दशैं नजिकिँदै जाँदा कञ्चनपुरका थारु बस्तीमा ‘सखिया नाच’को रौनकता छाएको छ । कृष्णजन्माष्टीको दोस्रो दिनदेखि सुरु हुने सखिया नाच दसँैंको अन्तिम दिनसम्म हुने गर्दछ । कञ्चनपुर कृष्णपुरका मुक्त कमैया शिविरका भलमन्सा तुलसीराम चौधरीले यहाँ हरेक दिन साँझ सखिया नाच हुने गरेको बताउनुहुन्छ ।
यसका साथै यहाँका अन्य थारु बस्तीमा समेत सखिया नाचको रौनक सुरु भइसकेको छ । थारु परम्पराअनुसार हुने सखिया नाचमा विभिन्न देवीदेउता, भगवानको जीवन लिलालाई गीतको माध्यमबाट गाइने गरेको भलमन्सा चौधरीको भनाइ छ ।
‘पछिल्लो समयमा सखिया नाचलोप हुने अवस्थामा आउँदैछ,’ चौधरीले भन्नुभयो–‘थारु संस्कृति, कला र वेषभूषाको संरक्षणका लागि अब थारु लगायत नागरिक समाजका अगुवाले सोच्नुपर्दछ ।’ सखिया नाचमा विशेषत थारु समुदायको डेमनडौरा, घोटैली, जगनथ्वा, पसिया, कटकटुवा, जिन्गुनी, मदुवा, शिव पार्वती, पाण्डव र कृष्ण लगायत देवी देउतालाई गीतको माध्यमले प्राथना गरी शान्ति एवम् रक्षाको माग गर्ने चलन रहिआएको छ ।
‘अहिले दैनिक ७०÷८० जना स्थानीय जम्मा भएर भलमन्साको घरमा सखिया नाचिरहेका छन् ।’ समाजसेवी समेत रहेका तुलसीराम चौधरीले भन्नुभयो–‘दसैँको घटनस्थापनादेखि थारुको घर÷घर र गाउँ गाउँमा यो नाच नाच्ने चलन छ ।’ उहाँका अनुसार सखिया नाचमा विशेषत युवायुवती र विवाहित सबै उमेर समूहका महिला र पुरुषले नाच्ने गर्छन् । नाचका लागि महिला समूहमा चारजना र पुरुषमा दुई जनालाई जिम्मेवारी दिइन्छ ।
महिलामा एकजना मोहरनिया, एकजना पचगिनिया र दुईजना जेठगोहिया रहेका हुन्छन् । मोहरनियाले गीतको अग्रभागबाट सुरु गर्छ भने पचगिनियाले पश्चय भागको गीत गाउने र जेठ गोहियाले साथ दिने काम गर्दछन् ।
त्यस्तै मादल बजाउने अगुुवा, पच्छुवा मदरियाले त्रासन् मार्ने काम गर्दछन् । सखिया नाचमा ५२ खोट मादलको तालसँगै तीन खण्डमा नाच्ने परम्परा रहेको छ । सखिया नाचमा नाच्ने युवती विशेषगरी थारु पहिरनमा सजिएर नाच्ने गर्दछन् । बिशेषगरी उनीहरुले फेफी, बुलकी, मगौरी, झुम्का, बिजलीवाला, कनसेहरी, अै्रम, मङ्गौरी,तरिया, पछेला, गटैया, ततैया, कारा, घुङना, कुकरलगौती जस्ता थारु संस्कृति झल्किने गहना र गोन्या, चोल्या, फरिया जस्ता पहिरन तथा सात रङले सजिएको मञ्जीरा लगाएर नाच्ने गर्दछन् । रासस