कारी महतो/चितवन
आज भन्दा ९ वर्ष अगाडि फागुन २२ गते थरुहट आन्दोलनका क्रममा सुरक्षाकर्मीको गोली लागी घाइते भई हालसम्म कष्टकर जीवन बिताईरहेका रत्ननगर नगरपालिका वडा नं. ७, सिसुवार, चितवनका सन्जीत महतोलाई सहयोग गर्ने उद्देश्यले चौधरी फिल्म प्रोडक्सनमा बनेको चितवनको थारु भाषाको पहिलो फिल्म “कलपाना” को च्यारिटी शो हुने भएको छ । उक्त कुरा आज भएको पत्रकार सम्मेलन मार्फत सन्जीत महतो राहत कोषका संयोजक शरद कुमार महतो र अभियन्ताहरुले जानकारी दिएका हुन् । सौराहाको गैंडाचोकमा रहेको न्यू थारु कल्चरल हाउसमा असोज ७ गते ११ बजेदेखि उक्त च्यारिटी शो गर्ने कुरा आयोजकले बताए । अहिले धमाधम टिकट बिक्री भैरहेको र टिकट लिनेहरुले फिल्म हेर्न भन्दा पनि सन्जीतलाई सहयोगको भावनाले टिकट लिएको आयोजकले जनाए । फिल्म सुरु हुनुभन्दा अघि दर्शकका लागि केही सांगीतिक प्रस्तुति समेत रहने आयोजकले जनाएका छन् । गायन क्षेत्रमा राष्ट्रिय स्तरमै बेग्लै छवि बनाएका गायक मनोज महतो र अमित सिंह चौधरीको समेत प्रस्तुति रहनेछ । उनीहरुको सांगीतिक प्रस्तुतिपछि मात्रै फिल्म सुरु गरिनेछ । थारु भाषासंगै नेपाली भाषाका गीत गाएर दर्शकलाई मनोरञ्जन दिइनेछ ।
२०६५ सालमा घाइते भएका सन्जीत महतोको स्वास्थ्य उपचार हाल भरतपुरको एलाइभ हस्पिटल तथा ट्रमा सेन्टरमा भई रहेको छ । सन्जीतको दिगो आर्थिक व्यवस्थापनका लागि देश विदेशबाट आर्थिक सहयोग आउने क्रम जारी छ । हालसम्म करीब अढाई लाख संकलन भैसकेको छ । च्यारिटी शो बाट राहत कोषमा करीब दुई लाख रुपैयाँ संकलन गर्ने आयोजकले लक्ष्य लिएका छन् । देश विदेशबाट प्राप्त भएको रकम सनराइज बैंकको सन्जीत महतोको नाममा खोलिएको खाता नं. ०१७०३९९५९२२०५००१ मा रकम जम्मा भैरहेको छ । उक्त खाता सन्जीत महतो र शरद कुमार महतोको संयुक्त दस्तखतबाट सञ्चालन हुने व्यवस्था मिलाइएको छ । संकलन भएको रकमबाट सन्जीतको लागि एउटा सानो घर बनाउने देखि लिएर सन्जीतको क्षमताले भ्याएसम्मको आम्दानीको श्रोत बनाउनका लागि पछि सल्लाह गरी लगानी गरीदिने सन्जीत महतो राहत कोषका अभियन्ताहरुले बताएका छन् । लक्ष्य पुरा भएपछि आर्थिक पार्दशिताको लागि सम्पूर्ण हरहिसाबको अडिट र सहयोग गर्नेहरुको नामावली सहित सन्जीतका लागि भएगरेका सबै प्रयासहरु छर्लङ्ग हुने गरी एउटा बुलेटिन प्रकाशन समितिका अभियन्ताले जनाए ।
‘कलपाना’ फिल्म बारे
कलपाना फिल्म २०४९ सालमा बनेको चितवनको थारु भाषाको पहिलो फिल्म हो । यो फिल्म २०५० सालदेखि प्रदर्शनमा आएको हो । रेकर्ड अनुसार निर्माणको आधारमा कलपाना फिल्म थारु भाषाको फिल्महरु मध्ये नेपालकै दोश्रो फिल्म हो । यो फिल्म चर्चित निर्देशक स्वः शिव रेग्मीले निर्देशन गरेका हुन् । स्वः शिव रेग्मीले निर्देशन गरेको पहिलो फिल्म नै कलपाना फिल्म हो । यसमा महेन्द्र चौधरी, संगीता चौधरी, झगरु चौधरी, डम्मर चौधरी लगायतले अभिनय गरेका छन् । यो फिल्मका निर्माता झगरु चौधरी र सहबिनिया चौधरी हुन् । यसको कथा, पटकथा, संवाद तथा गीतका लेखक झगरु चौधरी हुन् । झगरु चौधरी हाल पर्साबजारमा रहेको इन्टरनेशनल कलेजका प्रमुखको रुपमा काम गरीरहनु भएको छ । कमल राईले नृत्य निर्देशन गरेको यो फिल्म एनबी महर्जनको द्वन्द र गणेश रायमाझीको छायाँकन कला छ । फिल्म परशुराम चौधरीले सम्पादन गरेका हुन् भने यसमा गायकको रुपमा प्रेमध्वज प्रधान, लोचन भट्टराईले स्वर दिएका छन् साथै समीर थापाको स्वर र संगीत पनि रहेको छ । कलपाना थारु भाषाको शब्द हो । यसको अर्थ दुःख, पीडा, तडप, वेदना हुन्छ । २५ वर्ष अगाडि बनेको फिल्म भए तापनि फिल्मको कथावस्तु हिजोआजको परिवेश अनुसार मिल्दोजुल्दो रहेको, गीत संगीत पनि निकै उत्कृष्ट भएकोले कलपाना फिल्म हेर्नका लागि दर्शकहरु लालायित छन् ।
को हो सन्जीत महतो ?
२०६५ सालको फागुन महिनामा देशैभरी थरुहट आन्दोलनले सडक राम्रैसँग तताएको थियो । तत्कालीन सरकारले थारु समुदायलाई मधेसीको सूचीमा राखेको विरोधमा थारु समुदायले “हामी थारुहरु मधेसी होइनौं, हाम्रो छुुट्टै पहिचान छ” भन्दै सडक तताए । थारु समुदायको हक, अधिकार र पहिचानको लागि भएको आन्दोलनमा चितवन टाँडीको सौराहा चोकमा कमल चौधरी, विपिन खड्का लगायत दाङका प्रकाश चौधरी र राम प्रसाद चौधरीको मृत्यु भयो । कमल र विपिनसँगै गोली लागी सख्त घाइते भएका सन्जीत महतोलाई भने मर्नु न बाँच्नु भयो । विपिन खड्कालाई गोली लागेको अवस्थामा पानी पिलाउन जाँदा उनलाई पनि गोली लागेको थियो । गोली लागेको नौ वर्ष बितीसक्दा पनि उनको घाउ निको हुन सकेको थिएन । डाक्टरले समय समयमा अस्पताल आएर जाँच गराई औषधी उपचार गर्न भनेका थिए । तर आर्थिक अभावका कारण सन्जीत फलो अपका लागि अस्पताल जान सकेका थिएन ।
गोली लागेको दायाँ खुट्टा न खुम्च्याउन सक्थ्यो न सीधा राख्न सक्थ्यो । घाउबाट पीप बगीरहेको थियो । कहिलेकाँही पहेंलो रङको पीप निस्किन्थ्यो । सन्जीत आफैंले मनतातो पानीले घाउ सफा गर्नुको विकल्प अरु केहि पनि थिएन । बैशाखीको सहारामा घर भित्रबाहिर गर्ने भए पनि दिशापिशाब र सरसफाईका लागि भने अरुकै सहारा लिनु पर्ने सन्जीतको बाध्यता थियो ।
३० वर्षीय सन्जीतको श्रीमती र एक छोरा सहित ८ जनाको संयुक्त परिवार छ । उनीहरुको सम्पत्तीको नाममा पाँच धुर घडेरी बाहेक कुनै ठाउँमा पनि जग्गाजमिन छैन । श्रीमती, बुबा, आमा, भाई, बुहारी सबैले ज्याला मजदुरी गरी आर्जन गरेको पैसाले दुई छाक टार्छन् । सन्जीतका भाईले वैदेसिक रोजगारबाट कमाएको केहि पैसाले आफ्नो लागि दुई कोठे घर बनाउन सुरु गरेको भएता पनि सन्जीतको जीवन भने उहि पुरानो छाप्रोमै बितिरहेको छ । २८ वर्षीय धर्मपत्नी लक्ष्मी महतोले लेबर गरेर बचाएको पैसाले कहिलेकाहि अस्पताल लैजाने गरेकी थिइन् ।
सन्जीतका ११ वर्षीय छोरा जेम्स चौधरी हाल सौराहा स्थित मालपुर माविमा कक्षा ६ मा पढ्दैछन् । तर उनका पढाईलेखाईका लागि खर्च अभाव हुँदा भविष्यमा कसरी पढाउने कुरामा सन्जीत दम्पत्तीका साथै सन्जीतका आमाबुबा निकै चिन्तित देखिन्छ । २०६५ सालमा काठमाडौंको बीएनबी अस्पतालमा निःशुल्क उपचारको व्यवस्था मिलाइएको भएता पनि घरबाट ल्याउने लैजाने खर्च जुटाउन सकेका थिएन ।
सामूहिक न्याय र पहिचानका लागि ज्यानको बाजी थापेर आन्दोलनमा होमिएका योद्धा तथा जिउँदो शहिद सन्जीत महतोको जीवन नै नरक बन्यो । सन्जीतको ९ वर्ष क्षति भयो । सरोकारवालाहरुले खासै चासो नदेखाएपछि थारु पत्रकार र स्थानीय समाजसेवीहरु मिली क्षतिपूर्ति स्वरुप सन्जीतको उचित स्वास्थ्य उपचार र उसको दिगो आर्थिक व्यवस्थापनका लागी जुटेको बताइएको छ ।
सन्जीतको बारेमा लेखिएको समाचार प्रकाशन र प्रसारण भएपछि डा. प्रमोद लामिछानेले आफ्नै हस्पिटलमा निःशुल्क रुपमा उपचार गरी सहयोग गर्ने बताए । सन्जीत महतो राहत कोष स्थापना गरी शरद कुमार महतोको संयोजकत्वमा कोष संचालक समिति र पत्रकार सन्त कुमार चौधरीको संयोजकत्वमा सन्जीत महतो उपचार समिति गठन गरी अभियान अगाडि बढाइएको हो । साथै सरकारी सेवासुविधाको लागि पहल गरीदिन कृष्ण चौधरीको संयोजकत्वमा एक पहल समिति गठन समेत भएको छ । समिति गठन भए लगत्तै साउन २२ गते नै सन्जीत महतोलाई भरतपुरको एलाइभ हस्पिटल तथा ट्रमा सेन्टरमा पुर्याइएको हो । हाल सन्जीत महतोको उपचार त्यस हस्पिटलमा ४२ औं दिन उपचार भैरहेको छ । उनको स्वास्थ्य अवस्था निकै सुधार भएको छ ।