लखन चौधरी/धनगढी।
पश्चिम नेपालको थारु समुदायमा अट्वारी पर्व नजिकीए संगै यतिबेला अन्डी धानको खोजीकार्य भैरहेको छ । पछिल्लो समय धान खेतीमा बढ्दो व्यवसायकरण संगै रैथाने प्रजातिको अन्डी धान लोप हुने क्रममा पुगेको छ । जुनकारण, अट्वारी पर्वमा नभई नहुने अण्डी धानको खोजीकार्य भैरहेको हो ।
पर्वमा अन्डी धानको चामलबाट रोटी, खुर्मा, फुलौरी, बरियालगायत परिकार अनिवार्य बनाइने र सगुनकै रुपमा प्रयोग गर्ने प्रचलन थारु समुदायमा रहिआएको छ । अण्डी धान भएको घरमा पर्व नै खल्लो हुने या पर्व नै अपुरो हुने थारु बुद्धिजीवीहरु बताउछन् । जुनकारण कोहि पर्व सुरु हुनु पहिलै आफ्ना इष्टमित्र, साथीभाई संग सगुनकै लागि भएपनि खरिद गरेर त कोहि अन्य धानको चामल संग अन्डी धानको चामल साटेर भएपनि पर्व मनाएको पाइन्छ ।
कैलालीको कैलारी गाउँपालिका–६, बेनौलीकी स्थानीय भागमनि चौधरीले घरमा अन्डी धान नहुँदा अन्यौलता छाएको बताइन् । तर पर्वको तयारीमा जुटेको उनको भनाई छ । अन्डी धान एक किसिमको रैथाने प्रजातिको धान हो । जसको बोट अन्य धानको तुलनामा अग्लो र मोटो हुन्छ । भने दाना हल्का रातो र मोटो हुन्छ ।
सुगन्धित र स्वादिष्ट भात हुने हुँदा तरकारीको आवश्यकता खासै नपर्ने बताइन्छ । अन्य धानको भात भन्दा वढी टाँसिने तथा हातमै टाँसिने हुने, नियमित छाकको लागि प्रयोग नहुने हुँदा यसको खेती तुलनात्मक रुपमा कम गरिन्छ ।
थारू नागरिक समाज कैलालीका संयोजक तथा थारू बुद्धिजीवी दिलबहादुर चौधरीले थारू समुदायमा अट्वारीकै लागि भएपनि अन्डी धान रोप्ने गरिएपनि अचेल विभिन्न उन्नत तथा हाईब्रिड जातका धान लगाउने प्रबृतिले अन्डी धान लोप हुदै गएको बताए । थारू समुदायमा अतिआवश्यक पर्ने अन्डी धान नभइ नहुने भएकोले संरक्षणको आवश्कता महसुस भएको संयोजक चौधरीले बताए ।
अन्डी धान लोप हुन थालेपछि यसको विकल्पमा अन्य धानको प्रयोग पनि हुन थालेको छ । कैलालीको टीकापुरमा कार्यरत सञ्चारकर्मी दिलबहादुर चौधरीले पछिल्लो समय अन्डी लोप भैसकेकोले विकल्पको रुपमा सिल्की, रामधानलगायत धानको प्रयोग गर्न थालिएको बताए । वैकल्पिक धानको स्वाद अन्डीको जस्तै नभएपनि विकल्पको रुपमा प्रयोग गर्न थालिएको बताउँदै उनले केहि वर्षयता टीकापुर क्षेत्रमा एकदमै नगन्य मात्रामा मात्रै अन्डी पाइने गरेको उनको भनाई छ ।
के हो अट्वारी पर्व ?
अट्वारी पर्व थारु समुदायको नितान्त मौलिक पर्व हो । थारू बुद्धिजीवीहरुको अनुसार द्वापर युगमा महाभारतका प्रमुख पात्रको रुपमा रहेका पाँच पण्डवमध्य माइलो भाई भीमलाई ‘भेंवा’ पुकारेर थारु समुदायमा पूजा गरिन्छ । कुनैबेला भेवा (भीम) घुम्दै जाँदा तराई (थारु बसोबास गरेको ठाउँ) मा पुगेछन् । उक्त तराई क्षेत्रमा एउटा राक्षसले उत्पात मचाउने, दुःख दिने, चेलीहरुमाथि जबरजस्ती गर्ने कामलाई तीव्रता दिएको थियो । ती सबै समस्याबाट भीमले बचाएको हुँदा उनको सम्झनामा अट्वारी पर्व मनाउने प्रचलन थारु समुदायमा रहेको बताइन्छ ।
त्यस्तै, अर्को किवदन्ती अनुसार एक समयमा द्रोपतिसहित पाँच पाण्डवहरु सुर्खेतको काक्रेबिहार घुम्न पुगेका रहेछन् । थारू राजा दंगीशरण र पाँच पाण्डवबीच निकै घनिष्टता बढेको थियो रे । एक समय, भीमले रोटी पकाइरहँदा राजा दंगीशरणको राज्यउप्पर शत्रुले आक्रमण गरे । बलवान र प्राक्रमी भीमले टावामा रोटी हालेर सहयोग गर्न जाँदा गाउँभरीका मानिसहरु टावामा हालेको उनको रोटी पल्टाउने प्रयास गरे तर सकेन । अन्त भीमले राजा दंगीशरणलाई सहयोग पश्चात फर्केपछि मात्रै टावाको रोटी झिकेको भनाई छ । उक्त सहयोग गरेको दिन आइतबार परेकोले पनि अट्वारी पर्व आइतबार मनाउने प्रचलन कायम भएको थारु बृद्धिजीबीहरु बताउछन् ।
अट्वारीको समय निर्धारण कसरी हुन्छ ?
समान्यतयाः अट्वारी पर्व कृष्ण जन्माष्टमी पर्वपछि अर्थात ओजर्या (पूर्णिमा) मा पर्दछ । त्यो भनेको कृष्ण जन्माष्टमीपछिको दोस्रो आइतबार हुन आउछ । जुनअनुसार चालु वर्ष भदौ ११ गते आइतबार र सोमबार अट्वारी पर्व परेको छ । आइतबार भन्दा अघिल्लो राती (शनिबार) दर खाने र आइतबार आधा दिनसम्म ब्रत बस्ने गरिन्छ । ब्रत बसेको दिन पूजा सकेर फलफूल मात्रै उपभोग गरिन्छ । तर सूर्य अस्ताएपछि खानपान पुरै बन्द गर्नु पर्ने हुन्छ । त्यसपछि, सोमबार विहान्नै पूजापाठ अर्थात फरहार गरिन्छ । बनाइएको विभिन्न परिकारहरुलाई दुई भागमा छुट्टाछुट्टै छुट्यान्छ । छुट्याएको भाग चेलीबेटीहरुलाई अग्रासन स्वरुप (कोसेली) दिनको लागि राखिन्छ भने एक भाग ब्रतालुहरुले उपभोग गर्नुपर्छ । जसलाई फरहार भन्ने गरिन्छ । भोजन ग्रहरण पश्चात अग्रासन दिन जाने प्रचलन रहेको छ ।