गच्छदार पार्टी र थरुहट पार्टीको एकता घोषणा [यस्तो छ संयुक्त विज्ञप्ती]

विजय गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक पार्टी र भानुराम थारु नेतृत्वको थरुहट तराई पार्टी नेपालबीच पार्टी एकीकरण भएको छ। राजधानीमा आयोजित एकता घोषणा कार्यक्रममा महत्वपूर्ण सहमतिपत्रमा हस्ताक्षर गर्दै पार्टी एकता भएको घोषणा गरिएको थियो।

३० बुँदे भनिएको घोषणा पत्रमा पहिचानवादी पक्षधरको अधिकार सुनिश्चित गर्न सडक र सदनमा कसरी दबाब दिन सकिन्छ भन्ने उल्लेख भएको बताइएको छ। सहमति पत्रमा पार्टीको नाम, झन्डा, चुनाव चिन्ह र नेता कार्यकर्ताहरुको समायोजनबारे उल्लेख भएको सांसद डा. गोपाल दहितले बताए।

उनले थरुहटको माग, मुद्दा र पहिचानवादीको अधिकार स्थापित गर्नका लागि केही बुँदाहरुमा दुई पार्टीबीच सहमति गरी पार्टी एकीकरण गरेको बताए। यो एकताले ती माग मुद्दा सम्बोधन गराउन थप बल पुग्ने सांसद दहितले बताए। ‘आजको एकीकरण ऐतिहासिक हो। यो एकीकरणले थारु मधेसीका अधिकार सुनिश्चितताका लागि थप बल पुग्नेछ,’ कार्यक्रममा उनले भने।

त्यस्तै थरुहट तराई पार्टी नेपालका अध्यक्ष भानुराम थारुले पार्टी एकताले पहिचान पक्षधरमा ठूलो सन्देश दिने बताए। उनले यो शक्तिले आदिवासी जानजाति, थारु, मधेसी र अल्पसंख्यक समुदायको अधिकारका निम्ति लड्ने प्रतिबद्धता जनाए। उनले यो शक्तिलाई अझै विस्तार गर्दै लानुपर्ने बताए।

त्यस्तै नेपाल लोकतान्त्रिक पार्टीका राष्ट्रिय अध्यक्ष विजय गच्छदारले थरुहट तराई पार्टीसँगको एकता ऐतिहासिक भएको बताए। उनले थारुको मुद्दा बोक्ने थरुहट आफूसँग आबद्ध भएजस्तै आदिवासी जनजाति नेताहरु पनि सहभागी भएर यो देशमा परिवर्तनको ढोका खोल्नुपर्ने बताए। उनले एमाले, कांग्रेस र माओवादीले देश बर्बादीभन्दा केही नगरेकाले नेपाल लोकतान्त्रिक फोरमको शक्तिले देशमा परिवर्तन ल्याउने बताए। गच्छदारले छिट्टै नै जातजाति नेताहरुलाई पनि पार्टीमा भित्र्याउने जानकारी दिए।

दुई पार्टीद्वारा जारी संयुक्त प्रेश विज्ञप्ती
स्वतन्त्र एवम् सार्वभौमसत्ता सम्पन्न नेपाल राजनैतिक रुपमा संक्रमणकालिन अवस्थाबाट गुज्रिरहेको छ । संविधानसभाबाट कथित बहुमतको नाउँमा जारी गरिएको नयाँ संविधान कार्यान्वयन हुने वातावरण बन्न सकेको छैन । संविधानले आफ्नो पहिचान, अधिकार, आत्मसम्मान, न्याय र विकास सुनिश्चित गर्न नसकेको भनी ब्यापक रुपमा बहुसंख्यक नेपाली जनताबाट निरन्तर बिरोध भई रहेको छ । मुलुकको ऐतिहासिक पक्ष, समसामयिक राजनैतिक, आर्थिक, सामाजिक, भूराजनैतिक वस्तुगत धरातलको विश्लेषण गरी नेपालको राष्ट्रिय राजनीतिमा बैकल्पिक शक्ति निर्माण गरी राजनैतिक स्थायित्व, समानुपातिक प्रतिनिधित्व, प्रदेशको सिमाङ्कनमा हेरफेर गरी समृद्ध नेपाल निर्माण गर्ने दृढ अठोटका साथ मधेसी जनाधिकार फोरम नेपाल (लोकतान्त्रिक) का राष्ट्रिय अध्यक्ष श्री विजय कुमार गच्छदार र थरुहट तराई पार्टी नेपालका केन्द्रीय अध्यक्ष श्री भानुराम थारु दुबै जनाले सहमतिका आधारमा पार्टी एकीकरण घोषणाको संयुक्त राजनीतिक धारणा यो प्रेश बिज्ञप्ती मार्फत सार्वजनिक गरेका छांै ।
नेपालमा २००७, २०१७, २०३६, २०४६ र २०६२÷६३ सालमा भएको राजनैतिक परिवर्तनले केही अभिजात्य वर्गको लागि लोकतन्त्र, गणतन्त्र, धर्मनिरपेक्षता सबै आयो, तर बहुसख्यक नेपाली जनता थारु, आदिवासी जनजाति, मधेसी, मुस्लिम, सिल्पी, पिछडावर्ग, सिमान्तकृत, अल्पसंख्यक समुदायलाई राज्यको सबै अङ्गको प्रत्येक तहको पहुँचबाट बन्चितीकरणमा पारिएको छ । उनीहरु अझै पनि अन्याय, उत्पीडन, बहिस्करण र गरिवीको घेरामुनि बाँच्न बाध्य छन् । यसर्थ अभिजात्य वर्गको शासकीय आधिपत्य आजसम्म निरन्तर कायम भई रहेको छ । पछिल्लो एक दशकको राजनीतिक घट्नाक्रमहरुलाई विश्लेषण गर्दा सहअस्तित्व स्वीकार गर्ने एवम् समग्र मुलुकको समृद्धिका लागि ठोस कदमहरु चालिएको कुनै सकारात्मक संकेतहरु अस्तित्वमा छैनन् । नेपाली जनतामाथि अभिजात्य शासकीय मानसिकताले झन झन निरंकुश जरा जकडिदै गएको अवस्था प्रतित हुन्छ । जसका कारण समस्या समाधान गर्ने ढोकाहरु अझ बढी साँघुरो पारिदै गएको जनताको बुझाई छ ।
दोस्रो संविधानसभाबाट संविधान बलजफ्ती जारी गरी रहदा हामी दुबै पार्टी उक्त कार्यक्रमलाई बहिष्कार गरी आफ्नो अस्वीकार्यता प्रकट गर्यौं । बहुसंख्यक नेपालीको बिरुद्ध रहेको संविधानमा हामीले हस्ताक्षर गरेनौं । थारु, मधेसी, आदिवासी जनजातिहरुले आफ्ना असन्तुष्टीलाई बुलन्द गर्दै आन्दोलनमा रहेका छन् । आन्दोलनकारीहरुको राज्यपक्षबाट हत्या गर्ने, उनीहरुमाथि सुनियोजित रुपमा मुद्दा लगाई जेल चलान गर्ने र उनीहरुले उठाई आएका न्यायपूर्ण माग मुद्दालाई सम्बोधन गर्न नचाहने अभिजात्य वर्गको हेपाहा प्रबृत्ति बढदै गएको अवस्था छ । यसर्थ थरुहट, मधेस, आदिवासी जनजाति, आदि पक्षले गरी आएको आन्दोलनमा हामी दुबै पार्टीको तर्फबाट समर्थन र ऐक्यबद्धता रहेको छ । आन्दोलनरत पक्षहरुको माग मुद्दालाई संविधान संशोधन गरी सम्बोधन नगरेसम्म संविधान कार्यान्वयनको राष्ट्रिय राजनैतिक वातावरण सकारात्मक हुन नसक्ने हाम्रो स्पष्ट ठहर र बुझाई रहेको छ । यसर्थ थरुहट, मधेस र आदिवासीहरुको माग मुद्दालाई सम्बोधन नगरी नेपालमा गरिने कुनै पनि तहको निर्वाचनको औचित्य पुष्टि हुन सक्दैन ।
थरुहटको चरणबद्ध आन्दोलनको क्रममा टीकापुर घट्ना लगायत विभिन्न ठाउँका आन्दोलनकारीहरुमाथि सुनियोजित रुपमा लगाइएको सम्पूर्ण मुद्दा खारेज गर्ने, राजबन्दीहरुलाई निशर्त रिहा गराउने, क्षति भएका सम्पत्तिको क्षतिपूर्ति दिलाउने जस्ता जिम्मेवारी पहिलो प्राथमिकतामा रहनेछ ।
नेपालको राजनैतिक बृत्तमा हामीबाट नेतृत्व प्रदान गरी आएको दुबै पार्टीले मुलुकभित्रका उपेच्छित, अपहेलित, सिमान्तकृत, बहिष्कृत समुदायहरुको हकअधिकारका लागि निरन्तर सडक र सदनमा संघर्ष गरी आएको सर्वविदितै छ । यहाँका धर्तीपूत्र थारु, आदिवासी जनजाति, मधेसी, मुस्लिम, सील्पी, अल्पसंख्यक, बिपन्न बाहुन क्षेत्री र परिवर्तनका पक्षधरहरुको आवाज बुलन्द र मुखरित गर्ने गराउने सवालमा हामी दुबै पार्टीको राजनीतिक भावना, उद्येश्य र ध्येय एउटै भएकोले पार्टी एकीकरण गर्न सहमत भएका छौं ।
एक अभिजात्य जाति, एक भाषा, एक धर्म, एक संस्कृतिकोे एकाधिकार समूल समाप्त गरी धर्मनिरपेक्षता, बहुभाषा, संस्कृति, परम्परा र बहु राष्ट्रिय पहिचान स्थापित गरी सहअस्तित्व स्वीकार्य बनाई समृद्ध नेपाल निर्माण गर्ने महान लक्ष्य लिई गरिएको यो एकीकरणबाट एकीकृत भएको पार्टीलाई राष्ट्रव्यापि बनाई नेपाली जनताको घरदैलोमा पुर्याई नेपाल र नेपालीलाई एकसूत्रमा आबद्ध गर्ने संकल्प सार्वजनिक गर्दछौं ।

श्री भानुराम थारु
केन्द्रीय अध्यक्ष
थरुहट तराई पार्टी नेपाल

श्री विजय कुमार गच्छदार
राष्ट्रिय अध्यक्ष
मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक)
इति सम्बत २०७४ साल बैसाख ७ गते रोज बिहिबार शुभम्

Leave a Reply

Your email address will not be published.