अजित चौधरी।
सबै देशको इतिहासले आ-आफ्नो पौराणिक र ऐतिहासिक महत्त्व बोकेको हुन्छ । संसारका अन्य रोचकमय इतिहास बोकेका देशजस्तै नेपालको पनि आफ्नै गरिमामय र दम्भित इतिहास छ । नेपाल आफ्नो सीमा रक्षाका लागि उत्तरी भोट चीन र दक्षिणी इष्ट इन्डिया कम्पनीसराग पनि पटकपटक लडाइँमा होमियो । दुई ठूला राष्ट्रको नजरमा अत्यन्तै मोहित देखिएको नेपाल आखिर वीर-पूर्णताका साथ जोगिन सफल भयो। नेपाल त्यही देश हो जुन देशलाई एक दिन चीनजस्तो शक्तिशाली राष्ट्रले पनि कुत बुझाउने गर्थ्यो। भोटयुद्धमा चीनलाई हराएबाफत जंगबहादुरले युद्ध नोक्सान क्षतिपूर्तिको ५०,००० रुपैयाँ नेपालले पछिल्लो कालसम्म पनि लिइनै रहन्थ्यो । पछिल्लो समयमा राजनीतिक खिचातानी र झिनामसिना दलीय स्वार्थका कारण यस्तो कुराको विगत वर्तमानसमेत सुन्न पाइन्न । अहिलेका इतिहासकारहरुको एकात्मक शैली र आ-आफ्ना भावनात्मक प्रस्तुतिका साथै वैचारिक खन्डनको अभावले सबै महत्त्वपूर्ण विगतहरु क्षिण हुने अवस्थामा पुगेका छन् । इतिहासकारहरुको ध्रुवीकरणका कारण आज हामी दिनप्रतिदिन विवादित हुँदै गैरहेका छौं। एउटाको विचार दक्षिणसँग स्थापित भएको झ्वाँकमा अर्को उत्तरसँग स्थापित हुन खोज्ने निहीत परम्परा छ। इतिहासकारहरुले आ-आफ्नो स्थान सुरक्षित गर्ने निहुँमा हामी विस्तारै विवादित हुँदै पतनको मार्गमा मुलुकको पैताला लम्काइरहेको अवस्थासम्म आइपुग्न लागेका छौं, यसको मुख्य कारण नै वैचारिक बुद्धिजीवीहरुको एक-आपसमा बहस मन्थन नहुनु नै हो।
यहाँ बुद्धिजीबी को? बौद्धिक बहस चलाउने को? निचोडमा जनतासामु छर्लङ्ग पारिदिने को? यो प्रश्न नै हामी नेपाली जनताले सोध्न सकेका छैनौं। वास्तवमा नेपाली बुद्धिजीबीको बहस गर्ने टेबुल नै छैनभन्दा पनी हुन्छ। छ भने कहाँ छ? होइन भने कुन टेबुलमा मुलुकको सार्वभौमतासमन्धी बहस चलेको छ र यसको प्राज्ञिक उत्तर कहाँनेर कहिले हामीले पाएका छौँ? भएका इतिहासकार र बुद्धिजीबीहरु ध्रुवीकृत छन्। कुनै पनि बौद्धिक ब्याक्तित्वले आफ्नो विचारलाई बहसमा ल्याउनै चाहन्नन्। राज्यले बनाउन नसकेको बौद्धिक टेबुल र आफ्नो एकल यथार्थतालाई बहसमा ल्याउन नचाहने बुद्धिजीबीका कारण मुलुक अनिर्णयको बन्दी बन्दैछ। मन्थनले निस्कने मुलुकको अमृतीय भाग्य र द्रूत मार्गबाट प्राप्त हुने नेपालीको भविष्य कहाँनेरको बाँधमा अड्केको छ? के नेपाली राजनीतिज्ञले नै नचाहेका हुन् बौद्धिक टेबुलको निर्माण ? या कमसल बौद्धिक ब्याक्तित्वले उक्त टेबुलमा बस्नेनै अरुची देखाएका हुन? दुबै प्रश्न समानान्तर रूपमा तडकारो छन।
बाँडिएको अन्तर्राष्ट्रिय समन्ध
कुनै पनि देशलाई अग्रगामी दिशामा लैजानका लागी राजनैतिक ब्यक्तिका साथै त्यो देशको बुद्धिजीवीको पनि महत्त्वपूर्ण भुमिका रहन्छ । राजनेताहरु बेलाबेलामा विलय हुनसक्छन् तर बौद्धिक बिचारको विलय कहिल्यै हुँदैन । आज नेपालको छिमेकी मुलुकहरू संगको समन्धमा प्रश्नचिन्ह खडा हुनुको मुल कारण नै यही हो । देशका जनताहरु राजनैतिक तरंगमा बिचलित हुनको मुल कारण नै बौद्धिक बहसको टेबुल नहुनु नै हो । नेपालको भु-भाग उतरी हिमालय र दक्षिणी समथरले घेरिएको छ । आ-आफ्नो देशको सिमानामा पहरेदारी गर्नु हरेक मुलुकको दायित्व हो । हाम्रो देशको सीमा रक्षकहरुलाई भौगोलिक अवस्था र देशले दिने पुरक सामाग्री अभावका कारण उत्तरी सीमाको अवलोकन र अवस्थाका बारेमा हामी अन्जान जस्तै छौँ । उत्तरी सीमाको अवस्थाको बारेमा सीमारक्षक प्रमुख सिवाय मुलुकको बागडोर संरक्षकलाई पनि बिरलै जानकारी रहन्छ । उत्तरी छिमेकीसँगको समन्धमा सबैभन्दा प्रमुख समस्या भनेको भाषा पनि हो । अति पातलो हिमाली बस्ती र भौगोलिक विकटताका कारण हामी सबै नेपाली उत्तरी समाचारबाट बेखबर जस्तै छौँ तर ठीक उल्टो दक्षिणी सीमाना, भाषागत सहजता र रोजगारीको प्रमुख आश्रयस्थल पनि हो भन्ने कुरालाई त्यति हृदयङ्गमसमेत गर्दैनौं। हामी मुलुकको अग्रगामी विकासका निमित्त कहाँनेर चुक्छौँ भनेर थाहा नपाउनु नै बौद्धिक बहसको अनिर्णित उत्तर हो । दक्षिणी सीमानाको चार मिटरमा हामी सजक रहन्छौँ तर उत्तरी सीमानाको चार किलोमिटरमा समेत हामी अन्जान रहन्छौँ किन? धेरै कम नेपालीलाई थाहा छ, उत्तरी चीनको सीमानाबाट सगरमाथा चढ्दा चीनलाई ट्याक्स बुझाउनुपर्छ भन्ने कुरा । आखिर सगरमाथा नेपालको भूभाग हो तर सगरमाथाको चुचुरो चढ्दा चीनलाई कर किन तिरिन्छ? किन सगरमाथा चुचुरोको करबाट नेपाल वञ्चित रहन्छ? किन अहिलेसम्म यो बहस नेपाली राजनीतिक दल र बौद्धिक टेबुलमा उठ्न सकिरहेको छैन? यो प्रश्नको प्रामाणिक उत्तरबाट नेपाली जनता किन बन्चित छन्?
केही वर्ष पहिले नेपालको बहुमुल्यित जडिबुटी यार्चागुम्बाको महत्त्वको बारेमा हामी नेपालीलाई समेत थाहा थिएन जब हिमाली क्षेत्रका संरक्षक र स्थानीयहरुको खरिदबिक्री सुरुभयो तबमात्र यो बिषयले एकाएक चर्चा पायो। हिमाली पाटनहरुमा चीनिया ठेकेदारहरुको हेलिकप्टर खेलौना झैँ आकाशमा उड्थे र नेपाली बहुमुल्यित जडिबुटी यार्चागुम्बा खरिद गरेर चीन पुर्याथउँथे । यो बहुमुल्यित जडिबुटीको कारण हिमालका नेपाली दाजुभाइलाई आर्थिकरूपमा फाइदा त भयोहोला नै तर दुई देशको बीचमा भएको एकाआपसी सन्धि सम्झौताको घोर उलंघन समेत थियो। तैपनी नेपाली राजनीतिक बृत यस्तो गम्भीर मामिलामा समेत मौन रह्यो, हुनत त्यसबेला अहिलेको जस्तो सामाजिक सञ्जालको सक्रियता नभएर पनि होला जनबिरोध हुन नसकेको तर यसबाट राजनैतिक बृतमा बौद्धिक टेबुलको चरम लापरबाही होइन र?
अहिले भारतको हिराबजारको उदगमस्थल गुजरातको सुरत, चिनियाँ हिराबाट आक्रान्तित र आक्रमित छ । चीनिया नक्कली हिराले सबै सक्कली हिरा ब्यापारीको सात्तो खाएको छ । गुजरातको हीरा कम्पनीमा मात्रै करिब साठी हजार नेपालीले रोजगारी पाएका छन् । हीराको ब्यापार कत्तिको वैधानिक हो त्यो त कानुनले ब्याख्या गर्ला तर लाखौं जनताले रोजगारी पाएका कारण भारत सरकार पनि यो मामिलामा मौन रहन्छ । लाखौंले रोजगारी पाएको हीरा कम्पनीमा आज हजारौं नेपाली मजदुर वञ्चित हुने स्थितिमा छन् कारण एउटै हो- भारतीय बजारमा चिनिया नक्कली हरा भित्रिएपछिको परिणाम। भारतीय हीरा बजारमा काम गर्ने हजारौं मजदुरहरुको बिस्थापित भोलि मुलुकको लागि कति भयावहित होला त्यसको बहस कुन बौद्धिक टेबुलले गर्ने? पुना, राजिस्थान लगायतका शहरमा लाखौं नेपाली मजदुरहरु मार्बल कारखानामा कार्यरत छन् तर यसको तथ्यांक नेपाल सरकारसँग छैन। रत्नागिरीमा हजारौं नेपाली मजदुरहरु माछा मार्ने रोजगारी पाएका छन्। कुल्लु हिमाञ्चलमा हजारौं मजदुर हरु बगानमा काम गर्छन्। लाखौं नेपालीहरु भारतमा रोजगारमुलक जिवनयापन गर्दैछन्। तैपनी नेपाली बौद्धिक टेबुल या राजनेताको गम्भीर दृष्टिकोण यस्तो गहन बिषयमा समेत पर्नसकेको छैन । भारतको राजधानी दिल्लीमा मात्रै अध्यन र रोजगारीका लागि दुई लाख नेपाली छन्, सुरत शहरमा करिब दुई लाख नेपालीले रोजगारी पाएका छन् । मुम्बईमा करिब ती नलाख नेपाली रहेको अनुमान गरिन्छ। पुना रत्नागिरी, कुल्लु, गोवा, लद्धाक, मुम्बई, कलकत्तालगायत भारतमा करिब तीस लाख नेपालीले रोजगारी पाइरहेका छन्। तैपनी राज्यको कुनै निकायले समेत यसलाई गम्भीरताका साथ लिएको पाइँदैन। भारत र नेपालको जुन पौराणिक र साँस्कृतिक समन्ध छ, न त्यो कुनै राजनीतिक दलको निहित स्वार्थमा अन्त्य हुनसक्छ न त दुइ देशको सरकारले चाहेर नै। बिना प्रवेशज्ञा भिषा अनुमती,बिना रोकतोक चौबीसै घन्टा हामी दुबैदेशमा निसंकोच आवतजावत गर्ने गर्छौं। तैपनी यहाँ सँगैकी स्वास्नी झुठी दूरकी बेश्या प्यारी भनेझैँ गाम्भिर्यताका साथ समन्धको बहसलाई टेबुल गर्दैनौं।
हामी कतिसम्म लापरबाहीको चरमबिन्दुमा पुग्छौंभने भारतमा रोटि खाएर चिनको प्रसंसा गर्छौं । आज भारतमा आश्रीत तिसलाख नेपाली मध्ये करिब एकलाख नेपालीको घरबार नै भारतमा छ । कतिपय नेपालीले त अमेरिका युरोप भन्दा राम्रो आर्थिक जिवनयापन गरिरहेकाछन । करोडपती नेपालीहरुको संख्या नै यहाँ हजारौंमा छ तरपनी हामी दिनरात भारतलाई सत्तोसराप गरिरहन्छौं यसको कारण बौद्धिक टेबुलको वृत्ति-विकासको कमि होईन र ?
नेपाल भारतको समन्ध जनस्तरले सुध्रिएको छ भन्नेमा कसैको दुइमत छैन । कानुनी सन्धी सम्झौताका जिम्मेवार त दुबै राज्यका शासकहरु हुन् । घृणित निहित स्वार्थका लागि एकापसको समन्ध माथि प्रश्नचिन्ह खडा गर्नखोज्नु दुबैका लागि घातक हो । दक्षिणी सिमाविवादको समाधक राज्य हो यसमा जनतालाई बलिको बोको बनाइनु हुँदैन । सीमामा बस्नेहरूले परस्परमा समाधानको बाटो राज्यलाई खोज्न लगाउनुपर्छ । जिवनसंगिनी संग रातदिन झगडा गरेझैँ नजिकका संग बहस र वार्ता त चलिरहन्छ तर मुलुकका सारथि र जनताले पनि सबै छिमेकीसंगको समन्धमा चनाखो हुनुपर्छ । आज सगरमाथा चढ्नेहरुले भन्छन्- चुचुरो त नेपाल र चिनको आधाआधा हो । यो कुरो पन्चानब्बे प्रतिशत नेपाली जनतालाई थाहा छैन । बिश्वको सबैभन्दा अग्लो चुचुरो सगरमाथा हाम्रोदेशमा पर्छ भन्ने हामी नेपालीहरु आज चुचुरो चढेवाफत उठाइने कर प्राप्तिबाट किन बन्चित छौँ ? किन यो कुरालाई जनतासामु प्रष्ट पारिँदैन ? हिमालयको सिमानामा सुरक्षा ब्यबस्था कस्तो छ ? सर्वसाधारण यो सूचनाबाट किन बन्चित छन ? उत्खनन अन्वेषणका नाममा हाम्रा संरचनाको चोरी भैरहँदा पनि किन मौन छौँ ? उत्तरी सिमानामा सुरक्षानिकाय किन चुस्त दुरुस्त हुनसकेको छैन ? यो कसको कमजोरी हो ? धेरैकम नेपालीलाई मात्रै थाहा छ होला, हामी उत्तरबाट पनि उत्तिकै आक्रान्तित र आक्रामित छौँ । उत्तरी भेगमा भेंडा चराउने गोठको मालिकलाई सोध्नुस् – उनी उत्तरी सुरक्षा निकायबाट कति आक्रान्तित छन ? उनको सम्पत्ति माथी कति लुटपाट भएको छ ?
अहिले चीन सीमाना लगायत काठमाडौमा भैरहेका डलर सुन तस्करीमा कुन देशको नागरिकको हात छ ? भर्खरै मात्र काठमाडौको क्षेत्रपाटिबाट अट्ठासी किलो सुन बरामद भएको छ । यो सुन चीनिया ब्यापारीको हो भन्नेकुरा समेत प्रमाणित भैसकेको छ । यतिठुलो तस्करी काण्डमा यदि भारतीय जनताको संग्लग्नता मात्रै देखिएको भए अहिले निकैठुलो बिबाद उत्पन्न भैसकेको हुन्थ्यो । यी सबैकुरा राज्यको निकायबाट बौद्धिक टेबुलमार्फत जनस्तरमा जानकारी हुनु जरुरी छ । उत्तरबाट चिनले हडपेका सिमामाथि पनि राज्य र जनताले बोल्न सक्नुपर्दछ । दक्षिणसंग त रोटिबेटिको समन्धले धक्कामुक्का गर्न सकिएला तर उत्तरसंग पछुताएर टुलुटुलु रुनु सिवाय कुनै विकल्प छैन हामीसँग ।
हामी नेपाली कतिसम्म अन्जान रहन्छौँ भने जबसम्म सर्वस्व लुटिदैँन तबसम्म हामीलाई सुइँको समेत थाहा हुँदैन । अहिले नेपालमा तस्करी भैरहेका अधिकांश सुन चाइनिज हुन् । चाइनिज सुनको तस्करहरुले उक्त सुनलाई बीसदेखि पच्चीस हजारमा खरिद गर्ने गर्दछन् । सेटिङ मिलाएर उक्त सुन उधारो नै सयौं किलो दिइन्छ । प्रायः उत्तरी चीनिया नाकाबाट चाइनिज ब्यापारीले सुनको कारोबार गर्ने गर्दछन् । अहिले नेपाली बजारमा चीनिया सुनको एकछत्र राज छ तर धेरै नेपाली उपभोक्ता हामी नक्कली आभुषणले सजिइरहेका छौँ भन्ने हेक्का समेत पाएका छैनन् । चीनिया सुनको कारोबारले भारतीय बजारलाई समेत धक्का पुगिसकेको छ तर दक्षिणको बजार निकैठुलो भएको कारण नेपाली बजार जस्तो सातामै छाइहाल्ने अवस्था भने छैन । सस्तो चीनिया बस्तुले गरिबीको रेखामुनि जिवनयापन गर्ने नेपाली दाजुभाइलाई केही राहत दिएजस्तो त देखिएला तर यसले नेपाली अर्थतन्त्रलाई केही बर्षमै धमिराले खाएजस्तो सिध्याउने स्पष्ट छ । नेपालको सुन बजारको रहस्य उपभोक्तालाई जब यो कुराको भेद एटम बम झैँ बिस्फोट हुन्छ त्यसबेला सम्म नेपाली अर्थतन्त्रको कतिठुलो हिस्सा बिदेशी सकेको हुन्छ हामी कल्पना समेत गर्न सक्दैनौं ।
नागरिकता विवाद
ठूलो मुलुकको जनताले सानो मुलुकको नागरिकता प्राप्त गर्दा संका उपसंका उब्जनु स्वाभाविकै हो । भौगोलिक हिसाबले भारत नेपाल भन्दा ठुलो देश हो । नेपाली सिमाको तिनतिर भारतीय सिमाना पनि छ । नेपाल र भारतको सिमानामा बसोबास गर्ने बासिन्दा पौराणिक र ऐतिहासिक दुबैकुराले महत्त्वपूर्ण छन । दुबै देशको सिमामा बसोबास गर्ने नागरिकहरुको बीचमा सदियौँ देखि अन्तरंग समन्ध छ । भारतको छोरी नेपाली बुहारी बन्नु र नेपालको छोरी भारतको बुहारी बन्नु पौराणिक परम्परा जस्तै छ । यता र उताबाट आएका छोरीहरु केवल बुहारी मात्रै होइनन् ,आमा हजुरामा पनि हुन् । छोरी बुहारी सिवाय अन्य ब्यक्तिले पाउने नागरिकतामा कडाइ गरिनुपर्दछ तर भित्रिएको चेलिको अपमान भने गर्नुहुँदैन । आज भारतमा पनि लाखौं नेपाली चेलीबेटीको बिहेवारी भएको छ तर तिनलाई भारतको नागरिकताबाट बन्चित गरिएको छैन । नेपाली कर्मचारीतन्त्र अत्यन्तै कमजोर छ । राजनेताहरुले कानुनको रखवारी गर्नसकेका छैनन् जसमा देशको सत्ता संचालनमा कर्मचारीतन्त्रको एकलौटी हालीमुहाली छ । धेरैलाई थाहाछैन होला, नेपाली नागरिकता लिने चीनियाको संख्या पनि लाखौंमा छ । हो,अनाधिकृत रूपमा कसैलाई पनि कुनैदेशको नागरिकता जस्तो संबेदनसिल कुरामा रोक लगाइनु पर्दछ तर यस्तो संबेदनसिल राष्ट्रियता माथी कुठाराघात हाम्रा आफ्नै मानोखाने कर्मचारीहरुबाट त भैराखेको छैन ? यसमा हाम्रो राजनैतिक नेताको कति ठुलो हात छ ? यी सबैकुराको खबरदारी गर्ने बौद्धिक टेबुल खोइ ? नक्कली नागरिकताको माध्यमबाट पासपोर्ट हत्याएर बिदेशिनुले सिंगो नेपालको बदनामी हुन्छ । आज अमेरिका युरोपमा बसोबास गर्ने अधिकांश चीनियाहरु नेपाली पासपोर्टको दुरुपयोग गरेर गएका हुन् । संसारमा नेपाली पासपोर्ट बाट मात्रै बाहिरिएकाको संख्या पचास लाख भन्दा बढी छ ।
तीन करोडको हाराहारीमा रहेका नेपाली जनसंख्यामा पचास लाख पासपोर्टको दुरुपयोगमा के भारतीय हात छ त ? नेपाली पासपोर्ट दुरुपयोग गरेर बिदेशिनेमा चीन एक नम्बरमा पर्छ । यो निकै कम नेपाली जनस्तरलाई मात्र थाहा छ । हामी सर्व साधारण नेपालीले बेलैमा सोच्नुपर्छ र सचेत पनि बन्नुपर्छ । कसैको गन्हाउने पसिनालाई अत्तर मानेर सुँघ्ने र कसैको अत्तरलाई नालीको गन्ध हो भन्ने प्रवितिको पर्दाफास गरिनुपर्छ । नेपाली जडिबुटी,हिमाली दुर्लभ बन्यजन्तुको सिकार खुलायाम गरिरहँदा पनि हामी चुप छौँ । सुन तस्करी देखि डलर काण्डमा समेत हामी आँखा चिम्लिन्छौँ । तिसलाख भन्दा बढी जनसंख्या आश्रय दिने भारतलाई सत्तोसराप गरेर मात्रै हामी नेपालीको उन्मुक्ति पाउँछौ त ? असल र महत्त्वपूर्ण छिमेकीको पहिचान गर्नु हाम्रो पनि दायित्व हो । खराब नियतले मुलुक सर्बनास गर्नेलाई औंला ठड्याउन कन्जुस्याइँ गर्नुहुँदैन तर हाम्रो मुलुक बर्बादिका लागि खेल्ने उत्तरी चिनको नियत पनि बेलैमा बुझ्नुपर्छ भन्ने हो ।