थरुहट थारुवानलाई टुटेर होइन, जुटेर जान सुझाव

थरुहट थारुवान संयुक्त संघर्ष समितिको विस्तारित भेलाले तीन महत्वपूर्ण प्रस्ताव पारित गरेको छ। राजधानीमा बसेको बैठकले तुरुन्तै आन्दोलनको कार्यक्रम घोषणा गर्नुपर्ने, देशब्यापी रुपमा विस्तारित भेला गर्नुपर्ने र टीकापुर घट्नामा झुठा मुद्दा लगाइएका थारुहरुको रिहाइ र मुद्दा खारेज गर्नुपर्ने प्रस्ताव पारित भएको हो।

सबै दल र संघसंस्थाका प्रतिनिधि बोलाएको दाबी आयोजकले गरेपनि बैठकमा केहीबाहेक थारु कल्याणकारिणी सभासँग सम्बन्धित ब्यक्तिहरुमात्र सहभागी थिए। बैठकमा सहभागी सबैले थारुहरु एक ढिक्का नभएसम्म न आन्दोलन सफल हुने, न थारुका मग मुद्दा नै हासिल गर्नसक्ने बताएका थिए।

थरुहट थारुवान संयुक्त संघर्ष समिति आन्दोलन परिचालन समितिका सदस्य राजकुमार लेखीले समितिमा कसैलाई निषेध नगरेको बताए। उनले समितिको आचारसंहिता उल्लंघन गरेका केही दललाई कारबाहीमात्र गरेको बताए। कार्यक्रममा सांसद् रुक्मिणी चौधरीले यो समितिलाई मर्न दिनुभन्दा बचाउनतिर लाग्नुपर्ने बताइन्। उनले यसका नेतृत्वकर्ताहरु फेरेर भएपनि नयाँ नेतृत्व ल्याउनपर्ने बताइन्। त्यसका लागि सबैजना एक ठाउँमा गोलबद्ध हुनुपर्ने उनले बताइन्।

कार्यक्रममा थारु युवा सभाका अध्यक्ष कानुनलाल चौधरीले थारुहरु सबै कुरा विज्ञ बनेर कुरा बिग्रेको बताए। त्यसैले हरेक माग मुद्दामा सम्बन्धित विज्ञसँग छलफल गरेर अघि बढ्नुपर्ने बताए। उनले थारुहरु एक नभएसम्म थारुको माग मुद्दा सम्बोधन हुन नसक्ने दोहोर्‍याए।

त्यस्तै आन्दोलन परिचालन समितिका सदस्य रमेश चौधरीले थारुहरुको माग स्थापित गराउन आन्दोलनको विकल्प भएको बताए। उनले त्यसका लागि सबै थारुहरु एकबद्ध हुनुपर्ने बताए।

त्यस्तै थारु पत्रकार संघ नेपालका महासचिव मदन चौधरीले डेढ वर्षपछि आजकै दिन किन विस्तारित बैठकको आवश्यकता भयो भन्दै प्रश्न गरेका थिए। उनले थारु कल्याणकारिणी सभा एक्लैले आन्दोलन गर्न नसक्ने भन्दै सबै दलका थारु नेताहरुको उपस्थिति र सहभागिता अनिवार्य रहेको बताए। ‘थरुहट थारुवान संयुक्त संघर्ष समितिले सबैलाई हटाएर विशुद्ध थारु कल्याणकारिणी सभाको बनायो। त्यसको परिणाम पनि विगत एक वर्षदेखि हेर्दै आएका छौं। आन्दोलनले सफलता हात पर्‍यो वा झन खस्कियो। अहिले कहाँ देख्नुहुन्छ थारु आन्दोलन। त्यसैले थारुका माग मुद्दा स्थापित गराउन दल पनि चाहिन्छ। दलका नेता पनि चाहिन्छ। सडकमा मात्र होइन थारुहरुले सदन अवरुद्ध पार्ने हैसियत पनि बनाउनुपर्छ,’ उनले भने।

 

Leave a Reply

Your email address will not be published.