सन्ताेष दहित/दाङ।
पश्चिम नेपालका भूमिपुत्र भने र चिनिने थारू जातिको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा छुट्टै पहिचान रहिआएको छ। थारूहरूको भेषभूषा, रहन–सहन, भाषा, संस्कृति एवम् जीवनशैली अत्यन्त रोचक र फरक रहेको छ। दाङलगायत तराईका जिल्लामा बस्ने थारू समुदायको आफ्नै भाषा, कला, संस्कृति, रीतिरिवाज त छँदैछ, त्योभन्दा पनि फरक थारू समुदायको लोभलाग्दो भेषभूषा तथा गरगहना छन्।
अन्य समुदायको तुलनामा डगौंरा थारू समुदायको आफ्नै मौलिक पहिरन र गरगहना रहेका छन्। त्यसैले जिल्लामा हुने हरेक कार्यक्रममा सबैले थारू समुदायलाई सम्झिने गर्छन्। आयो जकले बोलाएपछि थारू समुदायका महिला तथा पुरुष आफ्नो भेषभूषासहित गरगहनामा सजिएर स्वागतका लागि जान्छन्। यति हुँदाहुँदै पनि पछिल्लो समय थारू समुदायको मौलिक भेषभूषा तथा गरहना संकटमा परिरहेको छ। खासगरी पश्चिमी संस्कृतिको देखासिकीले नयाँ पुस्ताले मौलिक भेषभूषाभन्दा आधुनिक पहिरनमा सजिने गरेकाले यस्तो अवस्था आएको हो।
पहिलाका थारू समुदायले कसैको विवाह होस् या कार्यक्रम, जुनबेला पनि सेतो गुन्यु, रातो, कालो ब्लाउज लहंगा, रंगीविरंगी तुना भएको ब्लाउज त्यसैमा घाँटीभरी चाँदीका गरगहना, हातमा माटोको लखौटी चुरा चाँदीका बाला अनि टाउकोमा ढकियाभरी ढकमक्क फूल राखे र कार्यक्रममा सहभागी हुन्थे। अहिले त्यसो नभएर जिन्सको पाइन्ट, कुर्ता सरवाल लगाएर आउँदा थारू समुदायको सहभागिता नै छैन कि भन्ने भान हुन्छ।
कुनै पनि जातिको पहिचान झल्काउने भनेको भेषभूषा नै हो। आफ्नो भेषभूषामा सजिएर कार्यक्रममा सहभागी हुँदा थारू समुदायको छुट्टै पहिचान देखिन्छ। तर, आधुनिक पहिरनले थारू समुदायको पहिचानलाई समेत खतरामा पुर्याएको छ। त्यसैले थारू समुदायकाले यो विषयमा बेलैमा सोच्ने हो कि?