प्रधानमन्त्रीले चुनाव मिति घोषणा गर्ने भनेपछि मोर्चा नेता कड्किए, भने- ‘थाहा छैन अब कति टाढिन्छौं’

स्थानीय चुनाव मिति घोषणा गर्ने प्रस्तावमा सहमति खोज्न प्रधानमन्त्री पुष्पकमल दाहालले डाकेको सत्ता घटक र मधेसी मोर्चाबीचको वार्तामा चर्काचर्की भएको छ । शनिबार बिहान सवा १० बजे प्रधानमन्त्रीले बालुवाटार निवासमा डाकेको वार्तामा मोर्चा नेताहरुले आइतबार चुनाव मिति घोषणा भए त्यसको आधा घन्टाभित्र आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने चेतावनी दिए ।

बैठक थाल्दै प्रधानमन्त्री दाहालले अब चुनाव मिति घोषणा नगरे अर्को राजनीतिक संकट आउन सक्ने भन्दै त्यसपछि पनि संविधान संशोधनमा सहमति खोज्न सकिने, त्यसैका आधारमा निर्वाचनमा सँगै जान सकिने सम्भावनाबारे पनि खुला हुन मोर्चा नेताहरुलाई आग्रह गरेका थिए । ‘तपाईंहरुले उठाएका मुद्दा हाम्रा पनि हुन्, हामीले नै त्यसलाई सहमतिमा पुर्‍याएर राजनीतिक निकास दिने हो, विश्वास गर्नुहोस्,’ दाहालले बैठकमा भने, ‘अहिलेलाई चुनाव मिति घोषणा गर्ने सहमति दिनुहोस् । जेठभित्र चुनाव गर्ने वातावरण बनाएर त्यसै अवधिभित्र म संविधान संशोधनको पक्षमा पनि सहमति जुटाउँछु ।’

दाहाल बोलिसकेपछि मोर्चाका तर्फबाट तमलोपा अध्यक्ष महन्थ ठाकुर र संघीय समाजवादी फोरम अध्यक्ष उपेन्द्र यादवले अहिलेकै अवस्थामा चुनाव घोषणा गरिए सत्ता घटक र मोर्चाबीचको सम्बन्धविच्छेद हुने चेतावनी दिए । सद्भावना पार्टी अध्यक्ष राजेन्द्र महतो, तमलोपा वरिष्ठ उपाध्यक्ष हृदयेश त्रिपाठी र फोरम गणतान्त्रिक अध्यक्ष राजकिशोर यादवले सरकारलाई दिँदै आएको समर्थन चुनाव मिति घोषणालगत्तै फिर्ता लिने समेत बताए ।

‘प्रधानमन्त्रीज्यू तपाईं सर्वहाराको नेतृत्व गर्छु भनेर यहाँ आउनुभएको छ, तर तपाईंले अहिले सहमति नगरी चुनाव मिति घोषणा गर्दा त सर्वहारा नै चुनावमा भाग लिन नसक्ने भए,’ फोरम अध्यक्ष यादवले कटाक्ष गरे, ‘तपाईं गणतन्त्र धर्मनिरपेक्षतालाई परिवर्तनको उपलब्धि मान्नुहुन्छ । ती एजेन्डाको हालत के छ भन्ने हिजो राप्रपाका महाधिवेशनमा पनि देखेर फर्किसक्नुभयो । के यस्तो अवस्थामा हाम्रो मुद्दा सम्बोधन नगरी चुनाव गरेमा परिवर्तन रक्षा गर्न सकिन्छ भन्ने ठान्नुहुन्छ ?’

बैठकमा नेपाल सद्भावना पार्टी अध्यक्ष अनीलकुमार झा, रामसपा महासचिव केशव झा लगायत नेता सहभागी थिए । रामसपा महासचिव झाका अनुसार, दाहालले बैठकको सुरुमा आइतबारै चुनाव मिति घोषणा गरेर जाने संकेत गरे पनि बैठकमा चर्को प्रतिवाद भएपछि चुनावको विकल्प नभएको तर्क गर्दै बैठक टुंग्याएका थिए । माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले आइतबार आफ्नो पार्टी, कांग्रेस, एमाले र मधेसी मोर्चाबीच फेरि एकपल्ट सहमति प्रयास गरिनुपर्ने मत राखेका थिए ।

Leave a Reply

Your email address will not be published.