इन्दु थारू।
कैयौं वर्ष भयो मैले दशैं मनाउन छाडेको । यस्तो होइन कि मैले कहिल्यै दशैं मनाइन । सानो छँदा दशैं भनेपछि हुरुक्कै हुन्थे । किन पनि हुरुक्कै हुन्थे भने दशैंमा जरावर (नयाँ लुगा) पाइन्थ्यो । अन्य बेला पनि नयाँ लुगा नपाउने त होइन तर दशैंमा जरावर पाउनु असाध्यै ठूलो महत्वको लाग्थ्यो मलाई । जब परिवार सबै सदस्यका लागि जरावर बोकेर गाउँको घर जान्थ्यौं, हाम्रो घरको जरावर हेर्न घर वरिपरिका छिमेकीहरु आउँथेँ । हामीचाहिँ रमाउँदै आ–आफ्नो जरावर देखाउँथ्यो । दशैंको सबैभन्दा रमाइलो क्षण मेरो लागि यही हुन्थ्यो । त्यसबाहेक गाउँका केटीहरुको सखिया नाच हेर्नु, हजुरआमासँग पित्तर असराउन (घरको देवी देवतालाई पूजा गरिसकेपछि देवीदेवतालाई चढाएको सामाग्री गाउँको नजिककको नदीमा सेलाउनु) जानु र त्यही विभिन्न थरीका नाच हेर्नु पनि कम्ती रमाइलो लाग्दैनथ्यो मलाई । गाउँको एकजना केटा मान्छे लेहँगा, चोलियासहित केटी मान्छेको भेषमा सजिएर झुम्रा नाचेको अहिलेसम्म याद छ मलाई । दशैंको त्यो रमाइलो माहोलदेखि आजकल म आफूलाई सकेसम्म टाढा राख्ने प्रयास गर्छु । दशैं, साँच्चै दशैं जस्तो लाग्दैन मलाई । घरको अभिभावक गुमाएपछि त्यो पनि एक जना होइन, दुई जना होइन, तीन–तीन जना अभिभावक गुमाएपछि दशैं मनाउनमा कुनै प्रकारको दिलचस्पी लाग्दैन मलाई । अभिभावक गुमाएपछि जरावर पाउने आधार पनि त केही रहेन । नेपालीहरुले बाँच्ने औसत आयुको आधा जीवन बाँचिसक्दा पनि कहिल्यै साकार नहुने जरावर पाउने मेरो बाल चाहना अझै जीवित रहन्छ । कहिले काहीँ नाई भन्न नसकेर साथीसंगीसँग कुनै किसिमको दशैंको कार्यक्रममा सहभागी भए पनि, त्यो पनि मलाई खास महत्वको लाग्दैन ।
दशैं नेपालीहरुको महान पर्व, धुमधाम साथ रमाइलो गर्दै मनाउने पर्व, तर दशैंप्रतिको यो आम सोचाई सबैका लागि नहुन सक्छ । पोहोर सालको दशैंमा कैलालीका अधिकांश थारु गाउँमा दशैं मनाइएन । तर जहाँजहाँ थारुहरुले दशैं मनाए, त्यहाँ कालो दशैंको नाम दिए । थारु गाउँमा मादल गुञ्जिएनन् , सखिया र झुम्रा नाचिएनन् । गाउँभरिका मान्छे भलमन्सा, गुरुवा र चिरकियाको घरमा गई टीका लगाउने परम्परागत चलन पनि निभाइएन । थारु गाउँमा दशैंको कुनै रौनकता थिएन, एउटा डरलाग्दो सन्नाटामात्रै थियो । यसपटकको दशैंसम्म आइपुग्दा परिस्थिति केही खुल्ला भएजस्तो देखिन्छ । थारु गाउँ सन्नाटाबाट केही सहजतातिर गएजस्तो पनि देखिन्छ । तर केही घर परिवारहरु छन् जसका मनका घाउहरु दशैंमा अझ धेरै दुखेका छन् । एउटा अराजक उशृंखल समूहद्वारा जीवनभर मेहनत गरेर कमाएको सारा सम्पत्ति लुटिएका र आगो लगाई ध्वस्त पारिएका निरु टेडर्सका प्रदिप चौधरी, मिना फर्निचर्सका भगत चौधरीको दशैं कस्तो होला । टीकापुरमा कफ्र्यु जारी गरिएका बेला धेरै थारुहरुका व्यापार व्यवसाय लुटपाट र आगजनी गरिएका परिवारले के साँच्चै पहिलेकै जस्तै रमाइलो गरी दशैं मनाउन सक्लान् ? अझ ती अराजक तत्वहरु आफ्नै आँखा अगाडि खुलेआम घुमेको देख्दा अलिअलि रमाउन खोज्ने मन पनि फेरि चिसिन्छ होला । करोडौं बराबरको सम्पत्ति जलाइएका रेशम थारु, जो अहिले निर्वासित जीवन बिताइरहेका छन् । उनको ६ वर्षे छोराको साइकल चढ्ने इच्छा पूरा गर्न नसक्दा, यो दशैं उनको लागि के दशैं हुन्थ्यो र । लाहुराम थारु, उमेरले पाका व्यक्ति, जो बुद्धका अनुयायी हुन् । दशैंमा थारुले आफ्ना देवीदेवतालाई रगतको बली दिने कुरालाई विरोध गर्छन् र फूल र मिठाइमात्र चढाउन आग्रह गर्छन् । टीकापुर घटना हुँदा जिल्ला प्रशासन कार्यालय कैलालीमै थिए उनी । अनि कुन बेला उनले मान्छे मारे होलान् टीकापुरमा । बुढेसकालमा उनले कारागारभित्रै दशैं मनाउने भए यसपाली । जेलभित्र रहेका वीरबहादुर चौधरीकी श्रीमती रमदैया थारु, जसले मजदुरी गरेर आफ्ना ३ छोराछोरीको पेट भर्नुपर्छ । जेनतेन साँझ बिहानको जोहो गर्ने रमदैयाका छोराछोरीले पनि जरावर पाएनन् होला । राजेश चौधरीकी श्रीमती रीमा थारु श्रीमानलाई जेलमुक्त गराउन गाउँका विभिन्न समूहबाट ऋण लिइन्। अहिले ऋणमा डुबेकी बिरामी रीमाले आफ्ना छोराछोरीलाई के गरी जरावर किनी होलिन् । रामप्रसाद थारु गिरफ्तार भएपछि उनका घरमा बुढा बुबा, श्रीमती र एक छोरामात्रै छन् । रामप्रसाद बिनाको दशैं ती तीन प्राणीले के गरी मनाउँलान् । लक्ष्मण थारु माओवादीमा भूमिगत हुँदा कहिल्यै परिवारसँग दशैं मनाउन पाएनन् । यसपाली कारागारभित्रै उनकी बुढीआमाले उनीलगायत अन्य थरुहट जेलबन्दीलाई टीका लगाइदिने रे ।
प्रजातन्त्रका लागि लड्दा कांग्रेसीले गरेका सबै प्रकारका आन्दोलनका घटना चाहे त्यो हिंसात्मक नै किन नहोस् माफ, एमालेका माफ, माओवादीका माफ तर अधिकार र पहिचानका लागि थारुहरु आवाज उठाउँदा भने अपराधी हुने । परिवर्तनकामी ठूल्ठूला क्रान्ति र आन्दोलन भए तर यो देशमा एक्लै राज गर्ने खस पहाडीया चिन्तनमा परिवर्तन आउन सकेन । त्यो चिन्तनलाई जीवित राखिरहन थारुभित्रकै ब्राहमणवादी चिन्तन बोकेका थारुहरुको पनि ठूलो हात छ । थारु, मधेसी, आदिबासी जनजाति, दलित, महिला, उपेक्षित वर्ग र क्षेत्रका शोषित पीडित जनतासँगै सिंगो देशको समस्या समाधान गर्न असफल शासकका विरुद्धमा आवाज उठाउँदा थारुहरु अपराधी बनाइन्छन् । जति नै जेलनेल सहन परे पनि आवाज त उठाउनैपर्छ किनभने शोषित र प्रताडित जातजातिको मुक्ति तबसम्म सम्भव छैन, जबसम्म उसले आफैं संघर्ष गर्दैन । थरुहट जेलबन्दी बनाइएकाहरु प्रायः नेतृत्व गर्नेहरु छन् । उनीहरुले यो कुरा राम्ररी बुझेका पनि छन् । तिनका घरपरिवार र आफन्तले पनि यो कुरा राम्ररी बुझ्न जरुरी छ । आज जति पनि थरुहट राजबनदीका नाममा जेलभित्र बस्न बाध्य छन् वा जति पनि घर छोडेर निर्वासित जीवन बिताउन बाध्य छन्, तीनले महान उद्देश्य बोकेका छन् । कसैको चोरी गरेर, कतै डाका हालेर जेलभित्र गएका छैनन् । थारु समुदायको उत्थान र पहिचान कायम गराउन र सिंगो देशको विकास र समृद्ध बनाउने सपना छ तिनीहरुसँग । त्यसकारण गर्व गर्नपर्छ । लक्ष्मण थारुका छोराहरुले गर्व गर्नपर्छ, रेशम थारुका छोराले गर्नपर्छ, रमदैया, रीमा, प्रेमालगायत सम्पूर्ण जेलबन्दी परिवारले गर्व गर्नपर्छ । दशैं मनाउनु र नमनाउनुले हाम्रो जीवनमा ठूलो अर्थ राख्दैन । तर पनि घरको अभिभाावक बिनाकाे दशैं कम्ता पीडादायी हुँदैन ।
दशैंमा देवीदेवतालाई खुसी पार्ने नाममा नजाने कति पशुहरु बलि चढाइन्छन् । देश र जनताका लागि महान उद्देश्य बोकी बली चढ्न तयार हुनेहरुको भने खडेरी रहन्छ । यही खडेरी लागि रहेका बेला लक्ष्मण थारु, रेशम थारु, रामप्रसाद, लाहुराम थारुलगायत अन्य धेरै थारुहरु भने ‘डिटरमाइन्ड’ छन् । यति सबै कुरा गरेर चित्त बुझाइरहँदा पनि दशैं त दुखिरहेको मनलाई अझै दुखाउनलाई आएजस्तो लाग्ने ।