केबी साउद।
रेशम चौधरी, जसलाई सरकारले हिंसात्मक टीकापुर घटनाको प्रमुख योजनाकार भनेर अर्थ्याएको छ। रेशम चौधरीलाई मैले ब्यक्तिगतरूपमा न देखेको छु न उनलाई चिन्छु नै। मात्रै फूलबारी एफएमका प्रबन्ध निर्देशक अथवा एक सञ्चार उद्यमिका रूपमा र असल कलाकारका हिसाबले सुनेको र चिनेको हुँ।
सायद यसरी चिनेका हिसाबले पनि होला मैले ती रेशम चौधरीले यसरी हिंसात्मक राजनीति गरेनन् होला भन्ने लाग्छ। तर त्यो गरे नगरेको अध्ययन अनुसन्धानले देखाउँला। त्यो टीकापुर घटना अगाडि त्यहाँ पुगेका माओवादी र मधेसीबाट उचालिएर उनले त्यो घटना घटाएको पनि हुनसक्छ।
माओवादीले उक्त घटनाको जिम्मेवारी लिनुपर्छ। संघीयताको जस लिन अघि सर्ने अनि जातिका नाममा संघीयता माग्न लगाउने? स्मरण रहोस् दस वर्षे द्वन्द्वका बेला नै विभिन्न जातिका नाममा (थारुवान पनि) छुट्याइएको थियो। संघीयताको उठान पहिचानका नामले उठाउने तर बैठान गर्दा चाहिँ मुद्दाबाट टाढा भाग्ने माओवादी चरित्रले हामी आजित भएका छौं। उसो त माओवादीको आश लागेर नै पहिलो संविधानसभामा मुलुककै ठूलो शक्ति बनाएर पठायौं। उतिबेला त वास्ता नगर्ने माओवादीले अब यी मुद्दामा साथ समर्थन देला भन्नु र मरेको मान्छे जिउँदो हुन्छ भन्नु बराबर हो।
हिजो नेपाली जनतालाई संघीयताका बारेमा कुनै ज्ञान नहुँदा आशा भरोसा देखाउने आफ्नो तथाकथित जनयुद्ध सफल बनाउन आदिवासी जनजातिका छोराछोरी जबरजस्ती जङ्गल लग्ने। अनि शान्ति सम्झौतापछि आएर सत्ताको खेलमा लाग्ने जनतालाई वास्ता नगर्ने? कस्तो राजनीति हो माओवादीको? त्यसकारण टीकापुर घटनाको जिम्मेवार पक्ष माओवादी नै हो।
अन्य दललाई चोख्याउन भने मिल्दैन। किन मिल्दैन भने हिजो आशा भरोसा देखाउने माओवादी र संघीयताका बारेमा आन्दोलन गर्ने आदिवासी जनजातिको आन्दोलन मथ्थर पार्न उनीहरुसँग भएका वार्ताका वार्ताकार हुन कांग्रेस, एमालेहरु पनि। त्यसैले उक्त घटनाको जिम्मेवारी तिनीहरुले पनि लिनुपर्छ। विभिन्न सञ्चारमाध्यमले तत्कालीन समयमा नै भनेको भारतीय घुसपैठको कुरा पनि अध्यनको बिसय बन्नुपर्छ।
थारू अगुवा जति पनि राष्ट्रिय राजनीतिमा छन् तिनका पर्दा पछाडि रेशमको अतुलनीय साथ समर्थनको कुरालाई तिनीहरुले अहिले बिर्सेका छ्न। रेशमको न्यायिक निरुपणका हिसाबले उनीहरुले खासै केही सहयोग गरेको देखिँदैन।
टीकापुर घटना जघन्य अपराधिक घटाना रहेको कुरामा कुनै दुई मत छैन। जनताकै सुरक्षाका लागि भनेर खटिएका राष्ट्रसेवक माथिको आक्रमण र नाबालकको विभत्स हत्याको बचाउ कहिल्यै गर्न सकिँदैन। किन पनि भने अन्य कर्मचारी र कर्मचारी परिवारको मनोबल उच्च राखिराख्नकै लागि भए पनि। दोषी उपर कडा कारबाही हुन जरुरी देख्छु। उनको एउटा महत्त्वपूर्ण कुरामा दुःखी छु। जुन ‘पहिचान’ हो।
यत्रो आन्दोलन पहिचानको लागि गरिएको छ। पहिचान कैलाली कञ्चनपुरका भूमीपुत्र थारुहरुको कुरा आउँछ। रेशम पनि थारु हो तर कुरा कैलाली कञ्चनपुरका फरक रहनसहन, भाषा, संस्कृति भएको अत्यन्तै शन्त र पछि परिरहेको समुदाय राना थारुको कहिल्यै उनले यस विषयमा कुरा उठाएको सुन्न पाएको छैन। उनले यो कुरा त बुझेका छ्न् कि अन्य थारूसँग राना थारु मिसाइए भने उनीहरुको पहिचान संकटमा पर्नेछ भनेर। त्यसैले पनि तत्कालीन समयमा राना थारुहरुले अखण्ड पक्षधरलाई साथ दिएको कुरा सञ्चार माध्यमले उल्लेख गरेका थिए। खयर जे होस्।
रेशम चौधरीलाई आज सम्झनुको कारण भनेको नितान्त सञ्चारका हिसाबले हो। उनको त्यो सञ्चारप्रतिको लगावले कताकता मलाई पनि ऊर्जा थपेको आभास हुन्छ। त्यसैले पनि उनीबारेको अनुसन्धान छिटोभन्दा छिटो भएर खुला ब्यवसायिक जीवनमा फर्किने वातावरण मिलाउन जरुरी छ।
त्यो सुन्दर बिहानीको कामना पनि कि रेशमलाई फेरि पनि एकपटक कलाकार सञ्चारकर्मी र सञ्चार उद्यमिका रूपमा देख्न पाइयोस्।