कृषिमन्त्री गौरीशङ्कर चौधरीले नेपालमा कृषिको विकास नभएसम्म देशको आर्थिक विकास असम्भव भएको बताएको छ । फ्लोरिकल्चरल एसोसिएसन नेपालको २४औँ वार्षिक साधारणसभाको मंगलबार उद्घाटन गर्दै मन्त्री चौधरीले कृषि क्षेत्रमा आमूल परिवर्तन गरी कृषकलाई आत्मनिर्भर गर्न सरकारले कृषकका लागि नयाँ कार्यक्रम ल्याउने योजना गरिरहेको बताउनुभयो । बेरोजगार युवालाई कृषि क्षेत्रमा आकर्षित गरी परिचालन गर्न सरकार गम्भीरतापूर्वक लागिरहेको र कृषि क्षेत्रमा सरकारले ७० प्रतिशत लगानी गरिरहेको उनले बताए।
कृषि बिमा, कृषि निवृत्तिभरण तथा कृषि ऋण उपलब्ध गराउन सरकारले योजना बनाइरहेको मन्त्री चौधरीले बताए । “नेपालमा अझैसम्म किसान आयोग बन्न सकेको छैन । यसै वर्षभित्र किसान आयोग गठन गरी नीति निर्माण गर्छाैँ,” उनले भने ।
मन्त्रालयका प्रवक्ता योगेन्द्रकुमार कार्कीले ७५ जिल्लामा पुष्प व्यवसाय विस्तार गर्न सक्ने सम्भावना रहेकोले सरकार व्यवसायीको चुनौती सामना गरी व्यावसायिक विस्तार गर्ने कुरामा साझेदारी गर्न तयार रहेको बताए । नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष दिनेशकुमार श्रेष्ठले पुष्प व्यवसाय छरिएर रहेको अवस्थामा रहेकामा हाल आएर व्यवसायका रुपमा विकास भएकामा खुसी व्यक्त गरे ।
एसोसिएसनका अध्यक्ष दिलीप बादेले पुष्प व्यवसायबाट ४१ हजारभन्दा बढी व्यक्तिले रोजगारी पाएको बताउनुभयो । विसं २०११ मा सुरु भएको पुष्प व्यवसायले हाल वार्षिक रु २२ करोडको कारोबार गर्दै आएको छ । नेपालले विदेशबाट रु १० करोडको पुष्प व्यवसायसँग सम्बद्ध वस्तु आयात गर्दै आएको छ भने रु तीन करोडभन्दा बढीको निर्यात गर्दै आएको बताइएको छ । रासस