विदेश जाने युवालाई विभिन्न प्रलोभनका साथ अनेक भ्रममा पारेर ठगी गर्न लागेको आरोपमा आइतबार सात जनालाई इटहरीबाट प्रहरीले पक्राउ गरेको छ। कामदारको माग बिना र श्रम स्वीकृति नलिई पैसा संकलन गर्ने मात्र उद्देश्यले विदेशी नागरिकलाई झिकाएर अन्तर्वार्ता लिने समूहका तीन तथा अवैध रुपमा विदेश पठाउने चार जनालाई प्रहरीले पक्राउ गरेको हो।
प्रतिव्यक्ति ३ लाख ५० हजारदेखि ४ लाख रुपैयाँसम्म लिएर आकर्षक कमाई हुने देशमा पठाउने भन्दै विनय टेक्निकल कम्पनी प्रालिमा अन्तर्वार्ता लिँदै गरेको अवस्थामा तीन जनालाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ। प्रहरीले इटहरी– १६ का चन्द्रेश्वर चौधरी, मोरङ सुन्दरदुलारी– ७ का पुरण चौधरी र श्रीलंकाली नागरिक अमिला अलाहाकोनलाई पक्राउ गरेको हो। यी तीन जनाको साथबाट प्रहरीले २५ थान पासपोर्ट र अन्य कागजात पनि बरामद गरेको डिएसपी ओम अधिकारीले बताए।
डिएसपी अधिकारीका अनुसार पक्राउ पर्ने समूहले अन्तर्वार्ता लिएर तत्काल पैसा संकलन गर्ने योजना बनाएको गोप्य सूचना पाएर अन्तर्वार्ता लिएको स्थानबाट पक्राउ गरिएको हो।
यसैगरी, एजेन्ट र शाखा कार्यालय खारेज गरिसके पनि अवैध रुपमा विदेश पठाउने काम गर्दै आएका चार जना पक्राउ परेका छन्। लिङ्कन स्टार मेनपावरको नाममा विदेश पठाउन खोज्ने इटहरी– १९ का केशव गिरी र सोही ठाउँका गंगाबहादुर निरौला पक्राउ परेका हुन्। पक्राउ पर्ने गिरीले लिङ्कनको सञ्चालक र निरौलाले कामदारको भूमिकामा रहेर विभिन्न स्थानका वैदेशिक रोजगारमा जानेसँग ५९ थान पासपोर्टसमेत प्रहरीले बरामद गरेको छ।
विदेश जान चाहने युवालाई ठगी गर्दै आएको सूचनाका आधारमा प्रहरीले वाइज नाम राखेर विदेश पठाउने काम गर्ने सुनसरी भरौल– ५ का रमेश विष्ट र मोरङ इटहरा– ७ का शिवप्रसाद आचार्यलाई पनि पक्राउ गरेको छ। सातै जनालाई वैदेशिक रोजगार विभाग काठमाडौंमा पठाइको छ।