राजबन्दी लाहुराम चौधरीको घरजग्गा लिलाममा, थारु अगुवाहरुद्वारा बचाउ अभियानको सुरुवात

लखन चौधरी/धनगढी।
कैलाली कारागारमा बन्दी जीवन बिताईरहेका नेता लाहुराम चौधरीको घरजग्गा लिलामी हुनबाट बचाउन अभियान सुरु गरिएको छ। व्यापारिक प्रायोजनको लागि लिएको ऋण जेलमा परेपछि उनले समयमा तिर्न नसकेपछि धितो स्वरुप राखिएको घरजग्गा लिलामको प्रक्रियामा पुगेको छ। धनगढीस्थित एनआइसी एसिया बैंकमा सावाँ, ब्याज सहित एकमुष्ट ऋण चुक्ता तथा धितो लिलाम सम्बन्धी ३५ दिने सूचना निस्केपछि लिलाम हुनबाट जोगाउन अभियान थालिएको हो।

थरुहट/थारुवान संयुक्त संघर्ष समिति कैलाली संयोजक तथा थाकस कैलाली सभापति समेत रहेका चौधरीको बारेमा पहुरा थारु दैनिकमा समाचार प्रकाशन भएपछि उक्त अभियान सुरु भएको छ।

धनगढीस्थित रोदन मेडिकलका सञ्चालक तथा थारु अगुवा चन्द्रसिंह चौधरीले १० हजार रुपैयाँ सहयोग गर्ने घोषणा गरी अभियानको सुरुवात गरेका हुन्। उनले राजनीतिक अधिकारको लागि संघर्ष गर्ने क्रममा जेल जीवनमा पुगेको व्यक्ति सबैको साझा भएकोले सहयोग गर्नु सबैको दायित्व रहेको बताए।

त्यस्तै धनगढी कारागार पुगेर चौधरीको समस्याबारे जानकारी लिदै थारु नागरिक समाज कैलाली संयोजक दिलबहादुर चौधरीले पनि सहयोग गर्न सबै पक्षलाई आग्रह गरे। ३५ दिने समायवधीमा रकम नबुझाए धनगढी उपमहानगरपालिका–३ बडहरामा रहेको चौधरीको कित्ता नम्बर २३९ को एक कट्ठा जग्गा र घर लिलाम हुनेछ।

टीकापुर घटनामा संलग्नताको आरोपमा पुर्पक्षका लागि कारागार चलान भएपछि चौधरीले बैंकको ब्याज तिर्न सकेका छैनन्। उनले व्यापारिक प्रयोजनका लागि एनआइसी एसिया बैंकबाट लिएको ऋण सावा, ब्याज सहित १० लाख ९४ हजार ४७ रुपैया पुगेको बैंकको स्टेटमेन्टमा उल्लेख छ। चौधरीले आफ्नो र आफ्नो श्रीमती सोनकुमारी चौधरीको नामबाट ऋण निकाल्नु भएको थियो। बैंकले हप्तादिन अगाडि ऋण चुक्ता तथा जग्गा लिलाम सम्बन्धी सूचना प्रकाशित गरेको छ।

आफू बन्दी जीवन बिताइरहेकाले घर जग्गा लिलाम हुनबाट जोगाउनका लागि कुनै उपाय नरहेको चौधरीले बताए। उनले नागरिक समाजबाट सहयोग भएमा घरजग्गा जोगिने उल्लेख गर्दै सहयोगको अपिल गरे। चौधरीले तत्काल ८० हजार रुपैया बुझाएमा केहि समयका लागि घर जग्गा लिलाम हुनबाट जोगिने बैंकले जनाएको बताए।
राजबन्दी चौधरी धनगढीमै अजगर काष्ठ फर्निचर उद्योग सञ्चालन गर्दै आएका थिए।

Leave a Reply

Your email address will not be published.