ठाकुरसिंह थारु/कान्तिपुर दैनिक
गाउँमा गठन हुने समूहमा बस्न पूर्वकम्लरीडराउँथे । कुनै समूहको पदाधिकारीमा प्रस्ताव गरे छलफल छोडेर हिंड्थे । त्यसो त सार्वजनिक कार्यक्रममा आफ्नो नाम पनि भन्न उनीहरुको पसिना छुट्थ्यो । लामो समयसम्म मालिकको घरमा कमलरी बस्दा उनीहरुभित्र रहेको क्षमता दब्यो । मालिकको घरमा काम गर्नुबाहेक उनीहरुलाई बोल्न, छलफल जान स्वतन्त्रता थिएन ।
कम्लरी बस्दा पढ्न लेख्न पाउने कुरै भएन । पढाई, लेखाई नहुनु र बोल्न समेत डराउने बानी नै उनीहरुको नेतृत्व विकासको बाधक थियो । नेतृत्व वा समूह हाक्ने हिम्मत पूर्वकम्लरी मा जुटेन । जसका कारण नेतृत्व क्षमता उनीहरुभित्रै सिमित थियो । तर, अवसर पाएपछि उनै पुर्बकम्लरीहरु लोकतान्त्रिक अभ्यास गर्न थालेका छन् । सुरुमा समूहमा बस्न नमान्ने उनीहरु पदाधिकारीका लागि स्पर्धा गर्न थालेका छन् । कतिपय समूहमा निर्वाचन समेत हुने गरेको छ ।
पूर्वकम्लरी लाई समूह र सार्वजनिक कार्यक्रममा सहभागी गराउन ०६७ मा कमैया महिला जागरण समाज गठन गरिएपछि उनीहरुको नेतृत्व विकासमा सहयोग पुगेको हो । समाजलाई विभिन्न संघसंस्थाले सहयोग गरिरहेका छन् । उक्त संस्था गठन गर्दा ताका अध्यक्ष, उपाध्यक्ष लगायतका पदाधिकारी हुन पुर्बकम्लरी तयार भएनन् । सबैले आग्रह गरेपछि पुर्बकम्लरी कृष्णीकुमारी थारु अध्यक्ष भएकी थिईन । सात वर्ष यता भने समाजको पदाधिकारी हुन स्पर्धा हुन थालेको छ । कारण—उनीहरुको नेतृत्व क्षमताको विकास भएको छ । भेला छलफलमा सहभागी हुने बानी परेपछि बोल्न सक्ने भएका छन् । भदौ १२ गते समाजको अधिबेशन भइरहँदा पदाधिकारीका लागि थुप्रै पूर्वकम्लरीले अध्यक्ष, उपाध्यक्ष, कोषाध्यक्ष र सचिवमा उम्मेदवारी दिए । तर, बृहत छलफलपछि नेतृत्व र्निबिरोध छानिएको छ । ‘नेतृत्व गर्नका लागि धेरै पूर्वकम्लरी ले दाबी गर्नु भनेको पनि उहाँहरुमा नेतृत्व गर्ने क्षमताको विकास भएको पुष्टि गर्छ,’ समाजकी जीया दलामी भन्छिन्,‘सुरुमा समूहमा समेट्नै समस्या थियो । उहाँहरुसँगै मिल्नेजुल्ने संस्था गठन गरेपछि यो अवस्था आएको हो ।’
पूर्वकम्लरीहरु सचेत बन्दै गएपछि गाउँमा गठन हुने समूहका लागि कुनै समस्या छैन । उनीहरु आफ्ना लागि आफै बिभिन्न समूह गठन गरेका छन् । सहकारी, महिला वचत समूह, तरकारी समूह र कृषि लगायतका समूहहरु आफै गठन गरी चलाएका छन् । ‘सुरुमा केही आउँदैन्थ्यो । अरुको घरमा काम गर्ने बानी थियो । कहिल्यै बैठक, छलफलमा भाग लिन नपाईने । त्यसैले बोल्न सकिदैन्थयो । तर, बैठकमा सहभागि हुँदै गएपछि बानी पर्यो,’ फेरि पनि समाजको अध्यक्ष भएकी कृष्णिकुमारीले भनिन्, ‘गर्दै गएपछि बानी पर्छ । पढाई लेखाई नभएपनि नेतृत्व गर्न सकिदो रहेछ ।’ उक्त समाजमा बर्दिया, बाँके, दाङ, कञ्चनपुर र कैलालीका पुर्बकम्लरी सदस्य छन् । समूहमा बस्न थालेपछि उनीहरु अक्षर चिन्न र लेख्न जान थालेका छन् । काम चलाउ पढाईले पनि उनीहरुलाई नेतृत्व गर्ने आधार दिएको छ ।