काठ तस्कारी गर्ने वनका उपाध्यक्ष दुखत रानासहित आठजना पक्राउ

कञ्चनपुरको शङ्करपुरमा रहेको बागवानी सामुदायिक वनका उपाध्यक्षसहित आठजना काठ तस्करीको आरोपमा पक्राउ परेका छन् । सालको काँचो रुख कटानी गरी आइतबार राति गोरुगाडामा राख्दै गरेका बेला वनका उपाध्यक्ष दुखत रानासहित सुन्दरलाल चौधरी, जीवन राना, चाइना चौधरी, जीतराम राना, छंगा राना, बेचराम राना र रामु राना पक्राउ परेको इलाका प्रहरी कार्यालय शङ्करपुरका प्रहरी नायब निरीक्षक कटकबहादुर कुवँरले बताए ।

पक्राउ परेका आठजनासहित चार गोरुगाडा र तीन थान विभिन्न नापका सालका गोलीया बरामद गरिएको उनले बताए । ‘बरामद काठ, गोरुगाडा र पक्राउ परेका आठै जनालाई जिल्ला वन कार्यालय कञ्चनपुरको जिम्मा लगाएका छौं,’ उनले भने । जिल्ला वन कार्यालय, कञ्चनपुरका प्रमुख शिवप्रसाद शर्माले पक्राउ परेकामाथि आजदेखि अनुसन्धानको कार्य सुरु गरिएको बताए ।

‘काठ तस्करीमा संलग्न वनका कर्मचारी र वन उपभोक्ता समितिका जुनसुकै पदाधिकारी पनि अनुसन्धानका क्रममा दोषी देखिए कारबाही हुन्छ,’ उनले भने ।

Leave a Reply

Your email address will not be published.