले जिते जनतामाझ गरेको प्रतिबद्धता पूरा गर्ने बताए।

बुधबारै क्षेत्रअन्तर्गत पर्ने रानीबारी, पोखराबारी, पञ्चनगर र रानीपुरमा आयोजित छुट्टाछुट्टै भेलालाई सम्बोधन गर्दै चौधरीले स्थानीय तहमा सचालित सरकारी तथा गैरसरकारी विद्यालयहरुमा अगंग्रेजी माध्यमलाई प्रोसाहित गर्न एक विद्यार्थी एक अनुसन्धान, एक विद्यालय एक आविस्कारको नारालाई क्रमशः लागू गर्ने बताए । उनले सबै भाषा, धर्म, संस्कृति, जातजातिको अधिकारको सुनिश्चितता गर्न आफ्नो क्षेत्रबाटै अभियान सञ्चालन गर्ने बताए ।

Leave a Reply

Your email address will not be published.