थारु विद्यार्थी समाजको महाधिवेशनले ल्याएको तरङ्ग [विश्लेषण]

सीएन थारु।
थारु विद्यार्थी समाजको छैठौं महाधिवेशनको निर्वाचन यहि असोज १ र २ गते काठमाण्डौमा सम्पन्न भयो । उक्त महाधिवेशनको निर्वाचनमा चन्द्र प्रसाद चौधरीको नेतृत्वमा २७ सदस्यीय केन्द्रीय समितिको सर्वसम्मत र निर्वाचनको विधि मार्फत गठन भएको थियो । विशेष गरी चार खुल्ला पुरुष केन्द्रिय सदस्यका लागि उक्त प्रतिस्पर्धा भएको थियो जहाँ १०जना प्रतिस्पर्धी थिाए ।

अहिले चार केन्द्रिय सदस्य मनोनित हुन बाँकी रहेकोले केन्द्रीय समिति पूर्ण हुन केही समय लाग्ने देखिन्छ । जम्मा४३१ महाधिवेशन प्रतिनिधि रहेको उक्त महाधिवेशनमा कसरी केन्द्रीय समितिका गठन गर्ने विषय पेचिंलो बनेका थियो भने त्यो भन्दा गम्भिर तर खतरनाक प्रस्ताव प्यानल निर्माण भई अगाडि बढछ कि भन्ने लागेको थियो । यी चुनौती पार गर्दै पदाधिकारी सर्वसम्मत चुनिनु नै संगठनको लागि शुभ संकेत थियो । आज थारु विद्यार्थीहरुको माझ एउटा आशा जागृत गराएको छ । यहि आशाको भरमा थारु विद्यार्थीहरु यस संगठनलाई थप सशक्त बनाउने गरी चिन्तन र सम्बाद थाल्ने देखिन्छ ।

CN Tharuछैठौं महाधिवेशन सम्मको यात्रा

थारु विद्यार्थी समाज छैठौं महाधिवेशन सौरहा, चितवनमा सम्पन्न गर्ने निर्णय तय गरे पश्चात यहाँ सम्मको यात्रामा निकै उत्तार चढाव देखा परे । विशेष गरी नेतृत्वको क्षमता र विवेकले थारु विद्यार्थी समाज गतिशिल हुने अथवा सुस्त हुने प्रक्रिया चलिरहे । मेरो कार्यकाल (२०६० देखि २०६३ सम्म) मा थारु विद्यार्थी समाजको कार्यभार किटान गरिएको थियो । त्यसबखत थारु विद्यार्थी समाज गणतन्त्र र धर्म निरपेक्षताको वकालत महाधिवेशन मार्फत नै शंखघोष गरेर अगाडि बढे भने थरुहट गणराज्यको प्रस्तावमा एक ढिक्का भएको थियो । त्यसलाई पूरा गर्न संगठनलाई चुस्त र गतिशिल बनाउनु पर्ने काम महत्वपूर्ण देखिन्थे तर बाँकी कार्याबधी समयमा महाधिवेशन सम्पन्न गर्न नसक्दाको स्थितिले नेतृत्व गतिशिल बन्न सकेन । यहि परिवेशमा छैठौं महाधिवेशन तय गरिनु र बाँकी तयारी अधुरो रहनु महाधिवेशन असफलताको कारण बनेको ठहर भइसके । नयाँ कार्य समितिले यसको समीक्षा गर्ला नै ।

छैठौं महाधिवेशनको निर्वाचन पक्रिया चितवनमा स्थगित हुनुमा जिम्मेवार निर्वाचन समिति रहेको आरोप विभिन्न कोणबाट लगाउने कामहरु भए । यथार्थ वेग्लै थियो । निर्वाचन समितिको आफ्नो स्वायत्त अधिकार रहेको सबैले आत्मसात गरिसके पछि चितौनमा निर्वाचनको परिवेश नै बनेन र यसका पछाडि केही महत्वपूर्ण कारणहरु थिए । पहिलो, महाधिवेशनको प्रतिनिधी छनौट विधि गलत अपनाए जसले प्रतिनिधि विवादलाई उत्कर्षमा पु्रयायो । सदस्यता प्राप्त नगरेका कतिपय विद्यार्थीहरु महाधिवेशन प्रतिनिधी भनि जिल्ला र क्याम्पस समितिबाट सिफारिश गरिनु हुँदैन थियो । दोश्रो क्याम्पस समिति नै नरहेको अवस्थामा पनि जवरजस्ती प्रतिनिधी बनाएर सम्भावित उमेदवारहरुले आफैं प्रतिनिधी शुल्क बुझाउने गरेको पनि बुझियो र यसले अस्वस्थ प्रतिस्पर्धा निम्त्यायो । निर्वाचन समितिले उपरोक्त गतिविधी रोक्न सक्नेछैन किनकी महाधिवेशन मूलआयोजक समितिले निश्चित प्रावधान बनाएर प्रतिनिधीको टुङ्गो लगाउने सामान्य प्रक्रिया हुन्छ तर चितवनमा जसरी प्रतिनिधी भएर विद्यार्थीहरुलाई ल्याइए ती प्रक्रिया मिचेर पनि ल्याएका थिए । यसमा निर्वाचन समितिको निर्णय के हुने विषय प्रतिनिधीको लिष्टमा हुने दावी विरोध पश्चात मात्र आकर्षित हुने हो । यसका लागि चितौन मै पनि कतिपय जिल्लाको प्रतिनिधी विवाद सल्टाइयो तर महाधिवेशन तोकिएका जिल्लाको प्रतिनिधी विवाद टुङ्गो लगाउन मुल आयोजक समिति जसरी भूमिका खेल्नु पर्ने थियो, त्यहा कमजोर देखिए जबकी त्यहिका प्रतिनिधिको लिष्टमा बढी दावी विरोध आएको थियो । यसरी निर्वाचन समिति उपर प्रतिनिधी विवाद सुल्झाउन नसकेको आरोप एक हदसम्म प्राकृतिक पनि देखिए किनकी निर्वाचन समितिमा रहेका म सीएन थारु, शैलेन्द्र चौधरी र मीनराज चौधरी संगठनको पूर्व पदाधिकारी थियौं र प्रतिनिधीहरुले हामीहरुबाट विशेष अपेक्षा राखेको पनि थियो । हाम्रो मिहनेत र लगावमा उनीहरुको शंका होइन समयमा महाधिवेशन सम्पन्न गर्न पहल नगरेकाले गुनासाहरु मात्र हुन ती ।

महाधिवेशन पछिको तरङ्ग

छैठौं महाधिवेशनले थारु विद्यार्थी लगायत सम्पूर्ण विद्यार्थी माझ निराशा मात्र ल्याएको तर्क क्षणिक मात्र थियो । असोज १ र २ गते अगाडि थुप्रै भ्रमहरु छरिए । थारु विद्यार्थी समाज दुई संगठन बन्ने सम्मको प्रचारवाजी पनि भए । थारु विद्यार्थी समाजको संगठन त अब पतन हुने र यहि मौकामा थारु विद्यार्थी सभाको सपना बुन्नेको कमी थिएन । मेरै कार्यकालमा यस प्रकारको धम्कीहरु पनि आए तर मलाई के विश्वास थियो भने गर्जने मेघ बर्सिदैन । थारु विद्यार्थी समाज सहित थारुका अन्य संघसंस्था मिलेर संघर्षको अगुवाई गर्नु पर्छ भन्ने मान्यता आत्मसात गर्दा पनि थारु विद्यार्थी समाज प्रतिको कुदृष्टी थियो र छ । थारु विद्यार्थी समाजले स्थापना गरेको मुल्य र मान्यताको संघर्ष अरु कसैसँग तुलना गरे हुन्छ । थारु विद्यार्थी समाजले आन्दोलन प्रति लिएको अडान बाँकी अरुका लागि घाँडो बनेको छ किनकी अरुहरुले सरकारको विरोध पनि गर्ने र त्यहीबाट श्रोत र साधनको दाना खाएर बाँच्ने दोहोरो चरित्र प्रदर्शन गरेको प्रमाण खोज्न बाहिर जानु पर्दैन । थारु विद्यार्थी समाज अहिले सम्म जनसहयोग मै टिकेको छ र समाजको लागि इमानदार भइ मुल्य चुकाउँदै आएको स्थिति हो । यसमा अरु कसैले इष्र्या गरेर बाँच्छ भने त्यो उनीहरुको समस्या हो ।

थारु विद्यार्थी समाजको नयाँ नेतृत्व आइसके पछि अब आन्दोलन कसरी अगाडि जान्छ भन्ने सवाल उठेको छ । २०७२ सालको खुल्ला मञ्चको माघी महोत्सवबाट त्रसित हुनेहरु फेरि त्यही आरोप लगाउन सक्ने होला कि थारु विद्यार्थी समाजले थारुहरु विच एकता भाँडने काम गर्दा रहेछन् । कुरो स्वार्थहरु विचको टकराव हो र यहाँ थारु एकताको जलप लगाइन्छ । यसरी पर्दा हालेर भ्रम छर्न माहिर शहरीया बुर्जुवा राष्ट्रवादीवर्ग अहिले चिन्तामा छन् । उनीहरुले नयाँ नेतृत्वलाई हेर्ने दृष्टीकोण फरक बनाएको होला किनकी नयाँ नेतृत्वलाई आफू जस्तै भ्रष्ट र दोहोरो चरित्रयुक्त बनाउन सके सबै गल्तीहरुको ढाकछोप हुने प्रष्ट संकेत आएको छ । त्यसैको लागि केही प्रस्तावहरु सचेत ढङ्गले आउने सम्भावना छ र थारु विद्यार्थी समाजको होनहार युवा विद्यार्थीहरुको करियरमा दाग लगाउने तथा पथभ्रष्ट बनाउने काम हुनसक्छ किनकी विद्यार्थीहरु ज्ञान र संकल्पले लैस भएको स्थिति अहिले होइन । वस्तुले चेतनालाई अल्टर गर्ने तर्क पनि प्राकृतिक स्वभावसँगैको हो र माघीमा हुने सरकारी अनुदानमा शेयर खोज्न जाने हो भने चोक्टा खान गएकी बुढीको हालत बेहोर्नु नपर्ला भन्न सकिदैन । थारु विद्यार्थी समाज मातहतका कमिटीहरु पनि अब गतिशिल हुने स्थितिको पुनरावृति भएको छ । यसले निकट भविष्यमा हुने स्ववियु निर्वाचन प्रभावित हुने पक्का छ । अनेरास्ववियुले दुई थारु कोटा केन्द्रिय समितिमा छुटयाउनु र त्यसै गरी नेविसंघ पनि त्यसको अनुसरण गर्नु पूर्वसंकेत हुन । थारु विद्यार्थी समाजको शक्तिलाई यस प्रकारले दुरुपयोग हुन नदिने हो भने तयारी के? प्रश्न तेर्सिएको छ ।

निष्कर्ष

थारु विद्यार्थी समाजको नयाँ कार्यभार मैंले दुइटा पाएको छु । पहिलो, थारु विद्यार्थी समाजको छैठौं महाधिवेशनले तय गरेको नारालाई सैद्धान्तिकरण गर्ने र साझा मनोविज्ञान निर्माण गर्ने हो । यसका लागि एक अनुभूतपूर्ण आधार निर्माण गर्नु पर्दछ । दोश्रो, थारु विद्यार्थी समाजले महाधिवेशनको म्याण्डेड अनुसार विधान सम्मेलन गरी संगठनको संरचनालाई चुस्त र गतिशिल बनाउने काम पुरा गर्नु पर्दछ । अहिले वरको सिन्को पर नसार्ने तर अरु कसैले गरेको काम कार्वाही प्रति धारे हात लगाउने अवसरवादीहरुको फिल्टर गर्न बाँकी छ । यसले संगठनमा रुपान्तरणको माग गर्दछ र त्यो आफैंबाट शुरु गर्नु पर्ने हुन्छ ।

अन्त्यमा, उपरोक्त कार्यभार पुरा गर्न नयाँ कार्यसमितिले स्थायी परिषदका पूर्व केन्द्रीय पदाधिकारी तथा सदस्यहरुसँग परामर्श लिनु पर्ने हुन्छ । उनीहरुको आफ्नै कोशिशले केही माहौल त बनाउन सकिएला तर ठोस गर्न सक्ने स्थिति म देख्दिन । उनीहरु प्रति मेरो कुनै पुर्वाग्रह पनि छैन तर केही दार्शनिक सवालहरुको जवाफ उनीहरुको मष्तिष्कबाट आउने सम्भावना प्रति मेरो शंका पक्कै हो । छैठौं महाधिवेशनको क्रममा देखिएका समस्याहरु भित्र उनीहरु रुमलिरहेकै छन जबकी नयाँ र वहुआयामिक समस्याहरुले उनीहरु घेरिई सके । उनीहरुको पहल इमानदार हुनसक्छ । जोश तथा जाँगर उर्लिन सक्छ तर योजनाको गहिराई नाप्न जुन दृष्टीकोणको सहारा लिनु पर्ने हो त्यसको ज्ञानको आभाव पक्कै छ । यसले व्यवहारवादी सम्म बनाउने हो र नेतृत्व व्यवहारवादी मात्र भए संगठनको लागि देखिने काम हुँदैन अर्थात् परिवर्तनको धार निर्माण हुने स्थिति हुँदैन । तर यहि समस्याको समाधान नभई थारु विद्यार्थी समाज पटक पटक संकटमा फँसिरहन्छ । विद्यार्थीहरुको महत्वकांक्षा पुरा गर्न संगठनमा केन्द्रिय सदस्यको भार थपिने पक्का छ जुन समस्याको कारणलाई उपचार गर्ने छैन ।

लेखक थारु विद्यार्थी समाजका पूर्व केन्द्रीय अध्यक्ष हुन्।

Leave a Reply

Your email address will not be published.