पूर्वराष्ट्रपति डा यादव क्यान्सरमुक्त

अमेरिकाको डेट्रोएटमा रहेको हेनरी फोर्ड अस्पतालमा उपचार गराइहेका पूर्व राष्ट्रपति डा रामवरण यादवले अस्पतालका डाक्टरको निगरानीमा स्वास्थ्य लाभ गरिरहेका छन्। यादवकी छोरी अनिता यादवले रासससँग कुरा गर्दै भने, ‘गत अक्टोबर २ तारिखमा गरिएको सफल शल्यक्रियापश्चात् उहाँ अस्पतालको अतिथि गृहमा चिकित्सकको निगरानीमा रहनुभएको छ।’

अनिताले पूर्वराष्ट्रपति यादवको स्वास्थ्य अवस्थाका बारेमा राससलाई जानकारी दिँदै भने, ‘अब बुबा क्यान्सरको सङ्क्रमणबाट मुक्त हुनुभएको छ। अहिले उहाँलाई प्रोटिनयुक्त खानेकुराका साथमा आराम गर्न चिकित्सकले सल्लाह दिएका छन्।’

गत अक्टोबर २ तारिखको दिन डा मनि मेननको नेतृत्वमा रहेको चार सदस्यीय टोलीले पूर्वराष्ट्रपति यादवको प्रोस्टेटको शल्यक्रिया गरेकोे थियो। रोवोटिक सर्जरी प्रविधिमा आधारित उक्त शल्यक्रिया करिब चार घन्टामा सकिएको छोरी अनिताले जानकारी दिइन्। यादव उपचारपश्चात् अक्टोबरको अन्तिम साता नेपाल फर्किने कार्यक्रम छ। रासस

Leave a Reply

Your email address will not be published.