डिजेल र पेट्रोलको मूल्य बढ्यो, पेट्रोलको नयाँ मूल्य १०१ रुपैयाँ ५० पैसा

पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर ४ रुपैयाँ ५० पैसा बढेको छ। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य वृद्धि भएपछि नेपाल आयल निगमको सञ्चालक समितिले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढाउने निर्णय गरेको हो। 

इण्डियन आयल कर्पोरेसन(आइओसी)ले मूल्यवृद्धि गरेर पठाएपछि निगमले मूल्य बढाएको हो। प्रतिलिटर ४ रुपैयाँ ५० पैसा भाउ बढेपछि पेट्रोलको मूल्य प्रतिलिटर १ सय १ रुपैयाँ ५० पैसा, डिजेल र मट्टीतेल लिटरको ७७ रुपैयाँ ५० पैसा पुगेको छ। यो मूल्य आइतबार रातिबाटै कार्यान्वयन आउनेछ। निगमले यसअघि पेट्रोल लिटरको ९७ रुपैयाँ, डिजेल र मट्टितेल ७३ रुपैयाँमा बिक्री गर्दै आएको थियो।

आइओसीबाट मूल्य बढेर आएको र भारतको सीमा क्षेत्रलाई समेत ध्यानमा राखेर मूल्य समायोजन गरेको निगमका प्रवक्ता भानुभक्त खनालले बताए। ‘ग्यास र हवाई इन्धनको मूल्य यथावत छ,’ खनालले भने, ‘अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेकाले मूल्य समायोजन गर्नु परेको हो।’

भारतले हरेक १५ दिनमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गरी सोही अनुरुपको मूल्य सूची नेपालमा पठाउँछ। त्यसका आधारमा मूल्य निर्धारण हुन्छ। निगमले स्वचालित मूल्य प्रणालीमा जाने बताए पनि लामो समयदेखि मूल्य समायोजन गरेको थिएन।

आइओसीबाट तेल ल्याएर बेच्ने गरेको छ। भारतमा पनि शनिबारदेखि पेट्रोल प्रति लिटरमा २.२१ भारु र डिजेल १.७९ भारु वृद्धि भएको छ। भारतीय सञ्चार माध्यमका अनुसार नयाँ दिल्लीमा पेट्रोल प्रति लिटर ६८.२१ भारु र डिजेल ५६.३८ भारु पुुगेको छ। तेल उत्पादन तथा निर्यात गर्ने देशहरुले कच्चा तेलको उत्पादनमा कटौती गरे पछि मूल्य बढेको हो। कच्चा तेलको मूल्य प्रति ब्यारेल ६० डलर माथि उक्लिएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।

Leave a Reply

Your email address will not be published.