कारी महतो।
एक महिनाको अथक प्रयासपछि म कारी महतो प्रकाशक-सम्पादक रहनेगरी “सङ्हाति” नामक पत्रिका दर्ता हुन सफल भएको छ । उक्त पत्रिका २०७३ भदौ १ गते जिल्ला प्रशासन कार्यालय चितवनमा दर्ता भएको हो । दर्ता भएसँगै “सङ्हाति” पत्रिका चितवन थारु भाषाको पहिलो आधिकारिक पत्रिकाको रुपमा स्थापित भएको छ । “सङ्हाति” थारु भाषाको शब्द हो । यसको शाब्दिक अर्थ साथी वा मित्र हो । यो पत्रिका सबैले पढ्न र सबैको लेख रचना प्रकाशन गर्न सकियोस् भन्ने उद्देश्यले थारु र नेपाली भाषामा प्रकाशन गरिनेछ । यस अघि थारु भाषामा मात्र प्रकाशन हुने गरेको थियो । यो पत्रिका एक वर्षसम्म द्वैमासिक रुपमा प्रकाशित हुनेछ । अर्को वर्षदेखि मासिक रुपमा छाप्ने लक्ष्य रहेको छ । पत्रिका व्यावसायिक भन्दा पनि संरक्षणमूलक, चेतनामूलकका साथै अनुसन्धानमूलक हुनेछ । थारु भाषा, संस्कृति र साहित्यलाई संरक्षण, संवद्र्धनका साथै त्यस सम्बन्धि भएको खोज अनुसन्धानका प्रयासहरु र आदिवासी जनजातिको चेतना सम्बन्धि लेख रचनाहरुलाई प्राथमिकताका साथ प्रकाशन गरिनेछ ।
मातृभाषामा पत्रिका प्रकाशन गर्न जति चुनौतिपूर्ण छ, त्यति नै दर्ता गर्नका लागि गार्हो रहेछ । “सङ्हाति” शब्दको अर्थ थाहा नभएर होला प्रकाशक÷सम्पादकको चाल चलन बुझ्ने प्रक्रियामा जिल्ला प्रहरी कार्यालय चितवनले इलाका प्रहरी कार्यालय खैरहनीलाई लेखेको पत्रमा “सङ्हाति” पत्रिका लेख्नुपर्ने ठाउँमा “साङ्घातिक” लेखी दिनु भएको रहेछ । खामबन्दी पत्र भएकोले मैले हेर्ने कुरो पनि भएन । त्यो शब्दले गर्दा इलाका प्रहरी कार्यालय खैरहनीबाट चालचलन बारे प्रहरीको प्रतिवेदन पाउन मलाई धेरै दिन लाग्यो । पछि मात्र थाहा भयो, पत्रमा अर्कै शब्द रहेछ । मैले शब्द गलत लेखिएको रहेछ भनेर “सङ्हाति” शब्दको अर्थ समेत प्रष्ट पारेपछि मात्र इलाका प्रहरी कार्यालयबाट रिपोर्ट बन्यो ।
प्रकाशन गर्ने छापाखानाको प्रमाण पत्र, स्वीकृति पत्र, कर तिरेको प्रमाण पत्र, प्रबन्ध पत्र इत्यादि कागज पत्र छापाखानाबाट ल्याउनु पर्ने रहेछ । त्यो कागज पत्र जुटाउन मलाई दुई हप्ता भन्दा बढी लाग्यो । “प्रशासनमा दर्ता छैन । दर्ताको प्रक्रियामा छु । एक दुई हप्तामा दर्ता हुन्छ । अनि तपाइँलाई चाहिने कागज पत्र दिउँला” छापाखानाका सम्बन्धित व्यक्तिले भन्यो । तर दुई हप्तापछि कागजपत्र लिन जाँदा कुनै रेस्पोन्स नै गरेन । भरतपुर र नारायणगढका करीब आधा दर्जन छापाखानामा आग्रह गर्दा पनि कागजपत्र जुटाउन सकिएन । साँच्चिकै दर्ता नभएकै हो वा मलाई नदिएको हो, मलाई थाहा भएन । मलाई नदिएको हो भने ठीकै छ । “दिन सक्दिनँ” भनेको भए पनि हुन्थ्यो । तर किन ढाँटे ? दर्ता नभई सञ्चालन भएको हो भने ती छापाखानाहरुलाई प्रशासनले दर्ता नभई किन सञ्चालन गर्न दिए होला ? मेरो मन मस्तिष्कमा यो प्रश्नहरु अहिले पनि मडारिरहेको छ । केहि सीप नलागेर मैले काठमाडौंको सुवेक्षा प्रिन्टिङ्ग प्रेस, बबरमहलबाट कागजपत्र झिकाएँ । कागजपत्रका लागि कृष्णराज सर्बहारीले निकै सहयोग गर्नु भयो ।
अर्को एउटा कागज चाहिने रहेछ । सूचना विभागबाट त्यस नामको पत्रिका नेपालको कुनै पनि जिल्ला प्रशासनमा दर्ता भएको छैन भनी प्रमाणित गरेर सिफारिस ल्याउनु पर्दोरहेछ । त्यसका लागि हतार हतार काठमाडौं जानुपर्ने भयो । समय उता खर्च भयो । सबै कागजपत्र जुटाएपछि अन्तमा जिल्ला प्रशासन जाँदा यसअघि नै पेश गरेको छापाखानासँग गरेको सम्झौताको व्योहोरा नमिलेको कारणबाट फेरि काठमाडौंबाट पेपर मगाउन पर्ने भयो । पहिले नै भनेको भए त काठमाडौं गएकै बेलामा पेपर बनाएर ल्याउन सजिलो हुन्थ्यो । तर अन्तिम घडीमा फेरि कागज पत्र पुगेन । हैरान भएँ म त ।
एक महिना पुगेको अन्तिम दिन जिल्ला प्रशासन कार्यालय पुग्दा बल्ल काम भयो । अन्तिम दिन हस्ताक्षर गर्न प्रमुख जिल्ला अधिकारी विनोद प्रकाश सिंहको कार्यकक्षमा पुग्दा बल्ल मन निकै हलुका भयो । त्यसको कारण सि.डि.ओ. साहेबलाई पश्चिम तराईका थारु भाषा खरर बोल्न आउँछ भन्ने कुरा सम्झे । गत खिचरा महोत्सवमा वहाँले पश्चिम तराईकै थारु भाषामा सारगर्वित मन्तव्य व्यक्त गर्नुभएको थियो । चितवन थारु भाषामा पत्रिका दर्ता गरी प्रकाशन गर्न लागेको बारेमा निकै चाख लिनुभयो । “हाम्रोतिर त सङ्हरी भन्छन्” भन्नु भयो । “अझ पुरानो शब्द त गोचाली हो” भन्नुभयो । केही क्षणको मिठो कुराकानीसँगै पत्रिकाको उतरोत्तर प्रगतिको शुभकामना पनि दिनुभयो । म निकै हर्षित र उत्साहित भएँ । एक महिनाको थकान मैले एक क्षणमै बिर्सिएँ । सिडिओ सरलाई धेरै धेरै धन्यवाद । अनि यस काममा मलाई सहयोग गर्नुहुने थारु पत्रकार संघका केन्द्रीय अध्यक्ष कृष्णराज सर्वहारी, साथी खेलानन्द चौधरी, सरसल्लाह दिनुहुने साथी सन्त कुमार चौधरी, अन्य सहयोग गर्नुहुने साथीहरु ललित चौधरी, नारायण प्रसाद महतो, विक्रम चौधरी, दिलिप महतो लगायत सबैलाई हार्दिक धन्यवाद ज्ञापन गर्छु ।