किशोर चौधरी (सरिखाँ)।
सप्तरी जिल्लाको कृष्णाश्रवण घर भई काठमाडौं बस्दै आएकी थिइन् ललिता कुमारी चौधरी । २२ वर्ष पुगेर २३ वर्षमा टेकेकी भर्खर कलकलाउँदो उमेरकी ललिता ५ महिना अगाडिमात्रै ओमप्रकाश चौधरीसंग वैवाहिक बन्धनमा बाँधिएकी थिइन् । हासीखुसी नै वितेको थियो जीवन । तर ती खुशी लामो समयसम्म टिक्न सकेन जब भदौ १७ गते ललिताको पेट दुख्यो त्यसपश्चात विस्तारै खुशी लुटिदै गयो । पेट दुखेसंगै ललितालाई नजिकैको अस्पताल अर्थात ललितपुरको ग्वार्को स्थित किष्ट मेडिकल कलेजमा भर्ना गर्यो ।
भर्नासँगै ललिताको उपचार प्रक्रिया शुरु पनि भयो । ललिताको पेटमा अर्थात मृगौलासंगै ढुङ्गा टाँसेको रहेछ अझ सामान्य भाषामा भन्दा पत्थरी रहेछ । विज्ञान र प्रविधिको युग न हो नेपालले पनि ठुलै फड्को मारेको छ । यही देशमा भएका अस्पतालहरुले कलेजो, मृगौला लगायत विभिन्न अंगहरु प्रत्यारोपण नगरेको होइन । पत्थरी त झन जुनसुकै अस्पतालमा पनि अहिले सहज तरिकाले नै उपचार हुने गरेका छन् । ललिताका परिवारले पनि पत्थरीको सहजै उपचार हुन्छ भन्ठानेर किष्ट मेडिकल कलेजमा भर्ना गराएका थिए ।
भिडियो हेर्नुस्:
भर्ना भएको एक हप्तामै पत्थरीलाई निकाल्न लेजर अप्रेशन गरेका थिए । अप्रेशन पश्चात पनि ललिता विस्तारै शिथिल हुदै गएका थिए । अप्रेशन गरेको दुई हप्तापछि एउटा मृगौलामा संक्रमण देखियो भन्दै डाक्टरले त्यो मृगौला निकाल्न सुझाब दियो । त्यो मृगौला निकाले विरामी निको हुन्छ भन्दै आश्वासन दिएका थिए । निको हुने भएपछि परिवारले पनि मृगौला निकाल्न सहमति जनाए र त्यसपश्चात परिवारसंगको सहमति पछि संक्रमित मृगौला पनि निकाल्यो । मृगौला निकाले पश्चात निको हुने भनिएकी ललिताको अवस्था दिनप्रति दिन विग्रीदै गयो । दुईवटा मृगौला हुँदाको अवस्था र एउटा मृगौला भएको अवस्थामा आकाश जमिनको फरक देखा पर्यो । पिसाब पनि रोकियो अवस्था झन झन जटिल बन्दै गयो । विरामी पुर्ण रुपमा निको हुन्छ भनेर ढाडस दिने डाक्टरहरु पनि आफ्नो अडान र रटानमा अडिग नै रहे र ढाडस दिई नै रहे । दिनप्रति दिन अवस्था बिग्रिदै गएको ललिता अन्ततः अस्पताल भर्ना भएको ४४ औ दिनमा अथार्त असोज ६ गते सधैंका लागि विदा भए ।
अप्रेशन गर्नुपुर्व विरामीको अवस्थाबारे अस्पताल प्रशासनले कुनै जानकारी नगराएको, मृगौलामा पिप भएको कुरा लुकाएको र सिटि स्कान समेत नगरेको पीडितहरुको आरोप छ । उनहरुले भर्ना भएको एक हप्तामै लेजर प्रविधिबाट अप्रेशन गरेको र विरामीलाई सोही दिनदेखि भेन्टिलेटरमा राखेको तर कुनै सुधार नभएको उनीहरुको आरोप छ । पटक पटक अर्को हस्पिटलमा रेफर गर्न अनुरोध गर्दा पनि सुधारोन्मुख हुँदै छ भन्दै आलटाल गरेर झुलाएको पीडितहरुको आरोप छ । झिकिएको मृगौला र मृतकको रिपोर्ट अहिले सम्म अस्पताल प्रशासनले नदिएको आरोप लगाएका छन् । उता अस्पताल प्रशासन र पीडित पक्ष पटक पटक बार्तामा बसेपनि कुनै ठोष निश्कर्ष निश्कन सकेको छैन् ।
ललिता मरिन या ललितालाई मारिन यतिबेला बहसको विषय बनेको छ । सामान्य अवस्थामा रहेकी ललितालाई आज पत्थरीको अप्रेशन नगरेको भए उनी मर्थिन या अहिले पनि जिवितै रहने थिईन त्यो पनि चासोको वियष बनेको छ । अझै पत्थरीका विरामीहरु कति दिनसम्म ललिता जस्तै ज्यान गुमाउनुपर्ने हो ? के हाम्रो देशका अस्पतालहरुमा पत्थरीको पनि सहज उपचार हुन सक्दैन ? यदि सक्दैन भने, पुर्वाधारको अभाव छ भने सम्बन्धन किन के का लागि दिने ? ललिताको मृत्युले यावत प्रश्न खडा गरेको छ यतिबेला ।
हो उनी मरेर गईन अब फर्केर आउदिनन् पनि तर के ललिताहरुलाई यसरी नै मारिरहने हो ? आज एउटा ललिता मरिन भोली पत्थरी भएका अर्की ललिता नमर्ने ग्यारेन्टी कसले गर्ने ? ललिता त उदाहरणका पात्र मात्रै हुन् । हाम्रै देशका नाम कहलिएका कयौ अस्पतालको किष्ट मेडिकल कलेजकै हालत छ । सामान्य नाकमा समस्या आउदा मर्नुपर्ने, सिटामोल खाएर निको हुने ज्वारो अस्पतालमा चेकअप गर्न जाँदा मर्नुपर्ने, हात मर्किदा, घँुडा मर्किदा पनि मर्नुपर्ने, सामान्य शल्यक्रिया गर्दा पनि मर्नुपर्ने लगायत सामान्य आदि ईत्यादी विरामीहरु मर्नुपर्ने बाध्यता हाम्रै देशको अस्पतालमा छन् । यी समस्याहरुको समाधान कस्ले गरिदिने जनजनको प्रश्न छ ?
आज लिलिताको परिवार शोकमग्न छन् । ललितालाई न्याय दिनका लागि अस्पताल प्रशासनसंग भोकै प्यासै लडीरहेका छन् उनको परिबार । अन्तिम संस्कार पनि भएको छैन ललिताको । शनिबार दिउसो मृत्युबरण गरेकी ललिताको शव अझै अस्पताल प्रशासनकै कब्जामा छ । खोई कसरी गर्ने अन्तिम संस्कार पनि । शनिबार पीडित पक्ष र अस्पताल प्रशासनसंग छलफल पनि भयो तर निश्कर्षबिहिन बन्यो त्यो छलफल पनि । आईतबार पनि छलफल भयो त्यो पनि अर्थहिन । खोई, अन्यायमा परेकाहरुलाई न्याय कुन निकायले दिलाईदिने की यसरी नै शक्ति र पहँुचको आडमा ललिताहरुलाई मारिरहने ?
हाम्रो भन्नु यति हो घटनाको निश्पक्ष छानविन हुनुपर्छ पीडितलाई न्याय दिनुपर्छ, दोषीलाई कारवाहीको दायरामा ल्याउनु पर्छ । अस्पताल जस्तो संवेदनशिल क्षेत्रमा फेरी पनि कसैको ज्यानमाथि खेलवाड नगियोस् ।