दिलबहादुर चौधरी।
हामी नेपालको इतिहास पढ्यौं भने कतिपय कुरा अपत्यारिलो लाग्छ। मन गढन्ते लाग्छ। हामी सानो छँदा नालापानीको युद्धबारे पढ्थ्यौं। जहाँ अंग्रेजसँग नेपालका महिला, बालबालिकाहरु समेत लडेको इतिहासमा लेखिएको छ। तर ‘कुमाउँ गढवालको इतिहास’ लेख्ने भारतीय इतिहासकार बद्रीदत्त पाण्डेयले नेपाली शासकहरुको बारेमा निकै हिंस्रक, मानवता नभएको प्राणीको रुपमा चित्रित गरेका छन्। उनले कुमाउँ गढवालमा शासन गर्दाताका गोर्खा शासकहरुले जनतासँग केही मागेमा नदिएको झोंकमा उनका पूरा परिवारलाई बन्दी बनाएर हरिद्वारमा ल्याउने र बेचबिख नगर्ने गरेको कुरा उल्लेख गरेका छन्। यस्तो अवस्थामा कसरी गोरखालीहरु बालबालिकाहरु समेत मिली अंग्रेजसँग लडे होलान्? विचार गर्न आवश्यक छ। त्रसित अवस्थामा रहेका जनताहरु शासकलाई साथ दिन गाह्रो हुन्छ। त्यसैले आज त्यस्ता विषयबारे सोधखोज गर्न आवश्यक देखिन्छ।
इतिहासबारे नेपालका तमाम इतिहासकारहरु समय समयमा टिकाटिप्पणी गरेका छन्। पछिल्लो घडीमा राजा रजौटा, शासकहरुका भजन मण्डलीले तयार पारेको इतिहासमात्रै सही हुन सक्तैन भन्ने आवाज पनि उठिरहेको छ। त्यसैले नेपालको बैकल्पिक इतिहासको पनि कुरा आइरहेको छ। यस सम्बन्धमा विद्वान लेखक आहुति, युग पाठकले कलम चलाइसकेका छन्। ‘को थिए नालापानी युद्धमा मारिएका महिला र बालबालिका’ शीर्षकमा सेतोपाटीमा आहुतिको लेख पढ्ने अवसर पनि पाइयो। उनले तिनलाई बादी महिला हुन् सक्ने बताएका छन्। बद्री दत्तका अनुसार ती बालबालिका वा महिला क्रूर गोर्खा शासकले बन्दी बनाएर लगिएका कुमाउ गढवालका जनता हुनसक्नेतिर सूचित छन्।
हाम्रा अग्रज, पुर्खा लेखकहरु रामानन्द प्रसाद सिंह, तेजनारायण पंजियार पनि इतिहासकारहरुले थारुहरुकाबारेमा लेखेको कुरा मन नपरेर नै प्रमाण, तर्कसहित बुद्ध थारु जातिका सन्तान थिए, बुद्ध थारु थिए भनी लेखे। नेपालको इतिहासमा राजालाई थारुहरुले कसरी सहयोग गरेका थिए? थारुहरुका सहयोग र इमान्दारीबाट प्रभावित भएर कसरी समय समयमा गोर्खा राजाहरुबाट लालमोहर पाए? भन्ने इतिहास लेखे र समुदायलाई अतुलनीय, अविष्मरणीय देन दिएर गए। त्यसैगरी महेश चौधरी, सुबोधकुमार सिंह, डा. गोपाल दहित, शंकरलाल चौधरी, अशोक थारुहरुले थारुहरुबारे महत्वपूर्ण पुस्तक लेखेर समुदायप्रति ठूलो गुण लगाएका छन्।
अब इतिहास लेख्ने पालो तपाईं हाम्रो काँधमा आएको छ। हाम्रो देशको इतिहास काठमाडौं खाल्डोको वरिपरि सिमित छ। यथार्थभन्दा पनि शासकहरुको भजन र गुणगानमा केन्द्रीत छ। गीतकार, लेखक र कविका गीत, कविता पनि स्तुतीका रुपमा धेरै आए। अहिले पनि आइरहेका छन्। ‘हाम्रा राजा कस्ता छन्? जस्ता प्रजा छन्, चौतारीमा राजा भेटिए, चौतारीमा रानी भेटिए’ गीत, ‘काम दिने नाम दिने सुख दिने राजा, हामी सबैलाई बराबरी माया गर्ने राजा’ कविता त्यसैका उदाहरण हुन्, नमूना हुन्। इतिहासमा थारु, मधेसी, आदिबासी जनजातिहरुका राज्य कसरी खोसिए? थारुहरु कसरी दुःख पाए? पञ्चायतकालमा कसरी तिनीहरु दुःख पाए? तराईका मालिकहरुलाई कसरी कज्याइयो? उनीहरुमाथि गोर्खा शासन कसरी लादियो? तराई कसरी उपनिबेश हुनपुग्यो? पुलिस, प्रशासन, स्थानीय अड्डा अदालतमा थारुहरुलाई किन राखिएन? थारु कसरी दासमा रुपान्तरण भए? देशमा १० वर्षसम्म युद्ध भैसक्दा पनि थारुहरुलाई निजामति कर्मचारी, प्रशासनिक क्षेत्रमा जानबाट रोक्न अघोषित रुपमा प्रतिबन्ध किन लगाइएको छ?किन थारुहरुका माग अहिले पनि गणतान्त्रिक महाराजहरुका लागि उचित हुन सकेको छैन? राज्यको पुनर्संरचना हुँदा पनि किन थारुहरुलाई पाँच टुक्रामा विभाजित गरिएको छ? अब यस्ता वास्तविक कुराहरु थारुहरुको इतिहासमा लेख्न जरुरी छ। थारुहरुको वास्तविक अवस्था, अहिलेका जातिवादी पहाडवादी दलका चाहना, उनीहरुका कर्तूत थारुहरुले लेख्न आवश्यक छ। सत्यतासहितका विचारहरु निरन्तर समुदायकाबीचमा प्रवाह गर्न आवश्यक छ। भोलिका दिनमा हाम्रा सन्ततीहरुले देशका भजन मण्डलीहरुले तयार पारेका इतिहासहरु मात्रै पढ्ने अवस्था नरहोस्। सर्टिफिकेट, योग्यता, प्रमाण पत्रका लागि तिनीहरु शासकहरुका गुणगानका रुपमा लिखित इतिहास पढून्, तर थारुहरुको वास्तविकइ तिहास पढ्नबाट वञ्चित पनि नरहून् भन्ने सोंचाई अहिलेका पुस्तामा हुन जरुरी छ। वास्तविक इतिहास कोर्न जरुरी छ।
पछिल्लो घडीमा सानो पुस्तक भए पनि कृष्ण सर्बहारी र गणेश चौधरीद्वारा लिखित ‘थरुहट आन्दोलन, टीकापुर कथा’ पनि थारुहरुको अवस्थालाई राम्रोसँग चित्रण गरेको छ। यस्ता अन्य अवस्था पनि पुस्तकमार्फत् आउन जरुरी छ। राज्यको आड लिई लाखौं पहाडी नागरिकहरु, शासकहरुले थारुहरुमाथि अन्याय गरे, अत्याचार गरे, ती सबै घट्नालाई पुस्तकमा समेट्न गाह्रो होला, किनकि एक समय थियो, जुन समयमा थारुहरुलाई नहेप्ने, गाली नगर्ने, बिना रकम उनीहरुको जग्गाजमिन नहडप्ने मान्छे पहाडिया ब्राम्हन/क्षेत्री कहलाउँदैन थियो। फेरि पनि साझा (common) रुपमा राज्यले, दलका मुखियाहरुले गरेका कर्तूत, अन्याय, अत्याचारको पोका खुलासा गर्न आवश्यक छ।
अन्त्यमा के भनौं भने सबैको भाग एक्लै खाइरहेका शासकहरु अधिकारको बँटवारा गर्न चाहँदैनन्। अधिकांशतः इतिहास जित्नेकै बन्दछ। ‘जो जिता ओही सिकन्दर’ भन्छन्। हामी थारुहरु महाहरुवाभित्र पर्छौं। हार्नेहरुको इतिहास कमै बन्छ। तर हरुवाहरुले पनि आफ्नो इतिहास लेख्नु पर्छ। वास्तविक इतिहास लेख्न सकिएन भने भोलिका सन्ततीका लागि त्यो अन्याय हुनेछ। थारु समुदायमा विचार प्रवाह र इतिहास लेखनको खडेरी छ। मधेसी समुदाय, पहाडका आदिवासी जनजाति समुदाय सञ्चारमार्फत जसरी निरन्तर समुदायका हकहित, पीरमर्काका कुरा प्रवाह गरिरहेका छन्, विचार प्रवाह गरिरहेका छन्। थारुहरुले पनि त्यसरी कलम चलाउन, विचार प्रवाह गर्न आवश्यक छ। हाम्रा यथार्थ अवस्था हामीले भन्दा अरुले राम्ररी नबुझ्न सक्छन्। त्यसैले थारुले आफ्नो इतिहास आफैं लेख्न जरुरी छ।
लेखक थारु नागरिक समाजका अगुवा हुन्।